वकिलसँग कानुनका कुरा
पारिवारिक सम्पत्ति अंशियारहरूले भागबन्डा गर्नुलाई अंशबन्डा भनिन्छ। अंशबन्डा के आधारमा हुन्छ? नेपाली नागरिकता त्यागिसकेका अंशियारले आफ्नो अंश दाबी गर्न मिल्छ कि मिल्दैन? कसैले धेरै–थोरै अंश पाउने अवस्था हुन्छ कि हुन्न? अंशबन्डा बारे यिनै जिज्ञासा बुझ्न हामीले अधिवक्ता प्रवीण सुवेदीसँत कुराकानी गरेका छौं–
परिवारको सम्पत्ति अंशबन्डा कसरी हुन्छ? दाजुभाइ तथा दिदीबहिनी छन् भने कुन–कस्तो बेला अंशबन्डा गर्न पाइन्छ?
कुनै परिवारमा अंशबन्डा गर्दा बुवा, आमा, छोरा, छोरी गरी परिवारभित्रका सदस्यलाई समानरूपमा अंश र ऋण बाँडिन्छ। अंशियारमध्ये कोही गर्भवती छ भने उनको भ्रूणले पनि अंशबन्डाको हक पाउँछ।
परिवारभित्र कुरा मिलेर अंशबन्डा गर्दै हुनुहुन्छ भने जुनसुकै बेला मालपोत कार्यलयमा गएर अंशबन्डाको लागि रजिस्ट्रेसन गरी अंश लिने–दिने काम गर्न सकिन्छ। घरको मुख्य मान्छेले परिवार छुट्याउन चाहेमा पनि सजिलै अंशबन्डाको प्रक्रिया अघि सार्न सकिन्छ। यसरी कुरा मिलेको हकमा एकै दिनमा अंशबन्डाको काम सकिन्छ।
मुख्य मान्छेले घरमा खान–लाउन नदिएको हुनाले वा राम्ररी नपालेको अवस्थामा भने अंशियारले अदालतमा गएर अंशको माग गर्न मिल्छ। घरमूलीले अंशबन्डा गर्न नचाहेमा वा मिलापत्र नगरेमा प्रक्रिया लम्बिन जान्छ। मुद्दा मामिलामा गए जिल्ला अदालतदेखि सर्वोच्च अदालत पुग्न सक्ने हुनाले अंशबण्डा हुन कति समय लाग्छ भनेर भन्न सकिँदैन। मुख मिलेको अवस्थामा धेरैमा दुई–तीन दिनमा अंशबन्डाको काम सकिन्छ।
घरमूलीले अंश दिन्न भन्न पाइन्छ?
सगोलको सम्पत्ति जसको नाममा छ उसले अरू अंशियारलाई अंश दिन्न भन्न पाइँदैन। अंशियारको मन्जुरीबिना सगोलको सम्पत्ति कसैलाई हस्तान्तरण गर्न समेत पाइँदैन।
दाजुले अंश आफूले स्वआर्जन गरेको सम्पत्ति हो भनेर प्रमाण गर्न सकेमा भाइलाई दिन्नँ भन्न पाइन्छ। तर बुवाआमाले भने आफ्नो सन्तानलाई अंश दिन्नँ भन्न पाइन्न।
विवाहित छोरी तथा दिदीबहिनीले पनि परिवारको अंश पाउँछन्?
२०७२ सालपछि बिहे गरेका छोरीहरूले पनि अंश पाउँछन् (विवाहित महिलाले आमाबुवाबाट अंश पाउने कानुन २०७२ सालमा बनेको थियो। यो कानुन बनेपछि बिहे गरेका विवाहित महिलाले पैत्तृक सम्पत्तिमा बराबर हक पाउने भएका हुन्)।
अंशबण्डा नभएको भए आमाबुवाले उनीहरूलाई पनि सम्पत्तिमा बराबर अंश दिनुपर्छ। २०७२ पछि बिहे भएका महिलाले अंश पाएका छैनन् भने जुनसुकै बेला दाजुभाइ (वा अन्य अंशियार) सँग अंश भाग माग्न पाउँछन्। २०७४ सालमा आएको देवानी संहिताले पनि विवाहित छोरीले बुवाआमा र श्रीमान दुबैबाट अंश पाउने कानुनी व्यवस्था गरेको छ।
आपसी मेलमिलाप गरेर अंश लिन्न नभनेसम्म दिदीबहिनीले पनि दाजुभाइले पाए बराबरको अंश दाबी गर्न मिल्छ।
श्रीमानसँग श्रीमतीले कस्तो अवस्थामा अंश दाबी गर्न सक्छिन्?
श्रीमान र श्रीमतीबीच सँगै सम्बन्ध स्थापित भइरहेको अवस्थामा सबै कमाएको सम्पत्ति वा ऋणमा बराबरको हक लाग्ने कानुनी व्यवस्था छ। श्रीमान वा श्रीमतीमध्ये जोकोहीले एकअर्काले खान–लाउन नदिएमा वा इज्जतआमत अनुसार नराखी हेलोहोचो गरेमा अंश माग गर्न मिल्छ। त्यसको लागि सम्बन्धित जिल्ला अदालतमा गएर फिराद (निवेदन र मुद्दा) दायर गर्नुपर्छ। अदालतले प्रतिवादीलाई बोलाएर सगोल सम्पत्तिको विवरण संकलन गर्छ र सन्तान भएको हकमा सन्तानलाई पनि अंशियार मानेर आधा–आधा अंश र ऋण बाँडफाँट गरिदिन्छ।
धेरै सन्तान हुँदा कसैलाई दिन्छु, कसैलाई दिन्न भन्न मिल्छ?
मिल्दैन। जति जना सन्तान भए पनि सगोलको सम्पत्ति तथा ऋणमा सबै अंशियारको भाग लाग्ने कानुनी व्यवस्था छ। कुनै सन्तानले थोरै अंश लिन चाह्यो भने उनको मन्जुरीमा थोरै अंश दिन मिल्छ। अन्यथा बराबर बाँडफाँट हुन्छ।
बुवाले अंश नपाउँदै सन्तानले अंश दाबी गर्न पाउँछन्?
एउटा पुस्तामा अंशबन्डा नहुन्जेल अर्को पुस्ताले अंश दाबी गर्न मिल्दैन। मुद्दा पर्यो भने अदालतले मूल पुस्ताका अंशियारलाई बोलाएर अंशबन्डा गराएपछि बल्ल नातिनातिना पुस्ताले आफ्नो बुवाको अंश दाबी गर्न मिल्छ। त्यसपछि बल्ल अंश पाउँछन्।
बुवाले जग्गा दान गर्ने भनेर कागज बनाइसके भने सन्तानहरूले हकदाबी गर्न मिल्छ?
अचल सम्पत्तिलाई आफ्नो मनलाग्दी अरू कसैलाई दान दिन कानुनले रोकेको छ। बन्डा लाग्ने पैत्तृक सम्पत्ति सन्तानलाई नदिई दान गर्छु भन्ने अवस्था छैन।
चल सम्पत्ति अर्थात् सुन, नगद छ भने घरव्यवहार चलाउन मूलीले सम्पत्ति प्रयोग गर्न पाउँछन्। अचल सम्पत्ति अर्थात् घरजग्गाको हकमा घर व्यवहार चलाउन आधा सम्पत्ति बिक्री गर्नुपरे अंशियारको मन्जुरी लिनुपर्दैन। आधा बढी सम्पत्ति बिक्री गर्नुपर्दा अंशियारको मन्जुरी लिन अनिवार्य हुन्छ। दान दिन लागेको थाहा पाए वा कागज नै गरेपछि पनि सन्तानले दाबी गर्न पाउँछ।
नेपाली नागरिकता त्यागिसकेका व्यक्तिले परिवारबाट अंश लिन पाउँछ?
विदेशको नागरिकता लिएपछि कानुनअनुसार नेपाली नागरिकता स्वतः खारेज हुन्छ। अंश नैसर्गिक अधिकार भएकोले विदेशी नागरिकता लिएको भरमा नेपालको अंश हक मर्दैन। यस मामलामा अंश लिने प्रक्रिया भने केही फरक हुन्छ।
विदेशी नागरिकता लिएको नेपालीले अंश लिनुअघि गैरआवासीय नेपाली नागरिकको परिचयपत्र बनाउनुपर्छ। त्यसपछि मात्र अंशको स्वामित्व धारण गर्न सक्छ वा आफूले प्राप्त गर्नुपर्ने सम्पत्ति नेपालमै बसोबास गर्ने अरू कसैको नाममा हस्तान्तरण गरेर अंश लिन सकिन्छ।
अंशबन्डा गर्दा सम्पत्ति लुकाएको अवस्थामा के हुन्छ?
अंशबन्डा गर्दा कुनै सम्पत्ति लुकाएको पाएमा अंश दपोट गरेको ठहरिन्छ। अंश लुकाएको प्रमाणित भयो भने पछि उनले अंशमा थप दाबी गर्न मिल्दैन। त्यसकारण जेजति सम्पत्ति छ वा जे भएको हो त्यसको सत्यतथ्य अदालतसमक्ष पेश गरेमा न्याय अवश्य पाइन्छ।
{ केही जिज्ञासा भए ([email protected]) मा मेल गर्न सक्नुहुन्छ। }