तीन महिनाअघि सोलुले दुई वटा बच्चा जन्माई। बच्चा हातले समातेर छातीमा टाँसी, माया गरी। स्याहारसुसार गरी।
सोलु जावलाखेलस्थित चिडियाखानामा रहेकी पोथी भालु हो। चिडियाखानाको फलामे खोरमा उसले दुईपटक बच्चा जन्माइसकी। पहिलोपटक तीन वर्षअघि जन्माएकी थिई।
उसले कुनै बच्चा हुर्काउन भने सकिन। पहिलेका बच्चा चार दिन पनि बाँचेनन्। तीन महिनाअघिका दुई बच्चालाई १७ दिन मात्र छातीमा टाँस्न पाई।
सोलुले आफ्ना बच्चा किन गुमाउनु पर्यो त?
यसअघि सोलु कसरी चिडियाखाना आइपुगी भन्ने कथा सुनौं।
चिडियाखानाले सोलुखुम्बुबाट २०७६ साल फागुन ५ गते एउटा पोथी भालु ल्यायो। सोलुखुम्बुबाट ल्याएको हुनाले कर्मचारीले उसको नाम सोलु राखे। त्यस बेला ऊ आठ वर्षकी थिई।
जिल्ला वन कार्यालय, सोलुखुम्बुले उद्धार गरेर उसलाई राखेको थियो। सोलुले स्थानीय बासिन्दाका भेडाब्राखा आक्रमण गरेकी थिई।
'उसलाई मार्न स्थानीय बासिन्दाले मोटो तार प्रयोग गरेर पासो थापे। ऊ त्यसैमा परेर घाइते भई,' चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले भने, 'जिल्ला वन कार्यालयले उसको उद्धार गरेर चिडियाखानालाई खबर गर्यो।'
यसरी अनकन्टार पहाडबाट सहरको चिडियाखाना आइपुगी सोलु। सुरूका ६ महिनासम्म उसको उपचार भयो।
अब उसको घर नै यही चिडियाखाना हो। उसले जंगलमा संघर्ष गरेर बाँच्ने क्षमता गुमाइसकेकी छे।
चिडियाखानामा सोलु एक्ली छैन। यहाँ ठूला दुइटा खोर छन्, त्यसभित्र विभाजन गरेर दुइटा खोर बनाइएको छ। यिनै खोरमा बस्छन् सोलुसहित आठ वटा भालु। यसमध्ये तीन वटा पोथी छन् पाँच वटा भाले।
आठ वटा भालु दुई प्रजातिका छन्।
सोलु 'हिमाली कालो' भालु हो। एउटा खोरमा सोलुजस्ता पाँच वटा भालुलाई राखिएको छ। अर्को खोरमा तीन वटा 'काठे भालु' छन्।
सोलुसँगै खोरमा एउटी पोथी र तीन वटा भाले भालु छन्। यसमध्ये सबभन्दा जेठो 'दाङे' हो। २०६७ सालमा यसलाई दाङबाट ल्याइएको थियो। त्यो बेला दुई वर्ष उमेरको दाङे अहिले १३ वर्षको भयो।
खोरमा अरूसँगै बस्ने भए पनि दाङे एक्लै देखिन्छ। ऊ एक्लै बस्छ, एक्लै खान्छ।
खोरका अरू चार वटा भालु भने जोडी बाँधिएर बस्छन्।
सोलुकी साथी हो 'जुम्ली'। जुम्ली २०७३ सालमा जुम्लाबाट साढे दुई वर्ष उमेरमा ल्याइएकी पोथी भालु हो। अरू दुइटा २०७६ सालमै डोटीबाट उद्धार गरी ल्याइएका दुइटा भाले भालु छन्। तिनीहरूलाई उहाँ ल्याउँदा जम्मा दुई महिना उमेरका थिए।
डोटीबाट ल्याइएका यी दुई भाले सोलु र जुम्लीका प्रेमी हुन्। अलि सानो भाले जुम्लीको प्रेमी हो, ठूलो चाहिँ सोलुको। उनीहरू एकअर्कालाई माया गर्छन्।
जुम्लीको प्रेमी भने सोलुलाई मन पराउँदैन। खानेकुरा खोसेर खाइदिन्छ।
उनीहरूको स्याहारसुसार गर्ने मधुसुदन थापाका अनुसार एउटा भालुले सकेसम्म एउटासँग मात्र प्रेम गर्छ। आआफ्ना प्रेमी–प्रेमिका छाडेर अर्कोसँग प्रेममा पर्दैनन्।
'दाङे कुनै पोथीको नजिक आउँदा डोटीका भालेहरू झगडा गर्न अघि सर्छन्,' मधुसुदन भन्छन्, 'पोथीहरूको नजिक आयो कि दाङेलाई घाइते बनाइदिन्छन्।'
अर्को खोरमा चितवनबाट ल्याइएका दुइटा भाले र मोरङबाट ल्याएको एउटा पोथी भालु छन्। एक मात्र पोथी भएकाले यी काठे भाले भालु पनि आपसमा झगडा गर्छन्।
चितवने दुई भाले धेरै बदमास छन्। धेरै रिसाउँछन्। खोर नजिकबाट हिँड्ने मान्छेलाई थुकिदिन्छन्। भोक लाग्यो भने बेस्सरी कराउँछन्।
'यी भालु सानो छँदा आपसमा खुब मिल्थे, अहिले छिनछिनमै झगडा गर्छन्,' मधुसुदनले भने, 'पोथीलाई एउटाले जिस्क्याउँदा अर्कोले आक्रमण गर्छ अनि आपसमा जुध्न थाल्छन्।'
काठे भालु गर्मी र चिसो दुबैमा बस्न सक्छ। हिमाली कालो भालु चिसो वातावरण मन पराउँछ। हिमाली कालो भालुभन्दा काठे भालु बढी रिसाहा हुन्छन्।
'खोर सफा गर्न जाँदा हिमाली (कालो) भालु बाहिर जाऊ भन्दा गइहाल्छ, चुप लागेर बस्छ तर काठे भालु सकेसम्म जान मान्दैन। गाली गर्दा झम्टिन खोज्छ, कराउँछ,' सबै भालुलाई खाना खुवाउने मधुसुदन भन्छन्।
हिमाली र काठे भालुको बानीबेहोरा मात्र होइन, अरू पनि फरक देखिन्छन्। शारीरिक बनावट उस्तै देखिए पनि काठेको रौं पातलो हुन्छ, हिमालीको बाक्लो र छोटो हुन्छ।
यिनीहरूको मुख पनि केही फरक देखिन्छ। झट्ट हेर्दा काठे भालुको मुख सुँगुरको जस्तो र हिमालीको कुकुरको जस्तो हुन्छ। मुखले खाने खाने तरिका पनि सुँगुर र कुकुरसँग मिल्छ। भालुहरू कमिला, धमिरादेखि कन्दमूल, रूखको बोक्रासम्म खान्छन्। मह खुब मनपराउँछन्। खानेकुरा पर्याप्त नपाउँदा प्राणीमाथि आक्रमण गर्न खोज्ने हुन्छन्।
सोलु पनि बेलाबेला आक्रमक हुन्छे। साथीहरूसँगै झगडा गरेर घाउ बल्झाउँछे। बेलाबेला औषधि-उपचार गरिरहनुपर्छ।
दोस्रो पटक सुत्केरी हुनअघि पनि ऊ केही बिरामी देखिन्थी। गत माघ १८ गते उसले दुइटा बच्चा जन्माएकी थिई। दस दिनअघिदेखि नै खान मन गरिन। थोरै खान्थी। सुरक्षित ठाउँ खोज्ने र एक्लै बस्न रूचाउने भएकी थिई।
सोलु गर्भवती भएको कुरा सम्बन्धित निकायहरूमा जानकारी गराइवरि मधुसुदनले उसको हेरविचार बढाएका थिए।
'म यसलाई नियालिरहको थिएँ। भालेको आक्रमणबाट बचाउन पनि ध्यान दिन्थेँ,' उनले भने।
एक दिन मधुसुदन सधैंझैं खोर सफा गर्न पुगेका थिए। सोलु ठूलो स्वरले कराउन थाली, छट्पटाई।
मधुसुदनले उसलाई सुत्केरी बेथा लागेको थाहा पाए। उसले भित्री खोरमा बच्चा जन्माई। दस मिनेटपछि अर्को पनि जन्मियो।
'मैले सोलुको थकित अनुहारमा खुसीको भाव देखेँ,' मधुसुदन भन्छन्, 'राता देखिने र आँखा नखुलेका ती दुबै बच्चालाई सोलुले आफ्नो छातीमा टाँसी। आफू भित्तामा अडेस लागी। मैले पराल राखिदिएँ अनि सुरक्षाको लागि भित्री खोर बन्द गरिदिएँ।'
सोलुले बच्चा कसैले नदेख्ने गरी छातीमा टाँसिरही। ऊ सतर्क देखिएकी थिई। सुत्केरी भएपछि पनि उसले खाना राम्ररी खाइन। जति बेला पनि बच्चा छातीमै टाँसिरहेकी हुन्थी।
'बच्चालाई छातीमा टाँसिरहन्थी, खानेकुरा पनि घोप्टो परेर खान्थी,' मधुसुदनले भने।
दिन बित्दै थियो। ऊ आफ्ना बच्चा हुर्काउने धुनमा थिई। खोरमा ठाउँ थोरै थियो। सोलुले बच्चा हुर्काउने अनुकूल वातावरण पाइन।
'सोलु दंग थिई। बच्चालाई धेरै माया गर्थी तर उसलाई अनुकूल हुने ठाँउ नभएकाले बच्चा बचाउन सकिन,' उनले भने।
सुत्केरी सोलु भित्री खोरमा थिई। बाहिरपट्टि थियो उसको प्रेमी। प्रेमीले भित्री खोरको प्वालबाट हात छिराएर बच्चा छोपेको पराल तानिदिन्थ्यो। उसले सोलुलाई धेरै हैरान पार्यो। दिक्दार भएर सोलुले बच्चा स्याहार गर्न छोडिदिई।
'जंगलमा भएको भए सोलुले बच्चा झाडीमा लुकाएर बचाउँथी। चिडियाखानामा उसलाई चाहिने वातावरण भएन। भालेले धेरै दिक्क लगाएपछि बच्चा बचाउन सकिन,' मधुसुदन भन्छन्।
भालुको बच्चालाई आँखा नखोलेसम्म आमाको पूर्ण स्याहार चाहिन्छ। यस्तो स्याहार मान्छेले गरिदिन सक्दैन। सोलुले स्याहार्न छाडेपछि दुवै बच्चा सत्रौं दिनमा मरे। अघिल्ला बच्चा पनि अनुकूल वातावरण नपाएरै मरेका थिए।
बच्चा मरेको केही दिन सोलु निराश भई। खाना राम्री खाइन। एकोहोरो बसिराखी। मधुसुदनका अनुसार उसले बोलाउँदा पनि नसुनेझैं गर्थी।
हामी पुग्दा ऊ बच्चा जन्माएको भित्री खोरभित्रै थिई। मधुसुदनले किम्बुको पात देखाएर बोलाए। डराएजसरी किम्बुको पात खाई।
सन्तान वियोगको पीडा सोलुको मात्रै होइन।
जुम्लीले पनि दुई महिनाअघि पहिलोपटक एउटा बच्चा जन्माएकी थिई। बच्चा सुम्सुम्याउँदै दंग परी। सोलुले बच्चा जन्माएको देखेर सायद केही सिकेकी पनि थिई। तर उसले पनि बच्चा बचाउन सकिन। खोरभित्र भएको पाइपको छेउमा जन्मेका थिए उसका बच्चा। ती मरेपछि त्यही पाइपमा जुम्ली निराश बस्थी। राम्ररी खाइन पनि। बिस्तारै सामान्य हुँदै गएकी मधुसुदनले बताए।
उनका अनुसार आमा भएपछि भालुलाई शान्त वातावरण चाहिन्छ। प्राकृतिक वातावरण पनि अनुकूल हुनुपर्छ। सोलु र जुम्ली दुवैले यो सुविधा पाएनन्।
राष्ट्रिय प्राणी उद्यानका सहायक व्यवस्थापक भूपेन्द्र यादवका अनुसार पोथी भालुले आफ्नो बच्चालाई धेरै माया गर्छ। जंगलमा बच्चा गुफामा राख्छ। धेरै गर्मी भए झाडीमा लुकाउँछ। भालेले बच्चालाई आक्रमण गर्न खोज्ने भएकाले आमा भालुले सुरक्षित ठाउँ खोज्दै बच्चा सारिहन्छ।
भालुको बच्चा तीन वर्षसम्म आमामा निर्भर हुन्छ। खाना खोजेर खुवाउने, सुरक्षा दिने दुई वर्षको भएपछि जंगल डुलाउन सिकाउने काम आमाले नै गर्छे।
राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत रवीन कडरिया पनि चिडियाखानामा भालुले बच्चा हुर्काउने वातावरण नभएको बताउँछन्।
भालुकै विषयमा विद्यावारिधि (पिएचडी) गरेका कडरिया भन्छन्, 'भाले भालुले पोथीसँग बच्चा भएको मन पराउँदैन। बच्चालाई आक्रमण गर्न खोज्छ। यहाँ भाले र पोथी सँगै छन्। गर्भवती भालुले सुरक्षित महसुस गर्न नपाउँदा, ठाउँ साँघुरो हुँदा यहाँ बच्चा बच्न सकेनन्।'
भालुलाई मान्छेको भिडभाड पनि मन पर्दैन। मान्छेको हल्ला उनीहरूका लागि समस्या हो।
'गर्भवतीलाई त मनपर्ने कुरै भएन,' भालुको स्याहारकर्ता मधुसुदन भन्छन्, 'चिडियाखानामा मान्छेहरू हल्ला गर्छन्। जनावर देखेपछि झन् साह्रो कराउँछन्। कसैकसैले नचाहिने चिजहरू खोरमा फ्याँकिदिन्छन्। शान्त वातावरण हुने हो भने जनावरलाई सहज हुने थियो।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी