प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गरेका छन्। एक अर्ब ९२ करोड ७० लाख ९८ हजार ९७७ रुपैयाँ बजेटमा बन्न लागेको टर्मिनल भवनको प्रधानमन्त्री दाहालले बिहीबार शिलान्यास गरेका हुन्।
तीन वर्षभित्र सम्पन्न गर्नेगरी केसी–क्षमादेवी–प्रतिष्ठा जेभीले निर्माणको जिम्मा पाएको छ।
१४ कट्ठा जमिनमा ८ हजार वर्गमिटर बढी क्षेत्र ओगटेर २ तल्ले आधुनिक टर्मिनल भवन निर्माण हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यसको कन्ट्रोल टावर भने ८ तलाको हुनेछ।
प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माणसँगै विमानस्थल विस्तारको काम पनि बढाउने तयारी गरेको छ।
शिलान्यास कार्यक्रममा प्रधानमन्त्री दाहालले हाल रहेको १२ सय मिटर लामो धावनमार्गलाई १५ सय मिटरको बनाएर चौबीसै घन्टा जहाज चल्ने बनाउने बताए। भरतपुर विमानस्थलको विस्तारका लागि वर्षौंदेखि गरेको प्रयास अब निष्कर्षमा पुग्न लागेको उनले बताए।
‘भरतपुरको भौगोलिक अवस्था र समग्र विकासलाई हेर्दा विमानस्थल धेरै पहिले विस्तार भइसक्नुपर्ने थियो। सबै क्षेत्र विकास भइरहँदा विमानस्थल पछि पर्यो,’ उनले भने, ‘अब यो काम अघि बढ्छ। चितवनवासीको सपना पुरा हुन्छ।’
उनले विगत ५-६ वर्षमा विमानस्थल विस्तारको विषयमा सिंहदरबार र सेनाको हेडक्वार्टरमा कैयौं बैठकहरू बसेको बताए।
भरतपुर विमानस्थलको विस्तारका लागि आडैमा रहेको नेपाली सेनाको गण र सेनाको घोडा प्रजनन् केन्द्रको जमिन आवश्यक पर्छ। प्रधानमन्त्री दाहालले केही दिनमै सेनाको गण र प्रजनन् केन्द्र स्थानान्तरणको प्रक्रिया टुंगिने बताए।
भरतपुर विमानस्थलमा जहाज ल्यान्ड हुन थालेको ६२ वर्ष पहिलेबाट हो। त्यसभन्दा ३ वर्षअघि नै ५८ बिघा जमिनमा विमानस्थल बनेको थियो।
काठमाडौं, विराटनगर, पोखरा, राजविराज, जनकपुरजस्ता ठूला सहरमा मात्रै विमानस्थल चलेको समयमा चितवनमा पनि विमानस्थल सञ्चालनमा ल्याइएको थियो।
सन् १९६१ को मार्चबाट उडान सुरू भएको थियो। त्यतिखेर चितवनमा भर्खर बस्ती बस्दै थियो। राप्तीदुन उपत्यका विकास योजनामार्फत् बस्ती बसालिँदै थियो।
त्यो सुनसान ठाउँ अहिलेको देशकै व्यस्त बजारमा परिणत भइसकेको छ। केही हजार मान्छे बस्ने चितवनको जनसंख्या अहिले सवा ७ लाख पुगेको छ। तर विमानस्थलको अवस्थामा भने सुधार आउन सकेको छैन। १२ सय मिटर लामो धावनमार्ग रहेको विमानस्थलमा ४२ सिटे जहाज जेनतेन अवतरण हुने गरेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ७० देखि ८० सिट क्षमताका मझौला जहाज अवतरण गर्नसक्ने गरी विमानस्थलको स्तरोन्नतिको तयारी अन्तिम चरणमा पुगेको बताए। भरतपुर विमानस्थलको विस्तारको प्रसंग चल्न थालेको एक दशक पहिलेदेखि हो।
उत्तरतर्फ रहेको नेपाली सेनाको गण र सेनाकै घोडा प्रजनन् केन्द्रलाई कतै स्थानान्तरण गरेर विस्तार गर्ने बहस त्यतिखेरैबाट चलिरहेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सेनाको गण र प्रजनन् केन्द्रलाई स्थानान्तरण गर्ने नीतिगत निर्णय भइसकेको बताए। गणलाई नेपाल ट्रष्टको मातहतमा रहेको दियालो बंगला दरबारमा र घोडा प्रजनन् केन्द्रलाई भरतपुर-११ स्थित गणेशस्थान मन्दिर पछाडिको क्षेत्रमा सार्ने प्रक्रिया अघि बढिरहेको उनले बताए।
‘हामीले यो विमानस्थलको टर्मिनल भवन निर्माण, विस्तारलाई राष्ट्रिय प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगलाई पत्र पठाएका छौं,’ मन्त्री किरातीले भने, ‘विस्तार गरेर एटिआर ७२ जहाज सञ्चालन गर्ने, रात्रिकालीन उडान सुरू गर्छौं।’
विमानस्थल वरपर रहेका अग्ला संरचनाका कारण बढ्दो जोखिमलाई मध्यनजर गरेर २०७० फागुन ९ गते प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बसेको बैठकले विमानस्थल वरपर मापदण्डविपरीत निर्माण भएका भवनहरूको लगत संकलन गरी प्रतिवेदन पेस गर्न प्राविधिक समिति निर्माण गरेको थियो।
उक्त समितिले विमानस्थलको प्रभावित क्षेत्रमा ३१३ वटा अस्थायी तथा स्थायी संरचना निर्माण भएकोमा २५७ वटा संरचना मापदण्डविपरीत रहेको प्रतिवेदन पेस गर्यो।
नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा ७ को उपदफा १ र २ को भावनाविपरीत विमानस्थल वरपर भवन बनिसकेको, ती भवनका कारण विमानको उडान, अवतरणमा गम्भीर असर परिरहेको र भविष्यमा झनै अप्ठ्यारो अवस्था आउन सक्ने देखिएकाले मापदण्डविपरीत बनेका संरचना हटाउनु पर्ने सुझाव उक्त प्रतिवेदनमा थियो।
तर सरकारका नागरिक उड्डयन मन्त्रीहरू आउँदा विस्तारको प्रतिबद्धता जनाउनु बाहेकको प्रगति हुन सकेन। प्रतिवेदन यसै थन्कियो।
२०७५ सालको माघ २८ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको उपस्थितिमा भरतपुर विमानस्थलको कार्यालयमा बसेको बैठकले यहाँ रात्रिकालीन अवतरण पनि गर्न सकिनेगरी विमानस्थलको स्तरोन्नति गर्नुपर्ने निष्कर्ष निकालेको थियो।
उक्त बैठकले विमानस्थलको धावनमार्ग १ हजार मिटर बढाउनुपर्ने, यसका लागि विमानस्थलको उत्तर–पश्चिममा रहेको नेपाली सेनाको व्यारेक र घोडा प्रजनन् केन्द्रलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्नुपर्ने, दक्षिण–पूर्वमा रहेका घर एवं घरका ट्रसहरू हटाउनुपर्ने र नयाँ संरचना निर्माण गर्न दिन नहुने निष्कर्ष निकालेको थियो।
फागुनमा तत्कालीन समयमा चितवनबाट निर्वाचित सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’, पर्यटन मन्त्री अधिकारीसमेत सहभागी बैठकले सेनाको व्यारेक र घोडा फार्मलाई भरतपुर-१ मा नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला क्षेत्रको ३६ विघा र भरतपुर–११ बसेनी गणेशस्थान दक्षिण-पूर्व सामुदायिक बनको ६० बिघा जमिनमा स्थानान्तरण गर्नुपर्ने राय दिएको थियो।
यसैको आधारमा भरतपुर महानगरपालिकाले २०७५ फागुन २ गते पर्यटन मन्त्रालयहरूमा पत्राचार गरेको थियो। यसका लागि पहल हुँदै गर्दा मन्त्री अधिकारीको निधन भयो।
२०७६ सालको असोजमा पर्यटन मन्त्रालयले सहसचिव बुद्धिबहादुर लामिछानेको संयोजकत्वमा समिति बनाएर अध्ययन सुरू गर्यो। त्यतिखेर पर्यटनमन्त्री योगेश भट्टराई थिए। उनले पनि भरतपुर विमानस्थल विस्तारका लागि प्रयास गरे। लामिछानेको संयोजकत्वमा बनेको समितिले माघमा भरतपुर विमानस्थलमा एटिआर-७२ वा सो सरहका जहाज उडान, अवतरण गर्न धावनमार्गलाई १५ सय मिटर लामो बनाउने सिफारिस गरेको थियो।
भरतपुर महानगरकी मेयर रेनु दाहालले भरतपुर विमानस्थल विस्तार गर्ने भरतपुरबासीको सपना अब पुरा हुन लागेको बताइन्।
‘सेनाको कालीबहादुर गण र घोडा प्रजनन् केन्द्र रहेको ७६ विघा जमिनमध्ये विमानस्थलका लागि आवश्यक पर्नेजति प्रयोग गर्ने बाँकीमा पार्क बनाउने लक्ष्य छ,’ उनले भनिन्, ‘अब यो काम केही समयमै अघि बढ्छ।’
भरतपुर विमानस्थल भएर दैनिक ५०० यात्रु ओहोरदोहोर गर्छन्। यहाँबाट काठमाडौं, पोखरा उडान हुने गरेको छ। साना जहाजमात्रै चल्ने भएकाले काठमाडौंबाट नजिकै भए पनि भाडा महँगो छ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थलको नयाँ टर्मिनल बने पिक आवरमा एक हजार जना यात्रुलाई सहज रूपमा सेवा दिन सकिने बताए। उनले चितवनमै रहेको मेघौली विमानस्थलको धावनमार्ग स्तरोन्नतिका लागि टेन्डर आह्वान भइसकेको बताए।
‘देशभरका विमानस्थललाई आवश्यकता र औचित्यका आधारमा विकास र विस्तार गर्दै लैजाने नीति प्राधिकरणको छ,’ उनले भने, ‘त्यही लक्ष्यअनुरूप हामी काम गर्दैछौं।’