यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथा
बबी तामाङले त्यो दिन आफ्नो छोटो कपाल बाँधेकी थिइन्। केटाको जस्तो पाइन्ट, ज्याकेट र जुत्ता लगाएकी उनको काँधमा झोला थियो। झट्ट हेर्दा केटाजस्तै देखिन्थिन्।
अरू बेला त उनी केटीकै हुलियामा हिँड्छिन्। त्यो दिन अलग रूपमा भेटिइन्।
बबीले कारण खुलाउँदै भनिन्, 'म आफन्तको घर जान लागेको। उनीहरूको घर जाँदा केटाकै रूपमा जान्छु। उनीहरूलाई म ट्रान्सवुमन (पारलैंगिक महिला) हुँ भन्ने थाहा छैन। यसबारे भनिरहनुभन्दा केटाजस्तै बनेर भेट्न सहज लाग्छ।'
बबी काभ्रेपलाञ्चोककी स्थायी बासिन्दा हुन्। परिवारको कान्छो सन्तानका रूपमा जन्मिएकी उनको लैंगिक पहिचान छोरो थियो। तर सानै उमेरमा उनलाई केटीको जस्तो लुगा लाउन मन लाग्थ्यो। आमाको फरिया बेर्थिन्। साथी पनि केटीहरू नै बनाउँथिन्।
उनको परिवार ज्यालादारी कामको भरमा पालिएको थियो। आमाबुबाले उनलाई स्कुल भर्ना गरिदिए पनि पढाइ चार वर्ष मात्रै चल्यो। कमजोर आर्थिक अवस्थाले घरमा सबैलाई सकेजति कमाउनुपर्ने चटारो थियो।
१३ वर्षकी हुँदा बबी काठमाडौं आइन्। गाउँकै एक चिनारूले गलैंचा बुन्ने काममा लगाइदिएका थिए। तीन वर्ष गलैंचा बुनेपछि उनी सुन्धाराको एउटा सानो होटलमा भाँडा माझ्न थालिन्। काठमाडौं आएपछि उनले आफ्नो हुलिया केटीकै जस्तो बनाइसकेकी थिइन्। होटलमा काम गर्दा त किशोरी नै भएर गइन्।
'एक दिन अचानक होटल साहुको छोराले मेरो शरीरमा हात लगायो। यौन दुर्व्यवहार गर्यो,' बबीले सम्झिन्।
साहुका छोराको व्यवहारले बबी जिल्ल परिन्। त्यो बेला यौन दुर्व्यवहारबारे उनलाई थाहा थिएन तर साहुका छोरालाई झपारिन्।
'अबदेखि मलाई छोयौ भने ठीक हुँदैन भनेँ। उसले फेरि त्यस्तो आँट गरेन,' बबीले भनिन्।
होटलमा काम गर्नु नपर्ने समयमा उनी रत्नपार्कतिर जान्थिन्। यही क्रममा उनले आफूजस्तै दुई जना पारलैंगिक महिला भेटिन्। उनीहरूसँग भेट बाक्लिँदै जाँदा बबीले यौनिक तथा लैंगिक समुदायबारे थाहा पाइन्। उनलाई आफ्नो यौनिक पहिचान थाहा भएको पनि त्यही बेला हो।
आफू पारलैंगिक महिला हुँ भन्ने पक्का भएपछि उनको वर्षौंको अलमल र दुविधा अन्त्य भयो।
रत्नपार्कमा भेटिएका तिनै दुई महिलामार्फत बबी बानेश्वरस्थित एक रेस्टुरेन्टमा नाच्ने काम गर्न थालिन्। चार वर्षदेखि गरिरहेको होटलको काम छाडिदिइन्।
२०५८ सालको कुरा हो। उनी साँझ पाँच बजेदेखि रातको १२ बजेसम्म रेस्टुरेन्टमा नाच्थिन्। कहिलेकाहीँ रातको एक पनि बज्थ्यो। नाच्ने काम थालेको एक महिनापछि दरबार हत्याकाण्ड भयो। सुरक्षा व्यवस्था कडा पारियो। चोकचोकमा सैनिक र प्रहरीले मान्छेलाई रोकेर केरकार गर्न थाले।
बबीका अनुसार एक दिन नाच्ने काम सकेर उनीसहित चार जना सुन्धारातर्फ फर्किरहेका थिए। बाटोमा प्रहरी टोली भेटियो। प्रहरीले उनीहरूलाई एकछिन केरकार गर्यो। अनि थुनामा हाल्यो।
'हाम्रो केही गल्ती थिएन। कामबाट फर्किरहेका थियौं। केही नगरे पनि प्रहरीले लगेर थुन्यो,' बबीले भनिन्, 'त्यस बेला प्रहरीले धेरै दुःख दियो।'
केही समयपछि उनीहरू थुनामुक्त भए। बबीले रेस्टुरेन्टमा नाच्ने काम छाडिन्। भइरहेको रोजगारी छुटेपछि मुश्किलका दिन सुरू भए। रेस्टुरेन्टमा काम गर्दा छाक टार्न गाह्रो थिएन। कामै नभएपछि के खाने? उनले धेरै ठाउँमा काम खोजिन्। कहीँ जुरेन। भोकै पर्ने अवस्था भयो। उनले काठमाडौं नै छाड्ने निर्णय गरिन्।
काठमाडौंबाट निस्केर भारत जाने सोच थियो। केही पैसा ऋणपान गरेर जुटाइन्। यो योजना पनि सोचेजस्तो भने भएन। बुटवल पुगेकी थिइन्, उनलाई भारतको बाटो पक्डिनै मन लागेन। बरू बुटवलमै काम खोज्न थालिन्। काम पाउनु काठमाडौंमा न बुटवलमा, सास्ती उस्तै थियो।
भोको पेटमा अनेक हन्डर खाएपछि बबी अन्ततः यौनकर्मी बनिन्।
'कुनै काम नपाएपछि बाध्यताले सेक्सवर्कर (यौनकर्मी) बनेँ,' बबीले भनिन्, 'मलाई त्यति बेला कसरी पैसा कमाएर पेटभरि खाने भन्ने मात्र थियो। त्यसैले जे गर्न पनि तयार भएँ। शरीर बेच्ने रहर थिएन। बाध्यताले मान्छेलाई जे पनि गराउने रहेछ।'
यौनकर्मका लाग्नेले शृंगार गरेर बस्नुपर्थ्यो। सुरूका दिनमा यी सामान जुटाउन पनि बबीसँग पैसा भएन। एचआइभी एड्स र अरू यौनजन्य सरूवा रोगको जोखिम हुन्छ भन्नेबारे थाहा पनि थिएन। सुरक्षाका उपायबारे झन् थाहा हुने कुरै भएन।
चुनौती र स्वास्थ्यका लागि ठूलो जोखिम मोल्दै बबी यौनकर्ममा होमिएकी थिइन्।
'ती दिन सम्झिँदा शरीरमा काँडा उम्रेजस्तो हुन्छ। यौनइच्छा पूरा गर्न आउनेहरू मनपरी गर्थे। मान्छे नै ठान्दैन थिए। हाम्रो पीडा बुझ्ने कुरै भएन,' बबीले भनिन्, 'केही पुरूष बढी बल गर्थे। कोही आफ्नो इच्छा पूरा भएपछि पैसा नदिई जान्थे। पैसा माग्दा मार्ने धम्की दिन्थे।'
त्यो समयमा बबीलाई प्रेम प्रस्ताव राख्नेहरू पनि आउँथे। उनले कहिल्यै कसैको विश्वास गरिनन्।
'मलाई थाहा थियो, हामीजस्ता मान्छे कसैको प्रेमिका, श्रीमती हुन सक्दैनौं भन्ने। पुरूषहरू आफ्नो यौन प्यास मेटाउन मात्र त्यसो भन्थे,' उनले भनिन्।
केही समय यौनकर्ममा लागेपछि बबीलाई एउटा प्रश्नले सताउन थाल्यो– के अब जिन्दगीभर यसै गरी बाँच्ने?
उनीसँग आफ्नै प्रश्नको जवाफ थिएन। कामको अर्को उपाय पनि थिएन। उनलाई अर्को काम पाइँदैन होला, जीवन यसरी नै सकिन्छ होला जस्तो लाग्थ्यो।
सन् २००१ मा लैंगिक तथा यौनिक अल्पसंख्यकको हकहित पैरवी गर्ने संस्था नीलहीरा समाज (ब्लुडाइमन्ड सोसाइटी) स्थापना भएको थियो। बबी एक साथीमार्फत उक्त संस्थामा पुगिन्।
यसै दिन बबीको जीवनले नयाँ घुम्ती लियो। उनले संस्थाकै कार्यालयमा काम गर्ने अवसर पाइन्। यौनकर्म त्यागिन्। यौनकर्म छाडेका दिन उनलाई पिँजडाबाट मुक्त भएर खुला आकाशमा उडेजस्तो लाग्यो।
'त्यो काम छाडेको दिन आफूलाई चराजस्तै महसुस गरेँ,' उनले भनिन्।
बबीले नीलहीरा समाजमा काम गर्दै पढ्ने अवसर पनि पाइन्। उनको खुसी फर्कियो। पहिलेका दुःख बिर्सिन सजिलो हुँदै गयो। नीलहीरा समाजमा काम सुरू गरेपछि आफूप्रति मानिसहरूको दृष्टिकोण पनि बदलिएको महसुस भयो।
उनीसँग पुरूष नामको नागरिकता प्रमाणपत्र छ। लैंगिक पहिचानमा पुरूष लेखिएको छ। उनी 'अन्य' लेखाएर नागरिकता बनाउन चाहन्छिन्। तर सरकारी कार्यालयमा धेरै झमेला भएकाले नागरिकता सच्याउन नसकेको उनले बताइन्।
बबीले नीलहीरा समाजबाट विदेशयात्राको अवसर पनि पाएकी छन्। उनी पहिलोपटक सन् २०१२ मा थाइल्यान्ड पुगिन्। त्यहाँ उनले यौनकमीहरू सम्मानजनक रूपमा बाँचेको देखिन्। त्यहीँ उनले कुनै समय आफू पनि यौनकर्मी थिएँ भन्ने कुरा निर्धक्क भएर पहिलोपटक सुनाइन्।
'थाइल्यान्ड गएपछि मैले यौनकर्म पनि एउटा काम हो, कसैले यो पेसा अपनाउँछ भने त्यसमा केही गलत छैन भन्ने बुझेँ,' उनले भनिन्।
थाइल्यान्डपछि बबी संस्थागत प्रतिनिधित्व गर्दै अस्ट्रेलिया पुगिन्। त्यहाँ आयोजित एक सम्मेलनमा पनि आफ्नो जीवनका अनुभवहरू सुनाइन्। विदेश गएपछि कानुन के हो, आफ्नो अधिकार के हो, आफ्नो अधिकारका लागि आफैं बोल्नुपर्छ भन्ने कुरा उनले बुझेकी हुन्। हाल उनी नेपालमा यौनकर्म गरिरहेका व्यक्तिको हितका लागि काम गर्छिन्, आवाज उठाउँछिन्।
'म जे हुँ र जुन समुदायमा छु, त्यसमा गर्व छ,' बबीले भनिन्।