श्रीपञ्चमीदेखि सुरू भएको सतीघाटुको अध्याय यस वर्षका लागि सकिएको छ। गुरूङ समुदायमा इष्टदेवीहरूको साथमा आमा, धर्ती र आकाशलाई साक्षी राखेर सुरू गरिएको घाटु चण्डी पूर्णिमा अर्थात् बुद्ध जयन्तिसम्म निरन्तर नाच्ने गरिन्छ। विभिन्न चरण पूरा गर्दै यसपालिको घाटु नाच सेलाइएको हो।
यसपालि पूर्वी लमजुङका विभिन्न ठाउँबाट बसाइ सरी भोटेओडारमा बसोबास गर्ने गुरूङ समुदायको साझा संस्था सिर्जनशील तमु समाजले एक महिनासम्म विधिवत् रूपमा घाटु नाच नाचेको छ।
आफ्नो थातथलो छोडे पनि रितिरिवाज र परम्परा जोगाउनु पर्छ भनेर विगतदेखि नै घाटु, सोरठी, स्यार्गालगायतका परम्परालाई निरन्तरता दिँदै आएको समाजका अध्यक्ष सन्तबहादुर गुरूङले बताए।
सती घाटु नाच्ने कन्याहरूमा देवी चढ्ने भएकाले उनीहरू नाच्ने क्रममा बेहोसीको अवस्थामा हुने मान्यता छ। यो अवस्थालाई कुसुण्डा भनिन्छ। यो क्रममा गीतको ताल बिग्रियो भने नाच्ने कन्याहरू बेहोस भइरहने विश्वास गरिन्छ। यसर्थ सती घाटुलाई कुसुण्डा घाटु पनि भनिन्छ। घाटु नचाउने, गाउने गुरूबाहरूले गितै गीतको माध्यमबाट घाटुसरीहरूलाई बेहोसीबाट होसमा ल्याउने गर्छन्।
गुरूङ समुदायको यो मौलिक परम्परा जोगाउन सिर्जनशील तमु समाज एकवद्ध भएर लागेको समाजका पूर्वअध्यक्ष बेलबहादुर गुरूङले बताए।
हेर्नुस् तस्बिरहरू: