दुर्घटनाले कहिलेकाहीँ जिन्दगीको बाटो फेरिदिन्छ। यो कुरा धनकुटाका उदयबहादुर लिम्बूलाई जति अरू कसलाई थाहा होला र!
२०२४ सालमा धनकुटाको महालक्ष्मीमा जन्मिएका उदयबहादुर बाल्यकाल सामान्य रूपमै बित्यो। गाउँमा छोरामान्छे लाहुरे हुने चलन थियो। उदयबहादुरले पनि ब्रिटिस आर्मीमा नापिन जाने सोचेका थिए।
लाहुरे हुन धेरै पढ्नु पर्दैन भनेर उनले सात कक्षापछि पढाइ छोडेका थिए। पढाइभन्दा उनको ध्यान लाहुरेको तालिममा थियो।
त्यति बेला लाहुर हुन उति साह्रो मुस्किल थिएन। गाउँबाट लाहुर गएकाहरू बेलायती आर्मीका मान्छे ल्याएर आउँथे। गाउँका युवालाई भेला पारेर सक्षम व्यक्तिलाई छनोट गरेर दुई-तीन महिना तालिम दिइन्थ्यो। त्यसमा उदयबहादुर पनि सहभागी भए।
'कुनै रोग नलागेका र दौडिन सक्ने व्यक्ति छनोट भइहाल्थे,' उनले भने।
ब्रिटिस आर्मीको तालिममा पास भएर उनी जागिर सुरू गर्ने तयारीमा थिए। २०४५ भदौ ५ गते बिहान आएको भूकम्पले उनको जिन्दगीको बाटो फेरिदियो, एउटा सपना चुँडिदियो।
भूकम्प आएका बेला उनी घरको माथिल्लो तलामा थिए। घर हल्लिन थालेपछि त्यहीँबाट हाम फाले। हामफाल्दा उनको एउटा खुट्टा काठको मुढामा पर्यो। खुट्टाको सन्तुलन नमिल्दा उनको एउटा खुट्टा भाँचियो।
खुट्टा भाँचिएपछि उनलाई ब्रिटिस आर्मीले नै उपचार गरिदियो। एउटा खुट्टा काटेर फाल्नुपर्ने भएपछि जागिर भने पाएनन्।
खुट्टा गुमाएपछि परिवारबाट एकाएक सहानुभूति मात्र पाए। उनलाई गाउँका उकाली-ओराली हिँड्न गाह्रो भयो। त्यसपछि उनी धरान झरे। त्यहाँ उनले ब्रिटिस आर्मीको सहयोगमा कृत्रिम खुट्टा हाल्न पाए।
कृत्रिम खुट्टा हालेर हिँडडुल गर्न सहज भयो तर समाजले गर्ने व्यवहारमा फरक पाउन थाले। उनलाई गाउँमा विभिन्न नामले बोलाइन्थ्यो। जुन नाम उनी अहिले सम्झिन चाहँदैनन्।
'परिवार, आफन्त आएर हिम्मत होइन। दु:ख पाइस् भनेर सुनाउँथे। त्यसकारण घरमा बस्न नसकेर ०५२ सालमा काठमाडौं आएँ,' उनले भने, 'अरू ठाउँमा अपांगता भएका व्यक्ति छन् कि छैनन् भनेर बुझ्न काठमाडौं आएको थिएँ।'
उनलाई काठमाडौं आउन परिवारले रोकेको थियो। उनी जिद्दी गरेर आए।
काठमाडौंमा सबैभन्दा पहिला उनी पशुपतिनाथ मन्दिर पुगे। त्यहाँ विभिन्न किसिमका शारीरिक अपांगता भएका मान्छे माग्न बसेका थिए। त्यो दृश्यले उदयबहादुरको मन चिसो भयो। उनले आफू भने यसरी माग्न नबस्ने, केही न केही काम गरेर खाने निश्चय गरे।
बौद्धमा उनकी फुपूको घर थियो। उनी त्यही बस्न थाले। त्यहाँ उनले गलैंचा बुन्ने काम पाए। त्यो कामले उनलाई पेट पाल्न अरूको भरोसमा बस्नु परेन।
'भिक मागेर कहिले खाँदिनँ भन्ने थियो, त्यसैले काम गर्न हिम्मत मिल्यो,' उनले भने।
गलैंचा कारखानामा काम गर्ने क्रममा उनको भेट पूर्वसभामुख दमननाथ ढुंगानासँग भयो। उनीसँगको भेटले लिम्बूको जिन्दगीमा नयाँ मोड लियो। उनले समाजको दुर्व्यवहार चिरेर अगाडि बढ्नुपर्छ भन्ने हिम्मत दिए।
ढुंगानाबाट उदयबहादुरले अपांगता भएका व्यक्तिका लागि केही गर्ने हिम्मत पाए। उनले सडकमा मागेर बसेका व्यक्तिलाई सहारा दिएर सक्षम बनाउने योजना बनाए।
०५२ सालमा उनले मागेर बस्ने बालबालिकालाई सीप सिकाउन थाले। सडकमा मागेर बसेका अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर हुन सिकाए।
'सीपमूलक तालिम दिएँ। तालिम मात्र दिएर नपुग्ने भएपछि शिक्षा दिन जोड गरेँ,' लिम्बूले भने।
०५९ वैशाख २३ गते उनले अपांग पुनर्स्थापना केन्द्र नेपाल नामको संस्था खोले। त्यति बेला उनका साथीभाइले संस्था खेल्न साथ दिए। पाँच जना अपांगता भएका सडक बालबालिकालाई उद्धार गरेर पढाउन सुरू गरे।
अहिले उदयबहादुर अपांगता भएका व्यक्तिका सहारा बनेका छन्। अपांग पुनर्स्थापना केन्द्रमा ४१ जना छन्।
तिनैमध्येका हुन्, बाग्लुङ निसीखोलाका हर्कमान मगर।
हर्कमानको ८ वर्षसम्मको बाल्यकाल राम्रै थियो। उनले पनि साथीभाइ, परिवारबाट माया पाएका थिए। तर, त्यही माया सधैं पाइरहन सकेनन्। एकछिनको दुर्घटनाले उनको खुसीमा ग्रहण लाग्यो।
एकदिन उनी साथीहरूसँग घर नजिकैको बारीमा खेल्दै थिए। खेल्दा-खेल्दै ढलिरहेको विद्युतीय तारको पोल छुन पुगे। विद्युतीय तारलाई छोएका कारण उनका दुबै हात गुम्यो। त्यसपछि उनका परिवार, आफन्ती र साथीभाइले गर्ने व्यवहार फेरियो।
सबैको मायामा हुर्किएका हर्कमान दुबै हात गुमाउनसाथ परिवारका लागि बोझ बन्न पुगे। परिवारले साथ, सहयोग दिनुको सट्टा घरबाट टाढा राख्नतर्फ खोजे। उनी परिवारका सदस्य नभई दयाको पात्र बने। आफन्त आफ्नो कर्तव्यबाट भाग्न खोजे। परिवारले पन्छाउन खेज्दा आफन्तीको सहयोगमा हर्कमान काठमाडौं आइपुगे।
०७२ सालमा उनका दाजु पर्नेले हर्कमानलाई काठमाडौं ल्याइदिएका हुन्। ८ वर्षदेखि उनी गोकर्णश्वर नगरपालिका-४ मा बस्छन्। उनलाई हेरचाह गर्ने र अध्ययनमा सहयोग पुर्याउने जिम्मा अपांग पुनर्स्थापना केन्द्रले लिएको छ।
हर्कमान १७ वर्षका भए। गोकर्णकै एउटा निजी स्कुलमा १० कक्षामा पढ्छन्। दुबै हात गुमाए पनि उनले हिम्मत हारेका छैनन्। पछि समाज सेवा गर्ने रहर पूरा गर्न पढिरहेका छन्।
अरू विद्यार्थीजस्तो उनी हातले लेख्न सक्दैनन् तर अरू विद्यार्थीभन्दा उनी कम पनि छैनन्। उनी मुखले कलम च्यापेर लेख्छन्। मुखमा थुक भरिँदा खुट्टाका औंला प्रयोग गर्छन्। उनले यसरी लेख्न थालेको ८ वर्ष भयो।
'यहाँ आफूजस्तै साथीभाइ भएकाले अपमानित हुनु परेको छैन,' हर्कमानले भने, 'यहाँ बस्न, पढ्न पाउँदा खुसी लागेको छ।'
हर्कमानको जस्तै कथा छ सिन्धुपाल्चोककी साइँली तामाङको।
४/५ वर्षकै उमेरमा आगोमा परेर एउटा खुट्टा गुमाएपछि उनलाई परिवारले हेला गर्न थाले।
उनले अपांगता भएकै कारण परिवारसँग बस्न पाइनन्। दुई वर्षअघि गाउँपालिकाका अध्यक्षको सहयोगमा उनी अपांग पुनर्स्थापना केन्द्र आइपुगिन्।
सुरूमा आउँदा उनलाई तामाङ भाषा मात्र बोल्न आउँथ्यो। आफ्नो व्यक्तिगत सरसफाइ पनि गर्न सक्थिनन्।
केन्द्र आएपछि उनले कृतिम खुट्टा पाइन्। त्यो कृत्रिम खुट्टाले उनलाई नयाँ जीवन नै पाएझैं खुसी थपिदिएको छ।
' यो खुट्टा लगाएपछि नयाँ जीवन पाएको महसुस गरेकी छु,' साइँलीले भनिन्।
१२ वर्षकी साइँली अहिले गोकर्णश्वरको खगेन्द्र स्कुलमा ४ कक्षामा पढ्छिन्। उनले नेपाली भाषा बोल्न सिकेकी छन्, पढाइसँगै अतिरिक्त क्रियाकलापमा सक्रिय छन्।
हर्कमान र साइँलीका लागि अपांगता केन्द्र धुलोबाट फेरि उठेर जिन्दगी बाँच्ने सहारा बनेको छ। यहाँ आएपछि उनीहरूको अवस्था फेरिएको छ, नयाँ सपना देख्न थालेका छन्।
उनीहरूको सपनामा उदयबहादुर आफ्नो सन्तुष्टि देख्छन्। कुनैबेला दुर्घटनाले जिन्दगीको यात्रा बदलिदिएपछि निराश बनेका उनी अहिले शारिरीक अपांगता भएका नयाँ मान्छेलाई हौसला र साथ दिइरहेका छन्।
शारीरिक अपांगता भएका मान्छेका लागि घरबाट बाहिर निस्कन नै कति संघर्ष गर्नुपर्छ भन्ने उदयबहादुरलाई राम्ररी थाहा छ।
'दुर्व्यवहार सहन नसकेर बाहिर हिँडडुल गर्न रूचाउँदैनन्,' उदयबहादुर भन्छन्, 'अपांगता भएका व्यक्ति बाहिर हिँडडुल गर्नसक्नु नै पहिलो जित हो।'
परिवारसँगै बस्न सबैलाई मन पर्छ। अपांगता भएकाहरूलाई कुनै पनि परिवारले हेलाहोचो नगरेर आफैंसँग राखेको भए हुन्थ्योजस्तो उनलाई लाग्छ।
त्यसरी परिवारबाट माया नपाएकाहरूलाई उनीहरूले पाउन नसकेको माया दने जमर्को आफूले अपांग पुनर्स्थापना केन्द्रबाट गरिरहेको उदयबहादुर बताउँछन्।
अनुकूल वातावरण पाए अपांगता भएका व्यक्तिले पनि अरूजस्तै काम गर्न सक्ने उनको विश्वास छ।
केन्द्रमा अहिले अपांगता भएका १८ जना र अभिभावक नभएका १३ जना बालबालिका छन्।
'अपांगता भएका व्यक्तिमा कसैको हात छैन। कसैको खुट्टा छैन,' उदयबहादुरले भने।
तिनीहरूमध्ये धेरैजसोलाई उनले कृत्रिम हातखुट्टा जडान गरिदिएका छन्।
'अपांगता भएका व्यक्तिलाई मानव नै होइनजस्तै व्यवहार गरिन्छ,' उदयबहादुरले भने, 'अपांगता भएका व्यक्ति र अनाथ बालबालिकालाई सँगै राखेको छु। एक अर्काको भावना बुझ्न सहयोग पुग्ने भएकाले राखेको हुँ।'
केन्द्रमा अपांगता भएका र नभएका व्यक्तिलाई सँगै राखिएको छ।
'दुवै अवस्थाका बालबालिकाले एक अर्कोलाई हेरेर सिकून् भनेर सँगै राखेको,' उदयबहादुरले भने, 'अनाथ बालबालिका पहिला अपांगता भएका बालबालिकासँग बोल्न लजाउँथे, अहिले सहयोग गर्छन्।'
सबै तस्बिरहरू: नवीनबाबु गुरूङ/सेतोपाटी।