वातावरण संरक्षणमा क्रियाशील शिक्षक तथा विद्यार्थीहरूको सम्मेलनले जैविक विविधता र पर्यावरण संरक्षणका लागि इको क्लबलाई थप प्रभावकारी बनाउनुपर्ने निचोड निकालेको छ।
पृथ्वी दिवसको अवसर पारेर विद्यालय वातावरण संरक्षण शिक्षा सञ्जाल (सेन्स) नेपालले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सहयोगमा शनिबार चितवनको सौराहामा इको क्लब सम्मेलन गरेको थियो। यो सम्मेलनमा १४ वटा जिल्लामा विद्यालयहरूमा रहेका इको क्लबमा आवद्ध विद्यार्थी तथा शिक्षकहरू सहभागी थिए।
सेन्स नेपालका केन्द्रीय अध्यक्ष दिनेशचन्द्र गौतमले विद्यार्थीमार्फत परिवार हुँदै समुदायलाई संरक्षणमा प्रेरित गर्न इको क्लबको औचित्य थप बढेको बताए।
'विद्यार्थीलाई पर्यावरण, प्राकृतिक स्रोत, साधन र यीसँगको सह–सम्बन्धबारे जानकारी गराउन र वन्यजन्तुको महत्वबारे सिकाउन सकियो भने उनीहरूमार्फत यो कुरा परिवारमा पुग्छ। त्यसले समाजलाई जैविक विविधताबारे सिकाउँछ,' गौतमले भने, 'प्रकृतिसँगको खेलवाड बढ्दै जाँदा विपदहरू आइरहेका छन्। विपदसँग जुध्न क्षमता र सीप चाहिन्छ। यसका लागि बालबालिकालाई समयमै सिकाउनुपर्छ। हामीले त्यही गरिरहेका छौं।'
विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरूङ जैविक विविधतामाथि चुनौती बढ्दै जाँदा यसको संरक्षणमा विद्यार्थीको भूमिका बढाउँदै लैजानुपर्ने बताउँछन्।
'मान्छेको कारण बागमती प्रदूषण भयो। बेलैमा ध्यान नदिने हो भने राप्ती, बुढी राप्ती, नारायणी पनि त्यस्तै बन्छ,' डा. गुरूङ भन्छन्, 'नदी, खोला फोहोर फाल्ने ठाउँ होइन। यहाँ फोहोर फाल्यो भने धेरै प्राणीको अस्तित्व संकटमा पर्छ। यसले पर्यावरणमा असर पार्छ भनेर बालबालिकाले समुदायमा कुरा पुर्याउन सक्छन्।'
लामो बैंकिङ करिअरपछि युवाको नेतृत्व विकासमा क्रियाशील अनिल केशरी शाहले पृथ्वीको स्वास्थ्यमा परिरहेको असरलाई सुधार गर्न सबैले भूमिका आवश्यक पर्ने बताए। विद्यालयमा अध्ययन गर्ने बालबालिका सहभागी हुने इको क्लबले पृथ्वीलाई जोगाइराख्न काम गर्न सक्ने उनले बताए।
'पृथ्वीको अवस्था खलबलिरहेकाले यसको सुधारका लागि विद्यार्थीमार्फत समुदायलाई सचेत बनाउने अभियान निकै प्रभावकारी हुन्छ,' उनले भने, 'यो अभियानले पृथ्वीलाई माया गर्न सिकाउँछ।'
विद्यालय पाठ्यक्रममा वातावरण संरक्षण शिक्षालाई प्रभावकारी बनाउन शिक्षा मन्त्रालयले २०७५ कात्तिक १५ गते हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका जारी गरेको थियो। मन्त्रालयका सह–सचिव दीपक शर्माले निर्देशिका जारी भएर केही ठाउँमा लागू भए पनि कोरोना महामारीका कारण पूर्ण कार्यान्वयन हुन नसकेको बताए। सौराहा भेलाले यसको कार्यान्वयनका लागि नेपाल सरकारलाई दबाब पनि दिएको छ।
विद्यालय पाठ्यक्रममा गत वर्षसम्म माध्यमिक तहसम्म स्वास्थ्य, जनसंख्या तथा वातावरण विषय अनिवार्य थियो। तर अहिले यो विषयलाई हटाइएको छ। सामाजिक विषयको पुस्तकमा वातावरणबारे सामान्य विषय मात्रै समावेश छ।
सेन्स नेपालका सचिव वासुदेव भट्टराईले जैविक विविधतामाथि चुनौती बढ्दै जाँदा यो विषय नै हटाउँदा संरक्षणमा असर पर्न सक्ने बताए।
'१४ जिल्लाका राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, राष्ट्रिय वन, सिमसार, तालहरू आसपासमा रहेका विद्यालयहरूमा सेन्स नेपाल र इको क्लबले वातावरण संरक्षणका लागि प्रयास गरिरहेको छ। तर सबैतिर यो प्राथमिकतामा परेको छैन,' उनले भने, 'हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका कार्यान्वयन भए त्यसमार्फत बजेट आउने र कार्यक्रम प्रभावकारी हुने थियो।'
सम्मेलनमा बागमती, मधेस र लुम्बिनी प्रदेशको शिक्षा मन्त्रालयका प्रतिनिधिहरू पनि सहभागी थिए। कार्यक्रममा उत्कृष्ट इको क्लब र वातावरण संरक्षणका लागि उत्कृष्ट सृजना गर्ने इको क्लबहरूलाई सम्मान गरिएको थियो।
नेपालमा अहिले १४ जिल्लाका ५३२ वटा विद्यालयमा इको क्लबहरू छन्। ती क्लबमा ३ लाख ५० हजार बढी विद्यार्थीहरू संलग्न रहेको उपाध्यक्ष पुष्पराज मरहट्टाले बताए।
करिब तीन दशकअघि बर्दियाको जगदम्बा माविमा पहिलो इको क्लब गठन भएको थियो। उक्त क्लबका अध्यक्ष दिपेन्द्र बडुवाल थिए। संस्थापक अध्यक्ष बडुवालले क्लबले आफूलाई संरक्षणमा लाग्न प्रेरणा दिनुको साथै नेतृत्व विकासमा पनि सघाएको बताए। उनी अहिले कान्तिपुर दैनिकको लुम्बिनी प्रदेश व्युरोका प्रमुख छन्।
सेन्स नेपाल चितवनका अध्यक्ष भिमलाल आचार्यले देशमा राजनीतिक, सामाजिक परिवर्तन मात्रै नभएर संरक्षण पनि महत्वपूर्ण रहेकाले यसमा विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै आएको बताए। चितवनको चित्रशेन माविका शिक्षक आचार्यले संरक्षण शिक्षाले मध्यवर्ती क्षेत्र नजिक बस्ने समुदायको चेतनाको स्तर विकासमा धेरै सघाएको बताए।
'पहिले विद्यार्थी विद्यालय जाँदा हातमा गुलेली पनि हुन्थ्यो। खोलामा विष हालेर माछा मार्ने चलन थियो। अहिले यस्तो असाध्यै कम देखिन्छ,' उनले भने, 'अभिभावकले उनका छोराछोरीले भनेको सजिलै मान्ने रहेछन्। अरूबाट भन्दा विद्यार्थीमार्फत कुरा पुर्याउन सजिलो हुने रहेछ।'