ब्राउन सुगरसहित दुई महिला पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१ घर भई झापाको मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ र सन्ध्या श्रेष्ठ रहेका छन्।
बिहीबार राति ९ बजे झापाको भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजबाट काठमाडौं आउने क्रममा उनीहरू पक्राउ परेका हुन्।
उनीहरूको साथबाट ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ।
झापाका डिएसपी खगेन्द्र प्रसाद रिजालका अनुसार विमानस्थल सुरक्षा गार्डमा खटिएका प्रहरी टोलीले चेक गर्दा भित्री वस्त्रमा लुकाएर ल्याइएको ब्राउन सुगर भेटिएको हो।
उनीहरूले भित्री वस्त्रमा प्याड आकारको साइज बनाई लुकाएर ब्राउन सुगर काठमाडौं लैजान लागेका थिए।
पक्राउ परेका दुई जनाको साथबाट ब्राउन सुगरसहित मोबाइल, नेपाली नागरिकता बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान अगाडि बढाएको डिएसपी रिजालले जानकारी दिए।