कलाकार लुनिभा तुलाधारलाई सानी छँदा केटीको लुगा लगाउन मन लाग्दैन थियो। केटाको लुगा लगाइहाल्न पनि रूचि हुन्थेन। आफ्नो यस्तै स्वाभावले उनलाई नौ कक्षा पढ्दै गर्दा अनुभव भयो- म अरूभन्दा केही फरक छु!
कहिले महिलाकै पहिरनमा आफूलाई हेर्थिन्। कहिले केटाको लुगा लाउन र त्यस्तै व्यवहार गर्न अघि सर्थिन्। यसो गर्दा आफूलाई सहज होला जस्तो उनलाई लाग्थ्यो। तर दोधारको अवस्थामा आफ्नै शरीरसँग डर हुन्छ।
'म आफ्नो शरीरसँग कहिल्यै सहज भइनँ,' उनले भनिन्, 'अझ पछिल्लो समय मोटाएकाले आफ्नो शरीरसँग झनै असहज महसुस गर्न थालेकी छु।'
यस्तो स्थिति अरूले बुझ्दैनन्।
उनी भन्छिन्, 'मलाई केटाको लुगा मनपर्छ भन्दैमा म छोरी नै होइन भन्ने होइन। यसो भन्दैमा मलाई केटा मनैनपर्ने भन्ने पनि होइन। मेरो अलमल आफ्नो शरीरसँग सहज महसुस नगर्नुमा हो। त्यसैले मलाई आफू फरक हुँ भन्ने लाग्छ।'
उमेरले तीस वर्ष पार गरेकी लुनिभाको जन्म काठमाडौंकै रैथाने परिवारमा भएको हो। उनका बाबु गायक हुन्। हजुरबा शास्त्रीय संगीतकार थिए।
'म म्युजिकै म्युजिकमा हुर्केँ। मलाई पनि गीत गाउन मन थियो तर स्वरले साथ दिएन,' उनी भन्छिन्।
कक्षा ६ मा पढ्दा उनलाई हिरोइन बन्ने रहर जागेको थियो। कक्षा दसको परीक्षा सकेपछि अंग्रेजी शिक्षक डा. शिव रिजालले उनलाई आफ्नो एउटा नाटकमा अभिनय गर्न भने। उनले 'कोरस' पात्रको अभिनय गरिन्। उनको अभिनय दर्शकले रूचाए। दर्शकमध्ये एक थिए रंगकर्मी सुनिल पोखरेल।
सुनिलले लुनिभालाई गुरुकुल नाटकघरमा अभिनय प्रशिक्षण दिए। यसपछि लुनिभाले टेलिशृंखला 'होस्टल' मा काम गरिन्। तीन वर्ष 'पोथी बास्यो' कार्यक्रम चलाइन्। अनि सुरू भयो 'द पवनकली शो'। पवनकली बनेकी लुनिभालाई दर्शकले निकै रूचाए।
उनी १९ वर्षकै उमेरमा टेलिभिजन कार्यक्रम प्रस्तोता बनिसकेकी थिइन्। सुटिङका बेला कहिलेकाहीँ सेटमा उनी मात्र महिला हुन्थिन्।
'रातिको समयमा छोरी अबेरसम्म बाहिर बस्न हुँदैन, पाँच बजेसम्म घर फर्किनुपर्छ भन्ने पारिवारिक मान्यता थियो,' उनले भनिन्, 'त्यसैले राति धेरै डर लाग्थ्यो। बुझ्ने उमेर र अहिले जस्तो चेतना थिएन। दुर्व्यवहार पनि हुन्थ्यो। घरबाहिर काम गर्दा केही मान्छेहरू अभिभावक जस्तो ख्याल राख्ने बहानामा गलत तरिकाले छुन्थे। आफूमाथि भएको दुर्व्यवहारबारे अझै त खुल्न सक्ने अवस्था छैन।'
अनेक अनुभव र भोगाइ समेट्दै उनी कला क्षेत्रमा सक्रिय रहिन्। पाँच वर्ष काम गरेपछि भारतीय दूतावासबाट छात्रवृत्ति पाएर अभिनय सिक्न भारत गइन्। अभिनयमा डिप्लोमा गरेर काठमाडौं फर्किन्। आएर निर्देशक अनुप बरालको स्टुडियोमा अभिनय प्रशिक्षणका लागि भर्ना भइन्।
यसपछि उनले रेडियो कार्यक्रम 'कथा मिठो सारंगी' सँगै टेलिशृंखलाहरूमा काम सुरू गरिन्। हालसम्म लुनिभाले करिब दुई सय वटा नाटकमा अभिनय गरिसकेकी छन्।
आफूलाई आफ्नै शरीरसँग असहज भएका बेला कामको अवसरमा समेत शरीर हेरेर मूल्यांकन गरिदिँदा उनलाई खल्लो लाग्छ। उनीसँग मुख्य पात्र बन्ने क्षमता छ तर निर्देशकहरूले मोटो शरीर देखेर आमा वा सासूको भूमिका दिन खोज्दा अनौठो र नरमाइलो लाग्छ।
'म मोटी छु। मलाई फिल्ममा आमा, छुच्ची सासूजस्ता पात्रका लागि मात्र छान्न खोज्छन्। सम्मानजनक स्थान दिन चाहँदैनन्,' उनले भनिन्।
यही कारणले उनले दुई वटा फिल्ममा काम गर्न अस्वीकार गरिन्।
मान्छेको जन्मको लैंगिकता र समाजले उसका निम्ति बनाइदिएका कथित मापदण्ड स्वीकार गर्न सबैलाई सहज नहुन सक्छ। समाजले 'तिमी यो लिंगको भएकाले यस्तो लाउनुपर्छ, यस्तो लाउनु हुँदैन' भन्छ भने त्यसलाई अस्वीकार गर्ने हक छ। मान्छेले अरूलाई हानि र असर नपुर्याए आफूखुसी आफूलाई प्रस्तुत गर्न पाउँछ।
समाजले थोपरेको मान्यता अस्वीकार गर्दै अगाडि बढ्नु चुनौतीरहित भने हुँदैन। लुनिभाले पनि जीवनमा अनेक अनुभव गरेकी छन्। यो यात्रामा उनले थुप्रै मान्छे भेटिन् जसका आआफ्नै लडाइँ थिए। अझ कथित सामाजिक नियममा नपरेका कयौं व्यक्ति भेटिन् जसको भोगाइका कथाले उनलाई छोयो।
सन् २००३ को कुरा हो। अमेरिकी नागरिक डेब्रारा मेरौला नेपाल आएकी थिइन्। मेरौला मार्फत लुनिभालाई 'क्वीर' समुदायका बारेमा थाहा भयो। सुरूमा क्वीर भनेर समलिंगीहरूलाई बुझिन्थ्यो। समयक्रममा यसको दायर फराकिलो हुँदै गयो। आफ्नो यौनिकता वा लैंगिकता नखुलाई आफूलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (एलजिबिटिक्युआइएप्लस) व्यक्तिका रूपमा चिनाउनेहरूले क्वीर शब्दावली प्रयोग गर्छन्। त्यस्तै आफू जन्मका आधारमा महिला वा पुरूषभन्दा अलग भएको तर वास्तविक पहिचान यकिन नभइसकेकाले पनि क्वीरका रूपमा आफूलाई चिनाउन सक्छन्।
पछि मेरौलाले लुनिभाको चिनजान निर्देशक कुमुदिनी गुरूङसँग गराइदिइन्। कुमुदिनीले निर्देशन गरेको 'आनद्रिज मदर' नाटकमा लुनिभाले स्टेज व्यवस्थापन गर्ने मौका पाइन्। उक्त नाटकमा समलिंगी पुरूषकी आमाको कथा भनिएको थियो।
यो नाटकमा काम गरिसकेपछि लुनिभालाई लाग्यो- यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूका कथा बाहिर आउनुपर्छ। समाजले स्वीकार गर्न नसकिरहेका वा नमानिरहेका जो कोही हुन्, उनीहरूका कथा जति सार्वजनिक हुँदै जान्छन्, समाजमा उनीहरूको स्थान उति नै बलियो हुँदै जान्छ।
'नाटक हेरेपछि मलाई यो समुदायको कथा भन्नुपर्छ भन्ने निष्कर्षमा पुगेँ। कथा भनेरै मुद्दा उठाउन सकिन्छ जस्तो लाग्यो। त्यसपछि बिस्तारै यो समुदायका बारेमा बुझ्न थालेँ,' लुनिभाले भनिन्।
अभिनयमा सक्रिय र छोटा फिल्म तथा वृत्तचित्र निर्देशन गरिसकेकी उनले यी कथा भन्ने माध्यमका रूपमा नाटक रोजिन्। सन् २०१५ मा उनले 'होमोफोबिया विरोध' नाटक निर्देशन गरिन्। हरेक वर्ष मनाइने होमोफोबिया दिवसको अवसरमा उनले यो नाटक बनाएकी थिइन्।
लुनिभाले मेरौलाले निर्देशन गरेको नाटक 'एन्जल्स इन अमेरिका' मा अभिनय पनि गरिन्। केही समयपछि ११ महिना लगाएर अर्को नाटक निर्देशन गरिन्, 'स्टप किस'। शिल्पी नाटकघरमा मञ्चन भएको यो नाटकले अमेरिकामा आक्रमणमा परेकी समलिंगी महिलाको कथा भनेको थियो।
यसरी कथा भन्न थालेपछि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूसँग उनको चिनजान र सम्बन्ध गहिरो हुँदै गयो। उनीहरूले आफ्ना कथाहरू सुनाउन थाले।
'उहाँहरूसँग भेटेपछि मैले जीवनका फरकफरक अनुभव र कथाहरू थाहा पाएँ। मैले नाटकहरू देखाउँदा संवेदनशीलता कतिसम्म ख्याल गरेको रहेछु भन्ने थाहा हुँदै गयो,' लुनिभाले भनिन्।
कुनै पनि समुदायको कथा कलाबाट भन्न धेरै कुरामा ध्यान दिनुपर्छ। मान्छेको संवेदनालाई केले चोट पुर्याउँछ भन्ने थाहा हुँदैन।
'मान्छेहरू अर्को मान्छेको शरीरतिर ध्यान दिन्छन्। कति दुब्लाएको, कपाल कति पातलो, कस्ती सेती, कस्ती काली, यस्तै कुरा सुरू हुन्छ। श्रीमानले लुछेर कपाल पातलो भएको हुन सक्ला। कोही कालो छालाकै कारण हाँसोको पात्र बन्नुपरेको होला,' लुनिभाको प्रश्न छ, 'यो पीडा कसले बुझ्छ? बोल्ने बेलामा हामीले यो सबै सोचेका हुन्छौं?'
त्यसैले उनी यसबारे सधैं सचेत हुन्छिन्, आफ्नो टिमलाई पनि सचेत गराउँछिन्।
'टिमको कोही मान्छेले ओहो कस्तो केटा भएर पनि नाकमा फुली लगाएको भनिदेला। यसो भन्नु दुर्व्यवहार हो। यस्तो नहोस् भनेर पहिल्यै चिनजान गराएर सबै कुरा भनिदिन्छु,' उनले भनिन्।
अरूका कथा भन्दै आएकी लुनिभाको कथा भने रंगकर्मी आकांक्षा कार्कीले भनिदिएकी छन्। लुनिभाले आफू केही फरक छु भनेर आफ्नो कथा साथी आकांक्षालाई सुनाएकी थिइन्।
आकांक्षाले उनकै कथालाई आधार बनाएर एउटा स्क्रिप्ट लेखिन्- बिकमिङ।
यो वेबसिरिज हो। यसको आधा कथा लुनिभाको बाल्यावस्थाबारे छ। लुनिभाले नै निर्देशन गरेको बिकमिङको मूल कथा भने किशोर उमेरका समलिंगीको हो। परिवार र समाजले समलिंगी महिलाको भावना नबुझिदिँदा बाँचुन्जेल पहिचानकै लागि लडिराख्नुपर्ने बाध्यताको कथा बिकमिङले देखाउन खोजेको छ।
सेभ द चिल्ड्रेन र नीलहीरा समाज (ब्लु डाइमन्ड सोसाइटी) ले संयुक्त रूपमा निर्माण गरेको यो वेबसिरिजमा लुनिभाले नृत्य सिकाउने पात्रको रूपमा अभिनय गरेकी छन्।
बिकमिङमा ६० प्रतिशत कलाकार यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका छन्। कलाकार छनौट गर्न आवेदन खुलाइएको थियो, ९६ जनाले भरे। अभिनयमा छनोट हुन पहिलोपटक यसरी यो समुदायका कलाकार खुलेर आएका लुनिभा बताउँछिन्। त्यही समुदायको हकअधिकारका लागि कलामार्फत काम गर्दै आएकी उनले यस्तो उत्साह पहिलोपटक देखेकी थिइन्।
'यसरी खुलेर आएका कलाकारको त्यो समूहमा मैले फरकफरक कथा फेला पारेँ। धेरै खुसी लाग्यो,' उनले भनिन्।
नेपाली सिने र कला क्षेत्रमा यो समुदाय केन्द्रित कथा नबनेको र समुदायका व्यक्ति पर्दामा देखिए पनि हास्य वा सामान्य पात्रमा मात्र समेटिएको देख्दा लुनिभालाई चित्त बुझ्दैन।
'यो समुदाय हाँस्न वा मनोरञ्जनका लागि मात्र हो र,' उनी भन्छिन्, 'यो समुदायका व्यक्ति लैंगिकतामा फरक हुन् तर काममा अरू सबै जस्तै नै हुन्। डाक्टर, इञ्जिनियर, नेता, अभिनेता सबै हुन सक्छन्। फरक लैंगिकताका कारण काम गर्न नसक्ने त हुँदैन नि।'
उनले थपिन्, 'अझ यही समुदायको कथा भन्न त झन् तिनै व्यक्तिलाई प्राथमिकता दिनुपर्यो। जसको कथा हो उसैले आफ्नो कथा राम्रोसँग भन्न सक्छ। त्यसैले हामीले उहाँहरूलाई नै अभिनय गराएका हौं, उहाँहरूको क्षमता देखाउन पनि खोजेका हौं।'
लुनिभाले हालसम्म यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका पाँच वटा कथा भनिसकेकी छन्।
उनको प्रयासले यो समुदायका कथाहरू बाहिर ल्याउन ठूलो भूमिका खेलेको नीलहिरा समाजमा काम गर्ने ट्रान्सम्यान (पारलैंगिक पुरूष) एलिन भण्डारी बताउँछन्। लुनिभा कलामार्फत यो समुदायको कथा भन्न सफल भएकी उनको भनाइ छ।
'लुनिभा आफ्नो विषयमा धेरै संवेदनशील हुनुहुन्छ। त्यहीअनुसार कथाहरू पर्दामा देखाउनुहुन्छ। उहाँले निर्देशन गरेको नाटक वा सिरिजमा समाजका भन्नैपर्ने कथाहरू भनिएका छन्,' एलिनले भने।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी