असारको झरीमा घरको छानो चुहिने भयो। विदामा घर आएका थिए प्रहरी सहायक हल्वदार मोहनसिंह कुँवर। बर्खा लागिसकेकाले लामो समयलाई हुने गरि छानो टाल्न भ्याइएन। कुँवरले घरलाई ओत दिन छानामा त्रिपाल हाले।
उनी छानो हाल्ने काम सकिएपछि गोरखा हिँडे। उनलाई गोरखा प्रहरीमा ड्युटी खटाइएको थियो।
त्यो दिन उनी अफिस पुगेनन्। न घर फर्किए। आजसम्म उनी बेपत्ता छन्।
घरमा तीन छोरी र श्रीमती मोहनको खबर पर्खेर बसेका छन्। उता प्रहरी संगठनले पनि उनको पत्तो पाएको छैन।
२०६७ सालमा नेपाल प्रहरीमा भर्ती भएका कञ्चनपुरका मोहनको २०७५ मा गोरखास्थित इलाका प्रहरी कार्यालय मनकामना मातहतको सामागाउँ प्रहरी चौकीमा सरूवा भएको थियो।
०७६ चैतदेखि कोरोना भाइरसको माहामारी फैलिएर केही सहज भएपछि परिवार भेट्न मोहन विदामा आएका थिए। २०७७ सालको चैत ३० गते ससुराली घर धनगढी पुगेर दुई महिना विदामा बसे। बीचमा कार्यालयबाट फोन आए पनि लकडाउनका कारण गाडी नपाएर उनी गोरखा जान सकेका थिएनन्।
हाजिर हुन जाने क्रममा उनी बेपत्ता भएको देखिन्छ। २०७७ चैतमा घर आएका मोहन लकडाउनका कारण समयमै कार्यक्षेत्र फर्कन नसकेको प्रहरी रिपोर्टमा उल्लेख छ।
२०७८ को जेठ अन्तिममा परिवारसँग बिदा भएर कार्यक्षेत्र हाजिर हुन गोरखा जान हिडेका कुँवर असार १ गतेदेखि सम्पर्कविहीन भएका थिए।
त्यसदिन गाडी नपाइएपछि कैलालीको अत्तरियाबाट काठमाडौं जादै गरेको एम्बुलेन्समा बसेर मुग्लिनसम्म पुगेको कुरा मोहनले श्रीमती शोभालाई फोनबाट जानकारी गराएका थिए। गोरखाको खोर्लावेसीसम्म पुगेर मोहनले शोभालाई मुसलधारे वर्षाका कारण एक रात त्यतै होटलमा बस्ने भनेका थिए।
‘एक गते बिहान मलाई पानी परेर खोर्लावेसी भन्ने ठाउँमा बसेको छु, अब यहाँबाट हिँडेर जाने बाटो छ, हिँडेर जान्छु, बच्चाहरूलाई राम्ररी खुवाउँनु भन्नुभयो, त्यसपछि कुरा भएन,’ शोभाले भनिन्।
शोभाका लागि त्यो नै मोहनको अन्तिम फोन थियो।
मोहन हराएको पाँच दिनपछि असार ६ गते आइतबार सामागाउँ प्रहरी चौकीका प्रमुखले उनी कार्यक्षेत्र नपुगेको भन्दै शोभालाई जानकारी गराएका थिए। शोभा आफन्तको सहयोगमा गोरखा पुगिन्।
जिल्ला प्रहरी कार्यालयमा घटनाबारे छलफल भयो। प्रहरीले मोहन जाँदै गरेको बाटोमा निकै ठूलो पहिरो खसेको कुरा सुनाए। प्रहरीको कुरा सुनेर शाेभा भावविह्वल भइन्। पहिरो गएको ठाउँसम्म जान खाेज्दा प्रहरीले केही फाइदा नहुने बताएपछि शाेभाले अब के गर्ने भन्नेबारे साेच्नै सकिनन्।
सम्पर्कविहीन भएका मोहनको खोजीका लागि जिल्ला प्रहरी कार्यलय गोरखाले असार ७ गते कागज बनाएको शोभाको भनाई छ।
‘सुरूमा खोजी भएन, ६ गते मैले थाहा पाएँ, उताबाट घर फर्कियो कि भनेर सोधेँ, मैले सामान लिएर गएको मान्छे किन फर्किनु भनेपछि हल्लाखल्ला भयो, त्यसपछि मात्रै खोजी गर्ने भन्ने भयो,’ उनले भनिन्।
त्यसपछि पाँचजनाको प्रहरी टोलीले मोहनको यात्रा विवरण खोजेको थियो। मोहनको टेलिफोनको अन्तिम कल उनी कार्यरत चौकीका प्रमुखसित भएको देखिएको शोभाको भनाइ छ।
शोभाका अनुसार प्रहरीका ती कर्मचारीले मोहनलाई पानी परिरहेकाले जोखिम होला नआउन भनेको बताएको थिए । मोहनले १० बर्ष जागिर गर्दा यस्तै बाटो हिँडिएकै हो भन्दै आउँछु भनेछन्। असार १४ गते कुकुरसहितको टोलीले पहिरो खसेको ठाउँमा खोजी गरेपनि मोहनको कुनै पत्ता लागेन।
‘प्रहरीले कुकुर सुघाए, केही पनि कोट्याएन भन्यो, त्यही हो खोजी कार्य, उहाँहरूले लास भेटिएको छैन कसरी मृत घोषणा गर्ने भन्छन्, तलव पनि रोकीएको छ,’ उनले भनिन्।
त्यही बाटोमा पहिरोमा परेर मोहन बेपत्ता भएको हुनसक्ने प्रहरीको अनुमान मात्रै छ। वास्तविकता खोज्ने प्रयास प्रहरीले गरेको छैन। १० बर्ष सेवा गरेको प्रहरी विभागले आफ्नो कर्मचारी हराउँदा पनि चासो नदिएको शोभाको आरोप छ।
‘उहाँहरूले खोजी नै गर्नुभएन, जिउँदो या मरेपनि पत्ता लागउनुपर्यो, आफ्नो कर्मचारीलाई यत्रो वर्षसम्म खोज्न नसक्ने कस्तो हो प्रहरी?’ उनले प्रश्न गरिन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेका अनुसार मोहन त्यो दिन गोरखा बजार पुगेको, त्यहाँ प्रहरी सँग भित्रकै साथीहरुसित भेटेको, पानी परेकाले साथीहरूले मोटरसाइकलमा बाटोसम्म पुर्याएको खुलेको छ।
'भेटिए त हुने, केही पनि फेला परेको छैन। मरेको भए शव भेटिएको छैन ज्युँदो रहेछ भने पनि फेला परेको छैन। आम नागरिकले अनुमान गर्न मिल्छ तर हामीले तथ्य फेला नपारेसम्म केही भन्न मिल्दैन,' लामिछानेले भने।
मोहन बेपत्ता भएको बारे प्रहरीले एउटा फायल बनाएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाले उपल्लो कार्यालयसँग पनि राय मागेको छ। कानुनले नै १२ बर्षसम्म फेला नपरे मृत भन्न नसकिने अवस्था रहेको उनी बताउँछन्।
'ऐन बाहिर जाने अवस्था नरहेकाले परिवारलाई के भन्ने अन्योल छ,' उनले भने।
बेपत्ता भए खोजी हुनुपर्ने वा मृत हो भने सोही अनुसार प्रहरी संगठनबाट सहायता पाउनुपर्ने परिवारले माग गरिरहेको छ।
उजुरी दिन गए कैलाली प्रहरीले गोरखाले खोज्छ भन्छ। कसैले १२ वर्ष फेला नपरे बल्ल मृत मानिने भन्छन्। त्यसपछि मात्रै शोभा र उनका छोरीले सरकारी सहयोग पाउने बताइन्छ। कानुनमा खास के लेखिएको छ त्यो थाहा नपाएकी शोभालाई भने हरेक दिन कष्ट छ।
तीन बर्षदेखिको चुहिन थालेको छाना अब झनै बिग्रेको छ। मोहन जाँदा १६ महिनाकी कान्छी छोरी अब स्कुल जाने उमेरकी भएकी छन्। छोरीलाई स्कुलमा पढाउन शोभासँग पैसा छैन।
‘एकछोरी २ कक्षामा, अर्की एक कक्षामा र एउटी अब स्कुल जाने भएकी छ, नगरपालिकालाई कापीकलमका लागि कुरा गरेकी छु, ’ उनले भनिन्।
छिमेकी दुई घरमा झाडुपोछा गरी शाेभाले आफ्नो पेट र तीन छोरी पालेकी छन्। एक घरमा काम गरेर महिनामा तीन हजार पाँच सय आम्दानी हुने उनी बताउँछिन्।
एउटा छोरी बिरामी भएपछि शोभाको जीवनमा थप बज्रपात आइलागेको छ। पायल्स जस्तै लक्षण भएको रोग लागेर आन्द्रा नै बाहिर निस्केपछि केही दिन अघिमात्रै उनले छोरीलाई सेती अस्पताल लगेकी थिइन्।
सेतीमा उपचार नहुने बताउँदै डाक्टरले नेपालगन्ज वा काठमाडौं लैजान सुझाएका छन्। शोभासँग गाडीभाडा पनि छैन। कुनै संघसंस्थाले सहयोग गरिदेलान् कि भन्ने आशमा छिन्।
उता ससुरा बिरामी परेर पाँच दिन अस्पतालमा राखेर घर लगिएको कुरा फोनबाट शोभाले थाहा पाएकी छन्। 'भेट्न जाने अवस्था छैन। मर्नुअघि बुबाले छोरीको मुख हेर्न चाहेका छन् रे,' उनले भनिन्।