बुधबार बिहान धनगढी उपमहानगरपालिकाको कार्यालय अगाडि विद्यार्थीको एक हुल थियो। धनगढी नमूना माध्यमिक विद्यालय कक्षा ८ का विद्यार्थीहरू आफूलाई फेल गराइएको विरोध गर्न त्यहाँ पुगेका थिए। उनीहरूले उपमहानगरपालिकाको गेटनेर चर्को घाममा बसेर दुई घन्टा धर्ना दिएका थिए।
चैत्र ५ गतेदेखि सुरु भएको परीक्षा १३ गते सकिएको थियो।। कक्षा ८ को परीक्षा धेरैजसो स्थानीय तहले पालिकास्तरीय गर्छन्। धनगढीले वैशाख ३ गते सो परीक्षाको नतिजा सार्वजनिक गरेको थियो।
विद्यार्थी तृप्ति पन्तले आफूले नसोचेको नतिजा आएको बताइन्। उनले फेल भएका विषयको उत्तरपुस्तिका आफूलाई हेर्न दिनुपर्ने बताइन्।
‘कपी फेरि रिचेक गर्नुपर्यो, साँच्चै बिग्रिएकै रहेछ भने म कक्षा ८ मै पढ्न तयार छु,’ उनले भनिन्।
अर्की विद्यार्थी लीला खड्काले पनि आफू फेल भएका विषयको उत्तरपुस्तिकाको पुनर्योग वा आफूले हेर्न पाउनुपर्ने बताइन्।
‘मलाई योभन्दा अगाडि एक पनि विषय लागेन, बोर्डिङका धेरै पास भए हामी त पैसा दिन सक्दैनौं, हामीले चार टाइम ट्युसन, एक वर्ष स्कुलमा पढेर गरेको मेहनत खेर गयो,’ उनले भनिन्।
धर्नामा आएका धेरैजसो विद्यार्थीहरूको यस्तै भनाइ थियो।
धनगढी उपमहानगरपालिकाभित्र रहेका १७ वटा सामुदायिक एक निजी विद्यालयका एक जना विद्यार्थी पनि उत्तीर्ण भएनन्।
एउटा निजी विद्यालयको नतिजा पनि यस्तै छ। यस्तो अवस्था आएपछि अहिले कहिले शिक्षक, कहिले विद्यार्थी, कहिले अभिभावकहरू उपमहानगरपालिकामा मेयर र शिक्षा शाखाका प्रमुखलाई भेट्न आइरहेका छन्।
धनगढी-१० मा रहेको जनकल्याण माविका प्रधानाध्यापक तर्कराज जोशीका अनुसार उक्त विद्यालय २०१६ सालमा स्थापना भएको हो। अहिले त्यहाँ कक्षा १२ सम्म पढाइ भइरहेको छ। योभन्दा अगाडि यस विद्यालयमा कक्षा ८ को नतिजा कहिल्यै पनि शून्य आएको थिएन।
‘कक्षा ८ को रिजल्टअनुसार हेर्ने हो भने निमावि तहका शिक्षकहरूको अवस्थालाई हेर्नुपर्ने हुन्छ। मेरो विद्यालयमा गणित शिक्षक छैनन्, सामाजिक पढाउने शिक्षक चाहिने भन्दा बढी छन्, अंग्रेजीका शिक्षक छैनन्, विज्ञानको पनि छैनन् यस्तो अवस्थामा विद्यालय गुज्रिएको छ,’ उनले भने।
विद्यालयमा ९ शिक्षकको दरबन्दी छ। निजी स्रोतबाट ३ जना शिक्षक छन्।
उनका अनुसार शिक्षकको माग गरे सामाजिक शिक्षक पठाउने गरिन्छ। विषयगत शिक्षक अभाव भइरहेको अवस्थामा विद्यालयले आफैंले निजी स्रोतबाट व्यवस्थापन गरेर काम चलाइरहेको छ। केही विद्यार्थीहरूले पुस्तक समयमै नपाउँदा पनि नतिजा यसपट शून्य भएको जोशीको भनाइ छ।
‘केहीले त मंसिरसम्म पुस्तक पाएनन्, चैतमा परिक्षा भयो,’ उनले भने।
उनको विद्यालयका विद्यार्थी अनिर्वाय विषयभन्दा ऐच्छिक विषयमा बढी फेल भएका छन्।
सार्वजनिक भएको कक्षा ८को नतिजा ननग्रेडड सिस्टममा नभई जिपिए सिस्टमबाट हुनुपर्ने उनले माग गरे।
‘पोहोर सालको एसइई पनि जिपिए स्टिमबाट लागु भएको थियो, कक्षा ८ मा पनि त्यही हुनुपर्यो भन्ने हाम्रो माग हो,’ उनले भने।
उनले दुई वर्षअघि कोभिडका कारण परीक्षा नै नगरेर विद्यार्थीलाई पास गराइएकोले तल्लो तहका कक्षाको पढाइ बिग्रिए र ८ कक्षामा मात्र कडाइ गर्दा नतिजा शून्य आएको बताए।
धनगढी-१८ को इन्द्रोदय आधारभूत विद्यालयको कक्षा ८ को नतिजा पनि शून्य आएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धुव्रबहादुर अधिकारीले नतिजा शून्य आउनुमा शिक्षकको लापरबाही पनि प्रमुख कारण रहेको बताए।
‘८ को परीक्षामा कडाइ हुनसक्छ भनेर हामीले शिक्षकहरूलाई पहिले नै भनेका थियौं तर निगरानी भएन। शिक्षकहरूले लापरबाही गरे, त्योसँगै सरकारी स्कुलमा शिक्षक पर्याप्त छैनन्, निजी स्रोतबाट शिक्षकलाई काम गराउन पनि समस्या छ,’ उनले भने।
धनगढी उपमहानगरपालिकाका केही विद्यालयबाट कक्षा ८ मा शून्य विद्यार्थी पास भएको कुरा संघीय ससंदसम्म पुगेको छ।
बुधबार नेपाली कांग्रेसकी सासंद आरूजु राणा देउवाले धनगढीमा १७ सामुदायिक विद्यालयको नतिजा शून्य आउनु निरासाजनक रहेको बताइन्।
‘हाम्रो देशको विश्वविद्यालयमा पनि विद्यार्थी भर्ना संख्या कम हुँदै जानु पनि राम्रो लक्षण होइन,’ उनले भनिन्।
सासंद राणाले लगानीअनुसार प्रतिफल नमिल्नु पनि अर्को निरासाजनक कुरा रहेको बताइन्।
उनले शिक्षा क्षेत्रलाई सुधार गर्न तथा सुशासन अभिवृद्धिका लागि नेपाल सरकार ध्यानार्कषण गराइन्।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले शिक्षा क्षेत्रको वास्तविक अवस्था यो नतिजाले देखाएको बताए।
जबरजस्ती विद्यार्थी पास गराउने प्रवृत्तिले शिक्षाको गुणस्तर राम्रो हुन नसक्ने उनको भनाइ छ। उनले अहिले कलिलैमा ज्ञान हासिल नगरेर माथिल्ला कक्षा गएका विद्यार्थीहरू भविष्यमा १०, ११, १२ कक्षामा फेल भए पढाइ छोड्ने अवस्थामा पुग्ने जोखिम भएर सुधार गर्न खोजिएको बताए।
कक्षा ८ को परीक्षामा धनगढी उपमहानगरपालिकाका १ सय ६ विद्यालय सहभागी भएका थिए। ७ विद्यालय भने विद्यार्थी नभएको भन्दै परीक्षामा सहभागी भएनन्।