कैलालीको चुरे गाउँपालिका–१ भासु की २९ वर्षीया सिम्रन मगर (नाम परिवर्तन) को विहे १८ वर्षको उमेरमा भएको थियो। बिहे भएको २ वर्ष नपुग्दै उनी गर्भवती भइन्।
पहिलो गर्भ चेकजाँचका लागि एकचोटी मात्रै धनगढी गएकी थिइन्। त्यसपछि एकैचोटी गाउँका सुडेनीबाट उनले घरमै बच्चा जन्माइन्। तीन वर्ष पनि नपुग्दै उनको दोस्रो बच्चा भयो। त्यो बेला पनि राम्ररी चेकजाँच गर्न नपाएको बताउँछिन्। ९ महिनासम्म के हुने हो, कसो हुने हो भन्ने कुराको चिन्ता लागिरहन्थ्यो।
दुईवर्षअघि उनले तेस्रो बच्चा जन्माइन्।
'तेस्रो पटकमा बल्ल मैले गर्भको चेकजाँच चार पटक गर्न पाएँ। नियमित चेकजाँच गर्दा कति ढुक्क हुने रहेछ,' उनले भनिन्।
दुई छोरी र एक छोरा गरी तीन सन्तानकी आमा बनेकी उनलाई सन्तानकोे रहर पुरा भइसकेको थियो। यो भन्दा बढी सन्तान हुर्काउन सक्ने आर्थिक अवस्था पनि थिएन।
परिवार नियोजनको अस्थायी साधन कण्डमको प्रयोगबारे उनलाई थाहा त छ तर उनको गाउँघरमा त्यसको पहुँच छैन। विकट ठाउँमा बस्ती छ। बस्ती नजिकै स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य चौकीहरू छैनन्।
स्वास्थ्य चौकी र स्वास्थ्य स्वयंसेविका भएको ठाउँमा जान उनको बस्तीबाट तीन घण्टा भन्दा बढी समय लाग्छ।
‘हेल्थपोष्ट र स्वास्थ्य स्वयंसेविकाकहाँ जान तीनचार घण्टा लाग्छ, निजी मेडिकल पुग्न भने एक घण्टा जति लाग्छ। हामी दिनभरी काममा खटिनेहरूलाई त्यति टाढा गएर कण्डम ल्याएर प्रयोग गर्ने समय हुँदैन,’ उनले भनिन्।
अस्थायीका साधन प्रयोग गर्न नसकेकै कारण दुई महिनाअघि उनले चौँथो पटक गर्भ बसेको थाहा पाइन्। यो बच्चा त कसै गरि हुर्काउन सक्दिनथिन्। त्यसैले गर्भपतन गर्ने सोच बनाइन्।
तर उनको गाउँमा नेपाल सरकारको कानूनी मान्यता प्राप्त नि:शुल्क सुरक्षित गर्भपतन गर्ने स्वास्थ्य संस्था पनि छैन। त्यसैले यो पटक पिल्स खाएर उनले गर्भपतन गराइन्। असुरक्षित गर्भपतनका कारण महिना दिनसम्म उनी थला परिन्।
नि: शुल्क सुरक्षित गर्भपतन गराउनुपर्छ भन्ने उनलाई थाहा थियो। तर सरकारबाट सूचिकृत गरिएको तालिम प्राप्त स्वास्थ्य संस्था चुरे गाउँपालिकाको सहजपुरमा थियो।
'मेरो गाउँ विकटमा छ। स्वास्थ्यसेवा सहजपुरमा छ। त्यहाँ जान बस्तीबाट घण्टौं हिँड्नु पर्छ,' उनले भनिन्, 'सुरक्षित गर्भपतन गर्ने ठाउँ जानै समस्या छ, बाटो छैन, कहाँ बस्ने कहाँ खाने, पैसा छैन, धेरै झन्झट गर्नुभन्दा औषधी खान सजिलो भयो। तर यसले त गाह्रो पार्ने रहेछ।’
उनीमात्र होइन यो ठाउँका धेरै महिलाको स्वास्थ्य गर्भावस्था, सुत्केरी अवस्था चेकजाँच, स्याहारसुसारको अभावका कारण समस्याग्रस्त देखिन्छ।
असुरक्षित तरिकाले गर्भपतन गराउँदा पाठेघर नै गुमाउने घटना यो गाउँमा धेरै भएका छन्।
पछिल्लो समय यहाँका महिला तथा किशोरीहरू यौन तथा प्रजनन् स्वास्थ्य अधिकारबारे धेरथोर जानकार भने रहेछन्। सचेत हुनेहरूले पनि स्वास्थ्य संस्थाको पहुँच पुग्न नसकेका कारण असुरक्षित गर्भपतन गर्नुपर्ने बाध्यता छ।
कतिपयलाई भने सुरक्षित गर्भपतनबारे जानकारी पनि छैन ।
भासुकै ३० वर्षीया सुनैना घर्तीमगर (नाम परिवर्तन)पनि असुरक्षित गर्भपतन गर्दा झण्डै मृत्युको मुखमा पुगेकी थिइन्। उनका चार छोराछोरी छन्।
पाँचौंपटक गर्भवती भएपछि उनले पनि असुरक्षित गर्भपतन गराइन्। पिल्स खाएर गर्भ फाल्दा उनलाई धेरै पिडा भयो। महिना दिनसम्म रगत नरोकिएपछि उनलाई अस्पताल जानुपर्यो। अहिले केही विसेक भएको बताउँछिन्।
केही समयअघि यहाँका महिलाहरू गर्भपतन गर्न घरको जडीबुटी र औषधी खान्थे। त्यही कारण भासुकी पार्वती रोकामगरको पाठेघर सडेको थियो। उनको कञ्चनपुरको महेन्द्रनगरमा लागेको स्वास्थ्य शिविरमा पाठेघर काटेर फ्याँक्नु पर्यो।
सुरक्षित गर्भपतनबारे समयै जानकारी नपाउँदा यहाँ किशोरीहरूले पनि समस्या भोग्नुपरेका घटना छन्।
चुरे गाउँपालिका १ की एक किशोरीले अस्थायी साधन प्रयोग गर्न पाइनन्। त्यसबारे उनलाई थाहै थिएन। उनको गर्भ बस्यो। उनलाई बच्चा पाउने मन थिएन। गर्भ बसेपछि उनले कसैलाई यो कुरा सुनाउने आँट गर्न सकिनन्। सुरक्षित गर्भपतनबारे पनि थाहा भएन। उनको गर्भ ७ महिनाको भयो। पेट बढेपछि परिवारले थाहा पाए र बिहे गरिदिए।
किशोरीलाई भने धेरै पढ्ने चाहना थियो। अहिले बिहे गर्न मन थिएन। बेलैमा प्रजजन स्वास्थ्यको जानकारी र सेवा नपाउँदा उनको जिन्दगीको बाटै मोडियो।
गर्भका कारण पढाई छोडेर बिहेको बन्धनमा बाँधिदा आफूलाई धेरै गाह्रो महसुस भएको उनले बताइन्।
'साथिहरू क्याम्पसमा पढ्न गएको देख्छु अनि आफ्नो अवस्था सम्झेर नरमाइलो लाग्छ,' उनले भनिनन्, 'बेलैमा सबै कुरा थाहा पाएको भए पढ्न पाउँथेँ।'
सरकारले असुरक्षित गर्नु गर्भपत गर्नु अपराध मानेको छ। पैसाको अभाव, विकटता, यातायात अभावका कारण अहिले पनि यहाँका महिलाहरूले असुरक्षित गर्भपतन गर्न बाध्य छन्।
यी समस्या देखिन थालेपछि गाउँका किशोरीहरू भने यौन तथा प्रजनन् स्वास्थ्य अधिकारबारे सचेत भएका छन्। कतिपय किशोरीहरूले विभिन्न संघसस्थाको सहयोगमा गाउँमा सुरक्षित गर्भपतनबारे महिला तथा किशोरीहरूलाई सचेतना फैलाउने काम गरिरहेका छन्। भासुकी हिमा रोका मगर पनि सचेतना फैलाउने काम गर्छिन्।
उनी आफूले गाउँमा सुरक्षित गगर्भपतनको बारेमा महिला तथा किशोरीहरूलाई बुझाउने क्रममा धेरै दुखदायी घटनाहरू सुनेको बताउँछिन्।
‘साथिहरू मिलेर सचेतनना जगाउने काम गर्छौं । तीन जना छौं, जलवायु परिवर्तन महिलाको प्रजजन् स्वास्थ्य सम्बन्धी पारेको असर, सुरक्षित गर्भपतनबारे सिकाउँने गर्छाैं,’ उनले भनिन्, 'महिलाहरूले धेरै दु:ख पाएका छन् सरकारले यहाँ राम्रो स्वास्थ्य सेवा दिन जरूरी छ।'
उनका अनुसार सचेत भएकाहरू पनि स्वास्थ्य संस्था नजिक नभएर असुरक्षितरूपले गर्भपतन गराउन बाध्य छन्।
‘हाम्रो आमा, भाउजुहरूले दु:ख पाए अब हामीहरूले दु:ख पाउनु हुँदैन भन्ने आवाज उठाउने गरेका छौं,’ उनले भनिन्, 'आवाज त हामी उठाउँथ्यौँ मान्छेलाई सम्झाउँथ्यौं पनि। सरकारले हाम्रो गाउँसम्म स्वास्थ्य सेवा ल्याइदिए हुन्थ्यो।'