पहिचान पक्षधरले निकालेको राँकेजुलुस प्रहरीले शान्त बनाउन खोज्दा झापाको दमकमा झडप भएको छ। दुवै पक्षबीच भएको झडपका कारण दमक बजार करिब २ घन्टा अशान्त बनेको थियो।
प्रदेशको नाम 'कोशी' खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधर र प्रहरीबीच झडप भएको हो। पहिचान पक्षधरले राँकोले प्रहरीलाई आक्रमण गर्न थालेपछि स्थिति असामान्य बनेको हो।
प्रहरीले स्थिति नियन्त्रणमा लिन कम्तिमा डेढ दर्जन बढी अश्रुग्यास प्रहार गरेको थियो। यसअघि पहिचान पक्षधरले प्रहरीमाथि राँको र इँटा-ढुंगा प्रहार गरेका थिए। यस क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन्। घाइतेको संख्या यकिन नभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
घाइतेको स्थानीय आम्दा, लाइफलाइन र दमक अस्पतालमा उपचार भइरहेको बताइएको छ।
प्रदेशको नाम ‘कोशी’ खारेज गरी पहिचानको आधारमा नाम राख्नुपर्ने माग राख्दै लामो समयदेखि अन्दोलनरत पहिचान पक्षधरले मंगलबार दमकमा राँकेजुलुस गरेका थिए। आन्दोलनकारीले राजमार्गमा चलेका निजी तथा सार्वजनिक यातायातका साधनमाथि तोडफोड पनि गरेका छन्।
भ्याली फिड प्रालिका सञ्चालक घनश्याम निरौलाका अनुसार पहिचानवादीले राँको, ढुंगा प्रहार गरे भने प्रहरीले अन्धाधुन्ध अश्रुग्यास प्रहार गरेको थियो। दमकको बेलडाँगी रोडमा आफ्नो निजी कारमा रहेका निरौला झडपका कारण गाडी छाडेर भागेका थिए। उनको बा २१ च १६९१ नम्बरको कारको सिसा फुटेको छ।