के तपाईं आफ्नै व्यवसाय गर्ने सोचमा हुनुहुन्छ? आफ्नो कम्पनी दर्ता कसरी गर्ने भन्ने अलमलमा पनि हुनुहुन्छ कि?
कम्पनी दर्ता गर्न कहाँ जानुपर्ने र के गर्नुपर्ने हो भन्ने धेरैलाई थाहा हुँदैन।
वकिलसँग कानुनका कुराको आठौं शृंखलामा हामीले प्राइभेट कम्पनी खोल्न चाहनेलाई आवश्यक जानकारी समेट्न खोजेका छौं।
कम्पनी दर्ता गर्न कति उमेर पुग्नुपर्छ, के-कस्ता कागजात बनाउनुपर्छ, कहाँ जानुपर्छ लगायतका प्रश्नको जवाफ अधिवक्ता लजुला महर्जन (बालामदन)सँग खोजेका छौं।
उनका अनुसार नेपालको कम्पनी ऐन अनुसार एक वा एक भन्दा बढी व्यक्ति मिलेर प्राइभेट, पब्लिक वा मुनाफा वितरण नगर्ने कम्पनी खोल्न पाइन्छ। कम्पनीको प्रकार अनुसार दर्ता प्रक्रिया र त्यसका लागि चाहिने कागजात फरक/फरक हुन्छन्।
अधिवक्ता महर्जनसँगको कुराकानी :
कम्पनी दर्ता गर्न के-कस्ता कागजपत्र चाहिन्छ?
कम्पनी दर्ता गर्न कम्पनी ऐन र कम्पनी रजिष्ट्रारको कार्यालयले तोकेको दस्तावेजबमोजिम कम्पनीको प्रबन्धपत्र, कम्पनीको नियमावली, अख्तियार नामा र कम्पनी दर्ता गर्न निवेदन गरी प्रमुख चार प्रकारका कागजात आवश्यक हुन्छ।
संस्थापक र सेयरधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि पनि आवश्यक हुन्छ। संस्थापक सेयरधनीबीच कुनै सम्झौता भएको छ भने त्यो सम्झौता पनि माथि उल्लेखित कागजातमा समावेश गरी पेश गर्नुपर्छ।
कम्पनी दर्ता गर्ने प्रक्रिया के हो?
संस्थापक सेयरधनीले कम्पनी रजिष्ट्रार कार्यालय गएर आफ्नो नाममा कम्पनी दर्ता गर्न सक्छन्। संस्थापकले सर्वप्रथम कम्पनीको नाम के राख्ने सोचेर कम्पनीको नाम रिजर्भेसनको लागि निवेदन दिनुपर्छ। त्यस क्रममा उनीहरूले नयाँ प्रयोगकर्ता आइडी बनाउनुपर्छ। सबै विवरण भरेर कागजातहरू पूर्ण रूपमा तयार पारी हस्ताक्षर र ल्याप्चे गरेर कम्पनी दर्तालाई आवेदन दिनुपर्छ।
कम्पनी दर्ता भएपछि सो कम्पनीलाई कर कार्यालयमा दर्ता गर्नुपर्छ। कम्पनीको कामकाज हेरेर प्यान वा भ्याटमा कम्पनीलाई दर्ता गर्नुपर्छ।
भविष्यमा कम्पनीले आफ्नो उत्पादन, बिक्री, ट्रेडमार्क दर्ता र विदेशी लगानी गर्ने उद्देश्य छ भने सो कम्पनीको उद्योग दर्ता गर्नुपर्छ। कम्पनीको ठेगाना अनुसार कम्पनीलाई नजिकैको वडा कार्यालयमा पनि दर्ता गर्नुपर्छ। वडामा व्यवसाय दर्ता गरी प्रमाणपत्र लिनुपर्छ। वडामा दर्ता गरेपछि नियमित घर भाडा कर तिर्नुपर्ने हुन्छ।
यी निम्न लिखित प्रक्रिया हेर्दै संस्थापक स्वयंले कम्पनी दर्ता प्रक्रिया अघि सार्न सक्छन् वा व्यावसायिक अधिवक्तासित सरसल्लाह लिएर काम गर्न सक्छन्।
कति जना मिलेर कम्पनी खोल्न मिल्छ?
पब्लिक कम्पनी खोल्न कम्तीमा सात जना संस्थापक हुनुपर्छ। त्यस्तै प्राइभेट कम्पनी खोल्न एक जनाले पनि मिल्छ। कम्तीमा एकदेखि बढीमा एक सय एक जना संस्थापक भएको कम्पनी दर्ता गर्न पाइन्छ। नेपाली नागरिकता भएको १६ वर्ष उमेर पुगेको व्यक्तिले मात्र कम्पनी खोल्न मिल्ने कानुनी प्रावधान छ।
कम्पनी दर्ता गर्नका लागि नियम कानुनले लगानीको सीमा तोकेको छ कि छैन? छ भने कति छ?
पब्लिक कम्पनी दर्ता गर्न सेयरधनीलाई न्यूनतम १ करोड चुक्तापुँजी आवश्यक हुन्छ। प्राइभेट कम्पनी दर्ता गर्न भने सेयरधनीलाई न्यूनतम चुक्तापुँजी कति राख्न भनेर तोकिएको छैन। संस्थापकले कम्पनीको उद्देश्य, क्षमता र कामको आधारमा कति लगानी गर्ने भनेर आफैं निर्धारण गर्नुपर्छ।
अधिकृत पुँजीको हिसाबले कम्पनी दर्ता शुल्क कम्पनी रजिष्ट्रारको कार्यालयमा बुझाउनुपर्ने हुन्छ। कम्पनीको पुँजी १ लाख रुपैयाँ छ भने राजस्व शुल्क एक हजार रुपैयाँ तिर्नुपर्छ र चुक्तापुँजी एक करोड छ भने राजस्व शुल्क सोह्र हजार तिर्नुपर्छ।
अधिकृति पुँजी जति बढ्दै जान्छ, राजस्व शुल्क त्यति बढ्दै जान्छ। यदि कानुन व्यवसायीको सहयोग लिइएको छ भने उनीहरूलाई छुट्टै शुल्क दिनुपर्छ। अधिवक्ता राखेको हकमा पनि उनीहरूलाई दिने खर्च जोडेर पन्ध्र/बीस हजारभित्रमा सामान्य कम्पनी दर्ता हुन्छ।
कम्पनी दर्ता गर्न कति समय लाग्छ?
कम्पनी रजिष्ट्रार कार्यालयमा नाम रिजर्भेसन गर्न सात दिनदेखि तीस दिन लाग्छ। नाम दर्ता भएपछि कम्पनी दर्ता गर्न तीन दिनदेखि दश दिन लाग्छ। एकल सेयरधनी बसेर कम्पनी दर्ता गर्दा भने तीन दिनमा सबै काम सकिन्छ। धेरै सेयरधनी वा विदेशी लगानी भएको हकमा दर्ता गर्ने प्रक्रिया लम्बिन जान्छ। त्यसपछि उद्योग दर्ता गर्न कम्तीमा एक हप्तादेखि महिनौं लाग्न सक्छ। कर कार्यालयमा कर दर्ता प्रमाणपत्र र व्यवसाय दर्ता गर्न एक-एक दिन लाग्छ।
विदेशमा भएका साथीसित मिलेर नेपालमा कम्पनी दर्ता गर्न मिल्छ?
नेपालमा कम्पनी खोल्न चाहनेमध्ये कुनै एक संस्थापक तत्कालीन अवस्थामा विदेशमा हुनुहुन्छ भने उनको तर्फबाट अख्तियार नामा लिएर प्रक्रिया अघि बढाउन मिल्छ। सम्बन्धित व्यक्ति भएको ठाउँमा सबै कागजात कुरिअर गरेर पठाइ हस्ताक्षर र ल्याप्चे गरी पुनः कुरिअरबाट मौलिक कागजात नेपाल ल्याउनुपर्छ। सबै जनाको हस्ताक्षर र ल्याप्चे अनिवार्य भएको हुनाले विदेशमा भएको व्यक्ति स्वयं हस्ताक्षर गरेसम्म कम्पनीको दर्ता कार्य रोकिन सक्छ। एन.आर.एनको हिसाबले लगानी गर्नको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनबमोजिम सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।
नेपाली नागरिकको हैसियतले विदेशबाट लगानी गर्न खोज्दै हुनुहुन्छ भने आफ्नो नेपालमा भएको बैंक खाताबाट कम्पनीको खातामा लगानी रकम ट्रान्सफर गर्न मिल्छ।
कम्पनी दर्ता नगरी कम्पनी सञ्चालन गरे के हुन्छ?
कम्पनी दर्ता नगरी व्यवसाय सञ्चालन गर्दा सम्बन्धित निकायले थाहा पाएमा उक्त कम्पनीका संस्थापकलाई दुई वर्ष कैद वा पचास हजार जरिवाना वा दुवै लाग्ने कानुनी मान्यता छ।
कम्पनी कुन बेला भ्याटमा दर्ता गर्ने?
कम्पनी दर्ता गरेपछि कारोबार गर्नुअघि प्यानमा दर्ता गर्नुपर्छ।
कुनै वस्तु उत्पादन गर्ने व्यवसायले ५० लाखभन्दा बढीको कारोबार गरेमा र सेवा दिने गर्ने कम्पनीले २० लाखभन्दा बढीको वार्षिक कारोबार गरेमा अनिवार्य रूपमा भ्याटमा दर्ता गर्नुपर्छ।
कम्पनी दर्ता गर्नुअघि जान्नुपर्ने कुरा के-के हुन्?
सर्वप्रथम संस्थापक सेयरधनीले केको व्यवसाय कति पुँजी लगानीमा गर्न खोजेको स्पष्ट हुन जरूरी छ। व्यवसायको नाम, ठेगाना, कार्यविधि, भावी योजना पूर्ण रूपमा ठम्याएपछि मात्र कम्पनी दर्ताको गर्ने सोच्नुपर्छ।
कुन संस्थापकले कति पुँजी लगानी गरेर समिति गठन गर्ने, कसले के-काम गर्ने, नाफा कसरी बाँडफाँट गर्ने, कसले कम्पनी सञ्चालन गर्ने, जस्ता सामान्य कुराको अग्रिम लिखित निर्णय गरेरमात्र कम्पनी दर्ता गर्न गए राम्रो हुन्छ। सञ्चालकबीच मनमुटाव हुँदा वा कुरा नमिल्दै कम्पनी दर्ता गरेमा सञ्चालनको क्रममा दुःख खेप्नुपर्छ।