वकिलसँग कानुनका कुरा
अचेल काठमाडौंमात्र होइन सबै साना ठूला सहरमा सिंगो घर, कोठा वा फ्ल्याट भाडामा लिएर बसोबास गर्नेहरू बढेको बढ्यै छन्।
ती व्यक्ति घरबेटीले तोकेको निश्चित भाडा तिरेर बसेका हुन्छन्। व्यक्तिगत वा व्यावसायिक प्रयोजनको लागि बहालमा बस्ने व्यक्ति र घरबेटीबीच मौखिक सम्झौता हुने चलन धेरै छ। तर केही कारणबस बहालमा बस्ने व्यक्ति भाडा नतिरी घर छोडेर गएमा घरबेटीलाई समस्या पर्छ। कतै फेरि डेरावालले भाडा तिरेर पनि घरबेटीले मनपरी निकाल्न खोजेको हुन्छ।
यस्तो समस्या आइपरेकाले कसरी कानुनी उपचारमा जान सक्छन्? लिखित घरबहाल सम्झौता पत्र बनाउनुपर्छ कि पर्दैन? जस्ता प्रश्नका उत्तर खोज्न हामीले अधिवक्ता सुलभ खरेलसँग कुराकानी गरेका छौं।
कसैको घरमा बस्ने मान्छे घरभाडा नतिरी सुटुक्क निस्किएमा के गर्ने?
घरधनी र घर बहालमा बस्ने व्यक्तिबीच हुने सामान्य विवाद फौजदारी मुद्दामा दर्ता हुँदैन। तर कोही मान्छे घरभाडामा बसेको छ र पैसा नतिरी हिँड्यो भने सम्बन्धित वडा कार्यलयमा गएर उजुरी दिन सकिन्छ। त्यसको लागि घरबेटी र बहालमा बस्ने व्यक्तिबीच लिखित सम्झौताको प्रमाण हुनुपर्छ। स्थानीय तहमा न्यायिक समिति हुन्छ, जसले यस्तो उजुरीको उपचार गर्छ। समितिले दुई पक्षबीच विवादको निरूपण गरेर वा मेलमिलापमार्फत् निरूपण गर्न मद्दत गर्छ।
२५ लाखसम्मको घर बहाल नतिरेको भएमा न्यायिक समितिले यसको निरूपण गर्छ भने २५ लाखभन्दा माथिको अवस्थामा जिल्ला अदालतमा गएर उजुरी दिनुपर्छ।
घरबेटी र बहालमा बस्नेबीच लिखित घर बहाल सम्झौता गरिएन भने के हुन्छ?
सामान्यतया: घरबेटी र बहालमा बस्ने व्यक्तिबीच लिखित सम्झौता गर्ने चलन एकदमै कम छ। त्यसैले कोही व्यक्ति घरभाडा नतिरी गयो भने पनि घरबेटीले उजुरी गर्ने केही आधार हुँदैन। बिना लिखित प्रमाणको उजुरीले कानुनी मान्यता नपाउने हुँदा घरबेटीले पैसा फिर्ता पाउने मौका धेरै थोरै हुन्छ।
त्यसकारण घरबेटी र बहालमा बस्ने दुवैले घर बहाल सम्झौता पत्र अनिवार्य रूपमा बनाउनुपर्छ।
घरभाडा नतिरी गयो भने के सजाय वा जरिवाना हुन्छ? कसरी उजुरी गर्ने?
कसैले घरभाडा चेकमा दिएको छ तर त्यो चेक बाउन्स भयो भने बैंकिङ कसुरको मुद्दा हालेर प्रहरीमा जाहेरी दिन सकिन्छ। यस्तो अवस्थामा निजलाई कानुनी प्रक्रिया अनुसार कारबाही हुन्छ।
घरबेटीले पाउनुपर्ने घरभाडा नपाएर उजुरी हालेमा बहालवालाले दिन बाँकी रकमसहित १० प्रतिशत ब्याज पनि क्षतिपूर्तिस्वरूप दिनुपर्ने कानुनी व्यवस्था छ। यो फौजदारी मुद्दामा नपर्ने हुनाले क्षतिपूर्तिबाहेक अन्य सजाय हुँदैन।
कोही व्यक्ति भाडा नतिरी भाग्यो भने घरबहालको कागजलाई आधार बनाएर घरबेटीले वडामा उजुरी गर्न मिल्छ। घरबहालमा बस्ने व्यक्तिलाई विपक्षी बनाएर न्यायिक समितिमा उजुरी गरे न्याय प्राप्त हुन्छ।
करारीय दायित्व बमोजिम घरबहालको सम्झौता बमोजिम तिर्न बाँकी रकम भराई पाऊँ भनेर उजुरी दिनुपर्छ।
भाडा तिरेर बसेको बहालवालालाई घरबेटीले मनमर्जी कोठाबाट निकाल्न मिल्छ?
हाम्रो कानुनले घरबेटी र बहालमा बस्ने दुवैका केही दायित्व र कर्तव्यको परिकल्पना गरेको छ। बहालमा बस्ने व्यक्तिले आफ्नो कर्तव्यस्वरूप कुनै फौजदारी प्रकृतिको अपराध गर्न पाउँदैन, बिगारेका सरसामानको मर्मतसम्भार गर्नुपर्छ, छरछिमेकलाई असर नपर्ने गरी बस्नुपर्छ र समयमै बहालको भाडा तिर्नपर्ने हुन्छ। यदि बहालमा बस्ने व्यक्तिले यी दायित्व र कर्तव्य पालना गर्न सकेनन् भने घरबेटीले बहालमा बस्ने व्यक्तिलाई कोठाबाट निकालेर अर्को व्यक्तिलाई राख्न मिल्छ।
तर कुनै घरबेटीलाई आफ्नो प्रयोजनको लागि कोठा चाहियो भनेर बहालवालालाई निकालेर अर्को व्यक्तिलाई राख्न मिल्दैन। यदि आफ्नो प्रयोजनको लागि भनेर बहालवालालाई निकालेको छ भने तीन महिनासम्म अन्य कसैलाई कोठा भाडामा दिन मिल्दैन। यदि राख्नुपरेको अवस्था सृजना भए पहिला निकालेको व्यक्तिलाई पहिलो प्राथमिकता दिनुपर्ने कानुनले व्यवस्था गरेको छ।
त्यसकारण घरबेटीले बिनाकारण सिधै कुनै बहालमा बस्ने व्यक्तिलाई निकाल्न मिल्दैन। भाडा तिरेर पनि बिना कारण घरबेटीले निकालेको अवस्थामा अर्को पक्षले घरबेटीविरूद्ध वडामा उजुरी दिनसक्छ।
घरबेटीले कुनै व्यक्तिलाई जात-धर्मको-लिंगको आधारमा कोठा दिन्न भन्न पाइन्छ?
कुनै व्यक्तिलाई जात-धर्म वा लिंगको आधारमा कोठा भाडामा दिन्न भन्न पाइँदैन। यस्तो गरेको पाइएमा घरबेटीलाई फौजदारी मुद्दा लाग्छ। घरबेटीले यस्तो गरेमा जातीय छुवाछूत तथा भेदभाव ऐन अन्तर्गत उजुरी लाग्छ र कारबाही हुन्छ।
कुनै व्यक्ति घरबेटीलाई नसोधी-नभनी ताला लगाएर गयो तर फर्केर आएन भने के हुन्छ?
कसैले घरबेटीलाई सूचना नदिई ताला लगाएर तीन महिनासम्म सम्पर्कविहीन भएर गयो भने वडा कार्यालयमा गएर निवेदन दिई कोठा खाली गराउन सकिन्छ। वडा कार्यालयले गर्ने निर्णय बमोजिम सामानलाई मुचुल्का गरी निश्चित ठाँउमा व्यवस्थित पार्न सकिन्छ। वडा कार्यलयको निवेदन उपर कारबाही भएन भने प्रहरीलाई उजुरी गरेर पनि कोठा खाली गराउन सकिन्छ।
घरबेटी र बहालमा बस्नेबीच यस्ता समस्या आउन नदिन के गर्नुपर्छ?
यस्तो समस्या आउन नदिन घरबेटी र बहालमा बस्ने व्यक्तिबीच सम्झौता पत्र बनाउनुपर्छ। लिखित सम्झौता पत्र भएमा कुनै विवाद पर्दा सो पत्र प्रमाणको रूपमा पेश गर्न मिल्छ। घरबहालको सम्झौता पत्र वडामा दर्ता गरेपछि घरबेटीले अनिवार्य घरबहाल कर पनि तिर्नुपर्छ। जसले गर्दा सरकारलाई फाइदा हुन्छ।
यदि कसैले सम्झौता पत्रभन्दा बाहिर गएर विवाद गर्छ भने मेलमिलापबाट यसको समाधान खोज्नुपर्छ। कोही कोठा भाडा नतिरी भाग्यो र मेलमिलापको लागि सम्पर्कमा आएन भने तब उजुरी गरेर बहालवालाबाट पैसा फिर्ता लिन सकिन्छ।