पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको भन्दै प्रहरीले एमाले नेता रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका राईलाई पक्राउ गरेको हो।
उच्च प्रहरी स्रोतका अनुसार राईलाई सादा पोशाकमा रहेको प्रहरी टोली मंगलबार बिहान ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो। काठमाडौं प्रहरीको टोलीले ललितपुर प्रहरीसँग समन्वय गरेर उनलाई पक्राउ गरेको हो।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको पनि संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
यसअघि प्रहरीले यस विषयमा अरू तीन जनालाई पक्राउ गरिसकेको छ।
सागर राई, केशव दुलाल र सानु भण्डारीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार उनीहरूले विभिन्न प्रलोभन देखाएर र विश्वासमा पारेर ५० जनाभन्दा बढी मानिसबाट ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको आरोप छ।
बादल पछिल्लो समय २०७४ फागुनपछि केपी शर्मा ओलीको नेतृत्वको सरकारमा गृहमन्त्री थिए। उनी गृहमन्त्री भएका बेला इन्द्रजित राई उनका सल्लाहकार थिए।