नारायणगढ–मुग्लिन सडकमा पुल निर्माणका लागि पहरो फुटाउन विष्फोटक पदार्थ खरिद गर्नेसम्बन्धी फाइल भारतीय दूतावासमा पुगेको छ।
यो सडक खण्डको तुइन र चिसेन्जी खोलामा नयाँ पुल निर्माणका लागि कडा चट्टानसहितको पहरो फोर्न विष्फोटक पदार्थ खरिद गर्न लागिएको हो।
नारायणगढ–मुग्लिन सडक आयोजनाले कठिन भौगोलिक बनावट रहेका स्थानका चार वटा खोलामा पुल निर्माणका लागि पहाड काट्न गत पुस ५ गतेदेखि साढे दुई महिनासम्म दैनिक ४ घण्टा सवारी साधन नै रोकेर काम गरेको थियो। रक ब्रेकरले पहाड फोर्ने नसकेपछि बम विष्फोट गरेर फोर्नुपर्ने निष्कर्षमा आयोजना पुगेको थियो।
आयोजनाका प्रमुख इन्जिनियर किरण कार्कीले जिल्ला सुरक्षा समितिले विष्फोटक पदार्थ आवश्यक पर्ने निर्णय गरेर गृह मन्त्रालयमा पठाएको फाइल अहिले भारतीय दूतावासमा पुगेको जानकारी दिए।
गृह मन्त्रालयले उक्त फाइल रक्षा मन्त्रालयमा पठाएको थियो।
‘नेपाली सेनासँग मात्रै विष्फोटक पदार्थ हुने भएकाले फाइल रक्षा मन्त्रालय पुग्यो तर नेपालमा विष्फोटक पदार्थ रहेनछ। रक्षाले त्यो फाइल परराष्ट्र मन्त्रालय पठाइदियो। परराष्ट्रले भारतीय दूतावासमा पठाइदिएको छ,’ कार्कीले भने।
सडक आयोजना दूतावासको ‘नो अब्जेक्सन सर्टिफिकेट’को पर्खाइमा छ। कार्कीका अनुसार उक्त पत्र प्राप्त भएपछि कन्ट्र्याक्टरले एलसी खोलेर भारतबाट विष्फोटक पदार्थ खरिद गर्नेछ।
‘नेपाली सेनासँगै विष्फोटक पदार्थ भएको भए काम सुरू भइसक्थ्यो। यहाँ नभएका कारण दूतावास हुँदै भारत पुग्नुपर्ने भयो। रक्षा मन्त्रालयमा फाइल अल्ली धेरै समय रोकिएका कारण पनि खरिद प्रक्रियामा ढिलो भयो,’ कार्कीले भने।
परराष्ट्र मन्त्रालयले दूतावासमा फाइल पठाएको पनि दुई हप्ता भइसकेको कार्कीले बताए।
विष्फोटक पदार्थ ल्याएपछि नेपाली सेनाले पहरो फोर्न सुरू गर्ने उनले बताए।
‘भरतपुरस्थित नेपाली सेनाको कालीबहादुर गणको प्राविधिक टोलीले त्यो काम गर्नेछ,’ कार्कीले बताए।
दैनिक एक घण्टाजति सवारी साधन रोकेर विष्फोट गर्ने तयारी सडक आयोजनाले गरेको छ।
करिब एक महिनामा पुल र एप्रोच सडकका लागि आवश्यक स्थान बनाइसक्ने कार्कीले बताए।
‘अब पहिलेजसरी दैनिक ४ घण्टा सडक बन्द गर्नुपर्दैन। दैनिक आधादेखि एक घण्टा बन्द गर्ने, विष्फोट गरेर क्लियर गरिहाल्नेगरी तयारी गरेका छौं,’ उनले भने, ‘एक महिनाभित्रमा त्यो काम सकेर पुल निर्माण सुरू गर्छौं।’
नारायणगढ–मुग्लिन सडक आयोजनाले कालीखोला र सिमलतालमा भने पहरो काटेर पुल निर्माणको काम अघि बढाइसकेको छ।
चिसेन्जीको नारायणगढतर्फको र तुइन खोलाको मुग्लिनतर्फको पहरोमा निकै कडा चट्टान भेटिएकाले बम विष्फोट गर्न लागिएको हो।
नारायणगढ–मुग्लिन सडकमा १९ वटा पुल निर्माणका लागि ठेक्का लागेको थियो। तीमध्ये ४ वटा निर्माण भएर सञ्चालनमा आइसकेका छन्। बाँकी १५ मध्ये ९ वटा पुल पनि निर्माण भएर सञ्चालनको तयारीमा छन्। अन्य पुलहरू निर्माणाधीन रहेको कार्कीले बताए।
स्थानीयलाई मुआब्जा दिन ढिलाइ भएका कारण रोकिएको मुग्लिनबाट नारायणगढतर्फ आउँदाको पहिलो खोला खहरेको पुल निर्माणको काम केही दिनअघिबाट सुरू भएको छ।
यो सडकमा पुल बनाउन २०७६ चैत १० गते सम्झौता भएको थियो। समयमा काम नसकिएपछि थप गरिएको म्याद आगामी पुस ९ गतेसम्म छ।