पुरानो बसपार्कस्थित काठमाडौं भ्युटावरमा सर्वसाधरणका लागि पार्किङ खुला गरिएको छ।
भ्युटावर निमार्णाधिन अवस्थामै हुँदा वैशाख २२ गतेदेखि पार्किङ खुलाइएको काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख महेशकुमार काफ्लेले जानकारी दिए।
उनका अनुसार सडकमा अव्यवस्थित पार्किङ हटाइरहेका हुँदा भ्युटावरको पार्किङ खुला गरिएको हो।
'टावरमा अहिले एक हजार हाराहारी मोटरसाइकल तथा स्कुटर पार्किङ गर्न सकिने र ३०० वटासम्म साना तथा ठूला गाडी पार्किङ गर्न मिल्छ,' उनले भने।
काफ्लेका अनुसार अहिले दुई तला पार्किङ मात्र खुला गरिएको छ। यसले न्युरोड तथा रत्नपार्क आसपास गुड्ने सवारीसाधनको पार्किङ धान्ने उनले बताए।
'यसअघि बसपार्क हुँदा यहाँको जमिनभरि सवारी हुन्थे। अब तीन तलामा छुट्टाछुट्टै किसिमका सवारी पार्किङ गर्न सकिने भएकाले धेरै अटाउँछन्,' उनले भने।
सार्वजनिक सवारीले यात्रु ओराल्ने तथा चढाउने र हिँडिहाल्ने हुँदा पनि ठूलो संख्यामा सवारी अटाउने उनले बताए।
भूमिगत पार्किङ रहने यो टावरमा काउन्टर, सूचना डेस्कसँगै अत्याधुनिक सिनेमा हल रहनेछ। रेस्टुरेन्ट, बैंक तथा वित्तीय संस्था लगायत व्यापारिक प्रयोजनलाई पनि लक्षित गरिएको छ। टावर भूकम्प प्रतिरोधात्मक हुने काफ्लेले जानकारी दिए।
महानगरपालिकाले २०७१ फागुनमा सार्वजनिक निजी साझेदारी मोडलमा २९ तले टावर निर्माण गर्ने सम्झौता गरेको थियो। यो भ्युटावर बनाउने जिम्मा जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स प्रालिले पाएको छ।
भुइँचालोपछि सहरी विकास मन्त्रालयले १२ तलाभन्दा अग्लो बनाउन नसकिने बताएपछि महानगरले १२ तले टावरकै नक्सा पास गरेर निर्माण थालेको थियो। टावरको शिलान्यास २०७२ कात्तिक २५ गते भएको थियो।
'अझै तला थप्नुपर्दा अहिलेको भारवहन क्षमताले पुग्छ कि पुग्दैन भन्ने अध्ययन गर्न पुल्चोक इञ्जिनियरिङ कलेजलाई जिम्मा दिएका छौं,' उनले भने, 'समग्र प्राविधिक अध्ययनपछि कति तला थप्न सकिन्छ भन्ने यकिन हुनेछ।'
तस्बिरहरू:
काठमाडौं महानगरपालिकाले अनामनगरस्थित एक भवनमा डोजर चलाएको छ।
सोमबार अनामनगरस्थित सार्वजनिक सथानमा बनेको दुई तले भवनमा डोजर चलाइएको महानगर प्रहरी इश्वर वाग्लेले जानकारी दिए।
उनका अनुसार पहिले उक्त भवनमा प्रहरी समेत बसोबास गर्दै आएका थिए।
'पहिले त्यहाँ प्रहरी बस्नुहुन्थ्यो,' उनले भने, 'तर केही समय अगाडि नै उहाँहरू सरिसक्नुभयो। दोस्रो तलामा सैचालित करातेले भवन खाली गराएको थिएन।'
नगर प्रहरी गएर करातेको सामान समेत हटाएर भवन खाली गरी डोजर चलाइएको उनले बताए।