हामीलाई भेदभाव नगर्नुहोस्
अपांगता भएका कारण
आफैंलाई हामीमा राखेर हेर्नुहोस्
कति पीडा छ
हामीसँग केही लुकेका छन्
तपाईं जस्तै प्रतिभा।
प्रकृति भट्टराईलाई यो कविता आफ्नै जीवनको अनुभवले फुराएको हो। उनका दुवै खुट्टा चल्दैनन्। हिँडडुलको स्थायी सहारा ह्विलचेयर हो।
ललितपुर महानगरपालिका कार्यालयको दोस्रो तलामा छ 'महिला शाखा'। प्रकृति त्यही शाखामा कम्प्युटर अपरेटर पदमा काम गर्छिन्।
उनको घर सानेपा हो। बिहान ठीक दस बजे कार्यालय पुग्छिन्। कार्यालय आउन मासिक रूपमा ट्याक्सी भाडामा लिएकी छन्। ट्याक्सी चालकले कार्यालय भवनको गेटसम्म पुग्न मद्दत गर्छन्। गेटको बायाँतर्फ भर्याङ छ, दायाँतर्फ लिफ्ट। उनी लिफ्टबाट आफ्नो कार्यकक्षमा पुग्छिन्।
'यो लिफ्ट कहिलेकाँही बिग्रिन्छ। बिग्रेको छ भन्ने खबर यहाँबाट बेलैमा पाएको दिन म आउँदिनँ,' उनले भनिन्, 'घरैबाट काम गर्छु।'
कोभिड–१९ ले जताततै त्रास फैलिएको कठिन समयमा प्रकृतिले महानगर कार्यालयमा प्रवेश पाएकी हुन्। जागिरका लागि उनले प्रक्रिया सुरू गरेकी थिइन्। एकदिन ललितपुर महानगर कार्यालयबाट फोन गरेर बोलाइयो। अन्तर्वार्ता भयो। कम्प्युटर चलाउन जान्ने अनि अंग्रेजी र नेपाली दुवै भाषामा काम गर्न सक्ने देखिएपछि महानगरमा उनको जागिर पक्का भयो।
सुरूमा उनी कुन शाखामा काम गर्ने भन्ने टुंगो थिएन। जहाँ खाली छ, त्यहीँ पठाउने कुरा रहेछ। उनी सहकारी शाखा पुगिन्। सुरूका चार दिन काम पनि भएन। हाजिर गर्ने, दिनभरि बस्ने र फर्किने मात्रै। अलिअलि काम सुरू हुन लाग्दा उनलाई महिला शाखामा पठाउने कुरा भयो। सर्न इच्छुक हो कि होइन भनेर सोधियो।
त्यो क्षण सम्झिँदै प्रकृतिले भनिन्, 'महिला शाखाका म्यामहरूले पनि मलाई आफ्नो टिममा राख्न चाहनुभएको रहेछ। म निकै उत्साहित भएँ।'
महिला शाखामा काम गर्दा अपांगता भएका आफूजस्ता महिलाका लागि काम गर्न सजिलो हुने ठानिन्। यसरी उनी यहाँकी कम्प्युटर अपरेटर भइन्। उनका अनुसार यो शाखाबाट महिला सशक्तीकरण, अपांगता परिचयपत्र वितरण, समावेशी शिक्षा, महिला अधिकार लगायत काम हुन्छ।
महानगरमा आउनुअघि उनी एउटा निजी संस्थामा काम गर्थिन्। शारीरिक अपांगताका कारण कतिपय कामबाट बञ्चित हुनुपर्थ्यो। सक्ने काम पनि पाउँदिन थिइन्।
'मेरो खुट्टा चल्दैन भन्दैमा हातको काम गर्न नसक्ने होइन नि। तर हामीले क्षमता देखाउन सक्ने काम नै दिइँदैन,' ३८ वर्षीया प्रकृतिले भनिन्, 'अवसर दिनुपर्यो, हामी पनि काम देखाउन सक्छौं।'
प्रकृतिले घरमा भने कहिल्यै विभेद भोग्नुपरेन। उनका बुबा प्रहरी सेवामा थिए, आमा शिक्षक थिइन्। उनी दस महिनाको उमेरदेखि पाँच वर्षसम्म मामाघरमा हुर्किन्। अरू केटाकेटीभन्दा भिन्न देखिएपछि उनका हातखुट्टा नचलेको थाहा भयो।
आमाबुबाले नेपालका धेरै अस्पताल लगे। छेउटुप्पो पत्ता लागेन। अन्ततः भारतको पटना पुर्याए। त्यहाँ डाक्टरहरूले 'सेरेब्रल पाल्सी' नामक रोग भएको निष्कर्ष सुनाए। सेरेब्रल पाल्सी खासगरी बालबालिकामा हुने रोग हो। यसले शरीरको सन्तुलन र विकासमा असर पुर्याउँछ। हाल विश्वभर एक करोड ७० लाख मानिस सेरेब्रल पाल्सीबाट पीडित भएको अनुमान छ।
दस वर्षको हुँदासम्म उनको शारीरिक विकास अत्यन्तै सुस्त रह्यो। उनी टाउको थाम्न, घस्रिन र बस्न नसक्ने थिइन्। नियमित रूपमा फिजियोथेरापी गर्नुपर्थ्यो। फिजियोथेरापी गर्दै जाँदा ह्विलचेयरमा बस्न र टाउको थाम्न सक्ने भइन्। दुवै हात चले।
आमाबुबाले उनी सात वर्षकी हुँदा स्कुल भर्ना गरिदिए। तर केही समयपछि स्कुलले उनलाई पढाउन चाहेन।
'मेरा कारणले अरू विद्यार्थीलाई असहज भयो, उनीहरूको पढाइमा समस्या भयो भने, राख्न मानेनन्,' प्रकृतिले सम्झिइन्।
आमाबुबाले अपांगता भएकी छोरीलाई पढाउने स्कुल भेटेनन्। प्रकृतिको पढाइ रोकियो। बुबा धेरैजसो काठमाडौंबाहिरै हुन्थे। आमा स्कुल जान्थिन्। घरमा सहयोगी भए पनि प्रकृतिको स्याहारमा ध्यान दिँदैन थिए। त्यसैले आमा उनलाई कोठामा बन्द गरेर हिँड्न बाध्य भइन्।
स्कुलबाट निकालिएर कोठामा थुनिनु परेपछि प्रकृतिलाई नराम्रो महशुस हुन थाल्यो।
'स्कुलले नलिनु, मलाई कोठामा बन्द गरेर आमा जानु, दिउँसो स्याहार गर्नुपर्नेले वास्ता नगर्नु! यो संसारमा ममात्रै किन यस्तो भएकी जस्तो लाग्थ्यो। म एकोहोरो भएकी थिएँ,' उनले भनिन्।
उनी बन्द कोठामा झ्यालबाट बाहिर हेरिरहन्थिन्। आफ्नै उमेरका केटाकेटी झोला बोकेर स्कुल जाँदै गरेको देख्थिन्। उनलाई खुब रून मन लाग्थ्यो। आमाले के भयो भनेर सोध्दा केही भन्थिनन्।
केही समयपछि भने उनको दुखाइमा मलम लाग्यो। सेल्फ हेल्प ग्रुप फर सेरेब्रल पाल्सी (एसजिसिपी) नामको एउटा संस्थामा उनले पढ्ने अवसर पाइन्। यो संस्थाले सेरेब्रल पाल्सी भएका बालबालिकाको औपचारिक शिक्षाका लागि काम गर्थ्यो। संस्थाका सञ्चालक बटुकप्रसाद भण्डारी उनका बारेमा थाहा पाएर लिन घरै आएका थिए।
'बटुक सर मलाई खोज्दै घरै आउनुभएको थियो। उहाँले सबै कुरा भनेपछि मैले त्यही संस्थामा पढ्न पाएँ,' प्रकृतिले भनिन्।
त्यसपछि उनको आत्मबल बढ्दै गयो। सकारात्मक सोचाइ आउन थाल्यो। एसजिसिपीले पढ्न सक्ने र नसक्ने छानेर पढ्न नसक्नेलाई सिपमूलक तालिम दिन्थ्यो। उनले त्यहाँ चार कक्षासम्म पढिन्। यसपछि सिलाइबुनाइ र माला बनाउन सिकिन्। पढाइ अगाडि नबढे पनि सिकाइ रोकिएन। कम्प्युटर तालिम पाइन्।
'अहिले त ग्राफिक डिजाइन पनि गर्छु,' उनी भन्छिन्।
हुर्किँदै जाँदा उनले अपांगताका कारण विभेद र अपमान अनुभव गरेकी छन्।
उनले एउटा घटना सुनाइन्। उनी संलग्न संस्थाबाट पिकनिक जाने कार्यक्रम थियो। उनीसँगै अपांगता भएका केही बालबालिका थिए। पिकनिक स्थलमा भेटिएकी एक महिलाले 'पूर्वजन्मको पापको फल' भनिन्। दया देखाउन खोजेजस्तो गरिन्।
यो घटनाले उनलाई आज पनि भित्र कतै बिझाउँछ।
'मानिसहरू अपांगतालाई किन पूर्वजन्मको पाप भन्छन्?' यो प्रश्नले उनलाई चिमोटिरहन्छ।
एसजिसिपीमा उनी १२ वर्ष बसिन्। बीस वर्ष उमेर भएपछि बस्न नपाउने प्रावधान थियो। संस्था छाडेपछि ललितपुरको कुमारीपाटीस्थित एक मन्टेश्वरी स्कुलमा रिसेप्सनिस्टका रूपमा काम गरिन्। यहीँबाट उनलाई 'म पनि गर्न सक्छु' भन्ने अनुभव भयो।
उनले फेरि स्कुल गएर पढ्ने अठोट गरिन्। ठूलीआमाको कपनस्थित घरमा बसेर एउटा स्कुलमा आठ कक्षासम्म पढिन्। यसरी स्कुल जानु सहज थिएन। विभेद पनि महशुस भयो। यसपछि घरमै पढ्ने गरी काठमाडौंको विश्वनिकेतन माध्यमिक विद्यालयमा कक्षा ९ मा भर्ना भइन्। त्यहीँबाट एसएलसी उत्तीर्ण गरिन्। प्रकृतिको उच्च शिक्षा पढ्ने धोको बाँकी नै छ।
केही समयपछि उनले एउटा जर्मन प्रोजेक्ट अन्तर्गत अपांगता भएका बालबालिकालाई पढाउने काम पाइन्।
'जर्मन प्रोजेक्टमा बालबालिकालाई पढाउनु निकै रमाइलो काम थियो। लगातार नौ वर्ष पढाएँ,' त्यो कालखण्ड सम्झिँदै उनले भनिन्, 'मेरो मेहनतले आमाबुबा पनि खुसी हुनुहुन्थ्यो।'
हरेक वर्ष अक्टोबर ६ मा विश्व सेरेब्रल पाल्सी दिवस मनाइन्छ। प्रकृतिले सन् २०१८ को दिवसमा 'व्यक्तिगत रोजगार तथा उद्यमशीलता' शीर्षकमा पुरस्कार पाइन्। त्यो क्षण उनका लागि निकै खुसी र उत्साहको थियो।
'पहिलोपटक पुरस्कृत हुँदा म धेरै खुसी भएँ। आमा, बुबा र भाइ पनि धेरै खुसी हुनुभयो,' उनले भनिन्, 'पुरस्कार लिन जाँदा मसँग बुबा पनि जानुभएको थियो। उहाँ खुसीले रूनुभयो।'
यसपछि प्रकृतिले 'समावेशी पाठ्यक्रम' विषयमा तीन महिनाको तालिम लिन पाइन्। यसमा अपांगता, समावेशी शिक्षा, बहुबुद्धिमत्ता आदि विषयमा धेरै कुरा सिकिन्। भारतका केही विद्यालय भ्रमण गर्ने मौका पनि मिल्यो।
'अंग्रेजी भाषा सिक्न पाएँ। रिस र तनाव व्यवस्थापन गर्ने क्षमता बढ्यो,' तालिमको उपलब्धिबारे उनले भनिन्, ' रचनात्मक काममा म सक्षम छु भन्ने भाव बढ्न थाल्यो।'
अपांगता हुनु कसैको रहर होइन, तर यही कारण उनीसँग धेरै तीता अनुभव छन्। परिस्थिति जेसुकै भए पनि उनले हार भने मानिनन्। आँट र आत्मविश्वास गुमाइनन्। जीवनका अनेक अनुभवले उनलाई पखेटा हालेर उडान भर्न सिकाएका छन्।
अचेल सार्वजनिक भौतिक संरचना पनि अपांगताअनुकूल बन्न थालेका छन्। अपांगता भएका व्यक्तिहरूले रोजगारीमा अवसर पाउन थालेका छन्, उद्यमशीलता बढेको छ। यी पक्षले उनमा खुसी सञ्चार गर्छन्।
अपांगता भएका आफू जस्ता व्यक्तिहरूलाई उनको सुझाव छ– आफूलाई अशक्त नठान्नू, हामीलाई अशक्त त समाजले बनाइदिन्छ। काम गर्न सक्छु भन्ने आत्मविश्वास बढाउनुहोस् र अवसरको खोजी गर्नुहोस्, अवश्य सफल हुनुहुनेछ।
ललितपुर महानगर कार्यालयमा सेवाग्राहीका लागि पनि उनी प्रेरणास्रोत बनेकी छन्। सेवाग्राहीहरू उनका ऊर्जास्रोत भएका छन्।
भन्छिन्, 'परिचयपत्र बनाउन आउनेहरू मलाई देखेर खुसी हुन्छन्। तपाईंलाई देखेर हाम्रो हौसला बढ्छ भन्छन्। यस्तो कुराले मभित्र ऊर्जा बढाइदिन्छ।'
उनी चाहन्छिन्– अपांगता भएका व्यक्तिप्रति समाजमा व्याप्त बेथिति र नकारात्मक दृष्टिकोण बदल्न सकूँ, यस्तो व्यक्ति पूर्वजन्मको पाप भोगेको विचरा होइन भन्ने तथ्य स्थापित गर्न सकूँ।
'महानगर कार्यालयमा मैले विचरा ठानेको अनुभव गर्नुपरेको छैन। सहयोग चाहिने ठाउँमा पाएकी छु,' उनी भन्छिन्, 'सम्मानको व्यवहार अनुभव गरेकी छु। जिम्मेवारी निर्वाहको सिलसिलामा म आफू अपांगता भएकी व्यक्ति हुँ भन्ने पनि बिर्सिन थालेकी छु।'
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी