बाघमारा नजिकै रहेको हात्तीसार पुग्दा चञ्चलकली टाउको हल्लाइरहेको थिई। उसको बेचैनी हेरेर टोलाइरहेका थिए हात्तीपालक गणेश खतिवडा। टाउको हल्लाउने उसको बानी हो। चञ्चलता उसको पहिचान।
तैपनि काटिएको सुँड तलमाथि गरिरहेकी चञ्चलकलीलाई देख्दा उसको दुखाइ महसुस गर्न सकिन्थ्यो। सौराहास्थित हात्तीसारमा बाँधिएको चञ्चलकली नामको हात्तीको गत मंगलबार राति सुँड काटिएको थियो।
केहीबेरमा माउते रामजी चौधरी हातमा पाइप लिएर चञ्चलकलीलाई सफा गर्न थाले। शरीर सफा गरेपछि उनले पाइपको पानी काटिएको सुँडमा झारे। चञ्चलकलीले सुँडलाई उठाएर मुखमा लैजाने प्रयास गरी। अन्ततः ऊ सुँडभित्रको केही पानी मुखमा पुर्याउन सफल भई।
पर्यटन व्यवसायी खतिवडाले पालेको ४५ वर्षीय हात्तीले शनिबार दिउँसोबाट काटिएकै सुँडले पानी खान थालेको छ।
'आज बिहानबाट काटिएको सुँडबाटै पानी खान प्रयास गरेको छ। माउतेले सुँडमा राखिदिएको पानी मुखमा लगेर हाल्यो,' राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका भेटेरिनरी प्राविधिक किरण रिजालले भने, 'दुखाइका कारण गाह्रो त भइरहेको छ। तैपनि उसले प्रयास सुरू गरेको छ।'
मंगलबार राति सुँड काटिएपछि हात्तीलाई रेक्टल विधि (मलद्वारबाट पाइप छिराएर पानी शरीरमा पानी पुर्याउने) बाट पानी दिइएको थियो। रिजालका अनुसार हात्तीको जिब्रो उल्टो हुन्छ। उसको सुँडमा ८ देखि १० लिटर पानी अट्छ। पानी भरेपछि सुँड मुखभित्र जिब्रोको पछाडि लगेर पानी घुटुक्क निल्छ।
सुँड काटिएको हात्तीले पानी खान नसकेको अवस्थामा शरीरलाई आवश्यक पर्ने पानीको मात्रा रेक्टल विधिबाट पुर्याउनुपरेको उनले बताए।
'सुँडले पानी खान सुरू गर्नु सकरात्मक कुरो हो। यहीअनुसार प्रगति हुँदै गयो भने १५–२० दिनमा सुँडले अन्य खानेकुरा पनि टिपेर खान सक्छ,' उनले भने, 'त्यसपछि त काम गर्न पनि सकिहाल्छ।'
अहिले दैनिक तीन पटक रेक्टल विधिबाट पानी दिने गरिएको रिजालले बताए। एक पटकमा ३० देखि ५० लिटर पानी यसरी शरीरमा पुर्याउने गरिएको छ। खाना भने माउतेले मुखमा हालेर खुवाइदिन्छन्। हात्तीका लागि आवश्यक पर्ने घाँस अहिले चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्र खोरसोरका कर्मचारीले उपलब्ध गराइदिएका छन्।
सुँडमा रहेको घाउ पनि बिस्तारै निको हुने वन्यजन्तु प्राविधिक रिजालले बताए। हरेक दिन ८ देखि १० पटक सम्म घाउ सफा गर्ने गरिएको छ। एक पटक सिरिञ्जबाट पेनकिलर, एन्टिबायोटिक लगायतका औषधि दिने गरिएको छ।
सुँड काटिएपछि चञ्चलकली पहिलो पटक शुक्रबार राति सुतेको थिई।
'यो उसलाई दुखाइ कम भएको संकेत हो। उसलाई सञ्चो हुँदैछ भन्ने संकेत हो यो,' रिजालले भने।
मंगलबार राति करिब ११ बजेतिर हात्तीको सुँड काटिएपछि माउते दीपक मर्दनीयाले खतिवडालाई फोन गरेका थिए। स्वास्थ्यकर्मीहरू करिब १२ बजेतिर हात्तीसार पुग्दा हात्ती छटपटाइरहेको थियो।
'हामी पुग्दा रगत झरिरहेको थियो। त्यसलाई रोक्न प्रयास गर्यौं। काटिएको टुक्रा भेटाएनौं। बिहान मात्रै त्यो फेला पर्यो। १६ सेन्टिमिटर लम्बाइ र ६४० ग्राम तौल रहेको सुँडको टुप्पो काटिएको रहेछ,' रिजालले भने।
तीन वर्षअघि सौराहामै हरि घिमिरेले पालेको हात्तीको सुँड काटिएको थियो। तर त्यतिखेर जस्तामा ठोक्किएर सुँड काटिएको ठानिएको थियो। तर चञ्चलकलीको सुँड कसले किन काट्यो भन्ने थाहा हुन सकेको छैन। चितवन राष्ट्रिय निकुञ्ज र चितवन प्रहरीले यसको अनुसन्धान गरिरहेको छ।
हात्तीपालक गणेश खतिवडाका अनुसार चञ्चलकली सौराहामा रहेका घरपालुवा हात्तीहरूमध्येकै खतरनाक हो। उसको टाउको हल्लाइरहने बानी छ। माउतेबाहेक अरू उसको नजिक पर्न सक्दैनन्।
'आफ्नो नजिक कोही आइपुग्यो भने जे भेटायो त्यो टिपेर हान्थ्यो। धेरै चञ्चल भएकै कारण यसको नाम चञ्चलकली राखिएको हो,' उनले भने, 'एक्कासि नसोचेको घटना भयो। हामी अनुसन्धानको रिपोर्ट कुर्दैछौं।'