तपाईंहरूले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जीवनी पढ्नुभएको छ भने उनीसँग जोडिएका एक घाँसीबारे सुन्नुभएकै होला।
उनको नाउँ हामीलाई थाहा छैन, तर भानुभक्तलाई आदिकवि भानुभक्त बनाउनमा ती घाँसीको ठूलो प्रेरणा थियो भनेर भनिन्छ।
कथाअनुसार एकदिन भानुभक्त ससुराली जाँदै गर्दा बाटोमा घाँसीसँग भेट भएछ। उनले दिनभरि काटेको घाँस बेचेर कुवा खनाएको र सानै भए पनि कीर्ति राखेको सगर्व सुनाए। त्यति बेलासम्म भानुभक्तले आफ्नो जीवनको उद्देश्य भेटिसकेका थिएनन्। घाँसीको कुरा सुनेपछि उनको आँखा खुल्यो। घाँस काटेर जीविकोपार्जन गर्ने गरिब व्यक्तिले त सर्वसाधारणको हितमा काम गरेर कीर्ति राखे भने आफू शिक्षित र सम्पन्न भएर पनि कीर्ति राख्ने काम नगरेकामा भानुभक्तलाई थकथकी भयो।
घाँसीसँगको भेट र उनीबाट पाएको प्रेरणालाई भानुभक्तले आफ्नो 'घाँसी' शीर्षकको कवितामा यसरी व्याख्या गरेका छन्-
भर् जन्म घाँसतिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो।
मेरा इनार न त सत्तल पाटिकै छन्
जे धन चिजहरु छन् घर भित्र नै छन्।
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि कीर्ति।
यसरी भानुभक्तलाई कीर्ति राख्ने काममा लाग्नू भनी अर्ती दिएका घाँसी स्वयंले आफ्नो कीर्ति राख्न बनाएको भनिने कुवाको आज के हाल छ त?
पृथ्वी राजमार्ग हुँदै पोखरा जाँदा तनहुँको सदरमुकाम दमौली पुग्नुभन्दा झन्डै दुई किलोमिटरअगाडि घाँसीकुवा भन्ने ठाउँ आउँछ। त्यही ठाउँमा पहिले राजमार्गकै छेउ एउटा कुवा थियो। यात्रुहरू त्यहाँ रोकिएर घाँसीले खनेको भनिने कुवाबाट मूलको चिसो पानी पिउँथे। घाँसीकुवा हुँदै तनहुँका ग्रामीण भेगसम्म हिँडेर यात्रा गर्नेहरूका लागि त यो कुवाको पानी पिउनु अनिवार्यजस्तै थियो।
सुरूमा यो ठाउँमा कुवाबाहेक बस्ती केही थिएन। बिस्तारै घाँसीकुवाकै लोकप्रियताका कारण राजमार्ग आसपास स-साना टहरा बने। चिया पसलहरू खुले। भानु र घाँसीको सम्झनामा पार्क पनि बनाइयो।
अहिले स्थिति फरक छ।
अब तपाईं काठमाडौं–पोखरा यात्रा गर्दै हुनुहुन्छ भने घाँसीकुवा भन्ने ठाउँ त भेट्नुहुन्छ, तर कुवा 'मिस' हुनेछ।
जुन कुवामा यात्रुले भानु र घाँसीलाई सम्झँदै पानी पिउँथे, चियानास्ता खान्थे, अहिले त्यो ठाउँमा डोजर चल्दैछ। डोजरले राजमार्ग छेउका टहरा मात्र होइन, पार्क र कुवासमेत भत्काउँदैछ।
पार्कको आधाभन्दा बढी क्षेत्र सडक विस्तारले खाइदिएको छ भने भत्काउन बाँकी खण्डमा उत्तर फर्किएका भानुभक्त र पूर्व फर्किएका घाँसीको सालिक छ। ती सालिक पनि डोजर लगायत निर्माण सामग्री र सवारीले उडाएको धुलोले छोपिएका छन्। घाँसीकुवामा डोजर चलाउन ठिक्क पारिएको छ। डोजरले जरैदेखि उखेलेर फालिन तयार कुवा सडकबाट झरेका धुलोमैलोले भरिएको देखिन्छ।
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक चार लेनको बनाउने क्रममा ऐतिहासिक घाँसीकुवाको अस्तित्व मेटिने अवस्था आउँदा पनि स्थानीय राजनीतिक दल र साहित्यिक संघ-संस्थाहरूले संरक्षणको कुरा उठाएका छैनन्।
मंसिर ४ को आमनिर्वाचनमा यही क्षेत्रबाट जितेर राष्ट्रपति बनेका रामचन्द्र पौडेलले पटकपटक घाँसीकुवा गएर सडक अन्यत्र मोड्नुपर्ने बताएका थिए। तर उनको आवाज सडक आयोजनाले सुनेन।
भानु-घाँसी स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भट्टराई कुवा जोगाउनेबारे जिल्ला प्रशासन कार्यालय तनहुँ, पार्क व्यवस्थापन समिति र सडक निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनीबीच सहमति भएको बताउँछन्।
सहमतिअनुसार कुवाको मूल रहेको सडकको भित्तापट्टि डोजर खनिने छैन। सडक तल बुल्दी खोला किनारमा एउटा सानो कुलो छ। कुलोको किनारमा नयाँ कुवा खन्ने र त्यसैमा घाँसीले खनेको कुवामा आउने मूलको पानी पाइप लगाएर जोडिने भट्टराईले जानकारी दिए।
तर अहिले सडक विस्तार क्रममा ठुल्ठूला डोजर लगायत सामग्रीको प्रयोगले कुवाको मूल सुक्ला कि भन्ने उनलाई चिन्ता छ।
'भूगर्भविदहरूले मूल सुक्न सक्छ भनेका छन्, त्यही भएर हामीले पाँच-छ मिटर तल नयाँ घाँसीकुवा बनाउन भनेका छौं,' उनले भने, 'राजमार्गबाट घाँसीकुवा जोगाउनै मुश्किल पर्यो।'
घाँसीकुवामाथि डोजर चलेको यो पहिलोपटक होइन।
२०२१/२२ सालतिर पृथ्वी राजमार्गको ट्रयाक खोल्दा पनि कुवा भत्काइन लागेको थियो। त्यति बेला चीन सरकारको अनुदानमा चिनियाँ ठेकेदारले नै पृथ्वी राजमार्ग बनाउँदै थिए। राजाको प्रत्यक्ष शासन रहेको त्यो समय सडक आयोजनाको विरोध गर्न धेरै मान्छे डराए पनि घाँसीकुवामा डोजर चलाएको सहन सकेनन्।
त्यो बेला स्कुल पढ्दै गरेका भट्टराई आफूहरू घाँसीकुवा संरक्षण निम्ति चिनियाँ ठेकेदार कम्पनीको क्याम्प घेर्न गएको सम्झिन्छन्।
'घाँसीकुवा डोजरले उडायो भनेर गाउँभरि हल्ला फैलियो, हामी स्कुलबाट चिनियाँ ठेकेदारको क्याम्प घेर्न पुग्यौं,' उनले भने, 'हामीले विरोध गरेपछि चिनियाँले अर्को घाँसीकुवा बनाइदिने सहमति जनाए।'
त्यति बेला सडक आयोजनाले घाँसीकुवामा डोजर चलाएर सडकमाथि भित्तापट्टि अर्को कुवा खनिदिएको थियो। त्यो कुवा हिउँद याममा सुकेपछि सडक तल सारेको अध्यक्ष भट्टराई बताउँछन्।
'घाँसीले खनेको खास कुवा त २०२१/२२ सालतिरै भत्काइयो, अहिले सडकको भित्तापट्टि भएको त्यसको मूल मात्र हो। यसपालि सडक विस्तारले मूल पनि भत्काइदिएपछि अन्यत्र कुवा खनेर के काम?' भट्टराईले भने, 'अहिले पनि सडक मोडेर घाँसीकुवा जोगाए हुन्थ्यो जस्तो लाग्छ, तर हामीलाई लागेर के गर्नू!'
पोखराका राजन भण्डारी पनि पृथ्वी राजमार्गमा पर्ने ऐतिहासिक घाँसीकुवा जसरी भए पनि संरक्षण गर्नुपर्ने बताउँछन्। यो बाटो यात्रा गर्दा मात्र होइन, पोखराबाट चिया पिउनकै लागि बारम्बार घाँसीकुवा गएको उनी स्मरण गर्छन्।
'हामी कहिलेकाहीँ चिया खानकै लागि मात्र पनि घाँसीकुवा पुग्थ्यौं,' उनले भने, 'घाँसीकुवाको चिसो पानी खाएको सम्झना धेरै छन्।'
तनहुँको चुँदीरम्घामा १८७१ असार २९ मा जन्मिएका भानुभक्त लिखित रामायणका श्लोक अहिले पनि बुढापाका गुनगुनाउँछन्। उनका प्रश्नोत्तर, भक्तमाला, रामगीता, वधूशिक्षाजस्ता कविता संग्रह प्रकाशित छन् भने फुटकर कविताहरू पनि उत्तिकै चर्चित छन्।
भानुभक्तलाई रामायण अनुवाद गर्नेदेखि कविता लेख्ने प्रेरणा घाँसीले दिएको उनकै कविताले पुष्टि गर्छ।
भानुभक्तले नेपालीमा रूपान्तरण गरेका रामायण र उनका कविताहरू संकलन र प्रकाशनको काम मोतीराम भट्टले गरेका थिए। उनले भानुभक्तका रचना मात्र प्रकाशमा ल्याएनन्, भानुभक्तको जीवन चरित्र पनि बाहिर ल्याए, जसले भानुभक्तलाई चिनाउन सहयोग पुर्यायो। उनका कृतिलाई अमर बनायो।
मोतीरामपछि कवि नरनाथ आचार्यले भानुभक्तबारे व्याख्या गरेका छन्। उनले २०१८ सालमा लेखेको 'भानुभक्त र घाँसी' शीर्षकको कवितामा विक्रम सम्बत् १९२० सालमा ससुराली जाँदा घाँसीसँग भेट भएको उल्लेख गरेका छन्।
जेठको घाममा कुवामा पानी पिएर आराम गर्दै गर्दा कुवा खनाउने घाँसीसँग भानुभक्तको भेट भएको नरनाथले आफ्नो कवितामा वर्णन गरेका छन्। त्यो ठाउँ पानीको समस्या भएकाले तिर्खाएका बटुवालाई सुविस्ता होस् भनी घाँसीले पहाराबाट निस्केको पानी कोदालोले खनेर कुवा बनाएको नरनाथको भनाइ छ।
'नेपाली भाषाका आदिकवि भानुभक्तलाई प्रेरणा दिने घाँसीको कीर्ति हामीले मासिन दिनु हुँदैन,' भानु–घाँसी स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष भट्टराईले भने।