पोखरामा डेरा लिएर बसेकी छोरी र तीन जना नातिनीलाई घरबेटीले निकालिदिएछन्।
कोठा भाडा तिर्न नसकेको भन्दै घरबेटीले कोठामा ताला लगाइदिएको खबर मादी गाउँपालिकाकी ५६ बर्षीय आमाले थाहा पाइन्। बुधबार पोखरा झरेर घरभाडा तिरिदिइन्।
‘मलाई छोरी र नातिनीले भनेका होइनन्, छरछिमेकले भनेर थाहा पाएँ,’ उनले भनिन्, ‘आज घरबेटीको डेराभाडा तिरेर कोठाको चाबी खोलिदिए।’
दलित समुदायका आमा र छोरी दुबै आर्थिक अवस्था कमजोर छ। पोखरा बस्ने छोरी शारीरिक रूपमा काम गर्न नसक्ने अवस्थामा छिन्। पोखरामा कहिलेकाहीँ भेटिने काम गर्न छोरी पछाडि पर्दिनन्। शारीरिक कमजोरीले उनी अरूले जस्तै काम गर्न भने नसक्ने आमाले बताइन्।
छोरीले अन्तर्जातीय विवाह गरेर ३ जना नातिनी जन्माइन्। नातिनीहरू जन्मिएपछि ज्वाइँ भने सम्पर्कविहीन बनेको आमाले बताइन्।
‘ज्वाइँ सम्पर्कमै छैनन्, छोरी र नातिनीको देखभाल मैले नै गर्नुपर्छ,’ उनले भनिन्।
उनका छोरी ३८ वर्षकी भइन्। उनको शारीरिक कमजोरी भएको भने २०७८ असोजपछि हो। जुनबेला उनी ओमानमा बेचिएकी थिइन्।
नारायणघाटका राजु श्रेष्ठ भन्ने व्यक्तिसँग चिनजानकै मान्छेले ती आमाका २५ वर्षे छोरासँग सम्पर्क गराइदिए। जसले दुबईमा रोजगारीमा लैजाने आश्वासन दिए। उनीहरू पनि वैदेशिक रोजगारीमा सजिलै जान पाउने भन्दै हौसिए।
दिदीभाइ मिलेर दुबई जाँदा कम्तीमा ३ लाख खर्च लागेको आमाले बताइन्। श्रेष्ठले उनीहरूलाई पर्यटक भिसामा दुबई लगेछन्। दुबै पुगेपछि छोराले कुनै काम पाएनन्। केही दिन बसेर स्वदेश फर्किनुपर्ने भयो।
दिदीभाइ सँगै दुबई पुगेपछि उनीहरूलाई दलालले छुट्याए। दलालले उनलाई ओमान पुर्याएछन्।
‘छोराले दुबईबाट फोन गरेर नक्कली भिसा परेछ, काम गर्न नपाइने भयो भनेपछि बल्ल छोरी हराएको थाहा भयो,’ आमाले भनिन्।
छोराछोरी सँगसँगै दुबई पुगे पनि छोरीसँग कुनै सम्पर्क हुन सकेन। छोरी हराएकोबारे स्थानीय जनप्रतिनिधि हुँदै सुरक्षित आप्रवासन कार्यक्रम (सामी)को सम्पर्कमा आमा पुगिन्।
सामीका मनोपरामर्शदाता सिर्जना गुरूङले परिवारलाई सान्त्वाना दिँदै हराएको छोरी खोजबिनमा सहयोग गरिन्।
‘नेपालबाट दुबई पुगेकी छोरी पासपोर्ट नम्बरका आधारमा ओमान पुगेको थाहा लाग्यो,’ गुरूङले भनिन्, ‘हामीले खोज्दा खोज्दा मुश्किलले उद्धार गर्न सफल भयौं।’
आमाका अनुसार ओमानमा बेचिएकी छोरीलाई दलालले ५ लाख रुपैयाँमा बिक्री गरेका थिए। ओमानमा साहुले नेपाली ५ लाख फिर्ता दिए घर पठाइदिने बताएको छोरीको भनाइ उदृत गर्दै आमाले बताइन्।
‘एउटा घरबाट अर्को घरमा सार्ने, दिनरात काम लगाउने, खान पनि नदिने गर्दा रहेछन्,’ उनले भनिन्, ‘बिक्री भएको थाहा पाएर खोजबिन हुँदैछ भनेर चाल पाएपछि त्यहाँका दलालले बेस्सरी पिटेछन्।’
ओमानमा खाएको कुटाइका कारण छोरी अहिले राम्रोसँग काम गर्न नसक्ने अवस्थामा पुगेको आमाले बताइन्।
मालिकको घरमा शोषणमा परेकी छोरी भागेर नेपाली दूतावासमा पुगेपछि उद्धार सफल भएको सामी कार्यक्रमका मनोपरामर्शदाता गुरूङले बताइन्।
छोरी हराएपछि खोजी गर्न पोखरा, काठमाडौं र नारायणघाट धाउँदा धाउँदा करिब ४ लाख ऋण लागेको आमाले बताइन्।
‘छोरीको खोजबिन गर्न हनुमान ढोका पुगें, रवि लामिछानेको अफिसमा पनि गए, कसैले सहयोग गरेनन्,’ उनले भनिन्।
अहिले नातिनीमध्ये जेठी ११ कक्षा पढ्दैछन्। अरू २ जना सानै छन्। सहयोगका लागि अपिल गर्दा कहीँबाट पनि सहयोग नपाएको उनले बताइन्।
वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति लिएर नजाँदा दलालले पर्यटक भिसामा लगेर बिक्री गर्ने गरेको सामीका कार्यक्रम अधिकृत शिव रेग्मीले बताए।
‘विदेश जाँदा सीप सिकेर जानुपर्छ, श्रम स्वीकृति लिनुपर्छ,’ उनले भने, ‘पैसा र पासपोर्ट बुझाउँदा भरपाई गर्नुपर्छ, नत्र बेचबिखनमा र ठगीमा पर्न सकिन्छ।’
नेपालबाट दैनिक २ हजार ५ सय युवा वैदेशिक रोजगारीका लागि खाडी देश र मलेसिया जाने गर्छन्। वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये दैनिक ३ देखि ५ जनाको मृत्यु भएर शव फर्किने गरेको अध्यागमन विभागको तथ्यांक छ।
विभागका अनुसार यस आर्थिक वर्षको वैशाखसम्म मात्र रोजगारीमा विदेश गएका २३ देशबाट ९ सय ९५ जनाको मृत्यु भइसकेको छ।
वैदेशिक रोजगारीमा लैजाने भन्दै बेचबिखनमा पर्ने र ठगिनेमा सीमान्तकृत समुदाय पर्ने गरेको सामीका कास्की कार्यक्रम संयोजक कुमबहादुर गुरूङले बताए।
‘वैदेशिक रोजगारीका दर्दनाक पाटा धेरै छन्,’ उनले भने, ‘बेचबिखन र ठगी रोक्न राज्यका सबै निकाय चनाखो हुनुपर्यो।’