कालिका नगरपालिकाको सिद्धी बजार नजिकैको तीन दोभान खोलो तरेर करिब दश मिनेट हिँडेपछि पाइमाराङ खोलाको दायाँतिर केही गराहरूमा मकै हुर्कँदैछ। कुनोमा रूखको आड लगाएर बनाइएको ओडारजस्तो देखिने ठाउँमा एक बृद्धा बसिरहेकी छन्।
उनी हुन् कालिका नगरपालिका–१० की सेतीमाया चेपाङ। ८० वर्षीया सेतीमाया यहाँ बाँदर लखेट्न बसेकी रहिछन्।
‘विहान ६ बजेतिरै झरेको। अँध्यारो नभएसम्म कुरिराख्नुपर्छ। नत्र हनुमान आएर सबै स्वाहः बनाइदिन्छ,’ विहानको दस बजेतिर हामीसँग भेट भएकी सेतीमायाले भनिन्, ‘मकैको बीउ खसालेदेखि नै ड्युटी बस्नुपर्छ। नत्र दुई पात आएबाटै बाँदरले चिथोरेर सकिहाल्छ। हामीले खानै पाइँदैन।’
करिब १५ मिनेट उकालो लागेपछि घर उनको छ। परिवारका सदस्यले ल्याइदिएको खाना खान्छिन्। रातपरेपछि सुत्न घर उक्लिन्छिन् उनी। ‘भोलिको ड्युटी फेरि सुरु भइहाल्छ। बाली नथन्काउँदासम्म यही गरिराख्ने हो,’ सेतीमायाले सुनाइन्।
चितवनको कालिका, राप्ती नगरपालिकाका र ईच्छाकामना गाउँपालिकाको पहाडमा चेपाङ समुदायको बसोबास छ। उनीहरूको मुख्य बाली नै मकै हो। पहाडको भिरालो जमिनमा खोरिया बनाएर उनीहरूले फापर, कोदो, तरकारी पनि फलाउँछन्।
तर केही वर्षदेखि कालिका–१० मा बाँदरको आतंक छ। उक्त वडाको नानदार गाउँका यामप्रसाद चेपाङले केही महिना अघि स्याहार्ने बेला भइसकेको फापर बाँदरले सोत्तर बनाइदिएको बताए।
‘अहिले मकै हुर्किंदै छ। दिनभर ड्युटी नलाए यो पनि सकिदिन्छ,’ हातमा ढुंगा लिएर बाँदर लखेट्न उभिएका यामप्रसादले भने, ‘खेत खोस्रिएर बीऊ लगाएको गेडा मकै पनि खान बाँकी राख्दैन।’
यामप्रसादकाअनुसार करिब ६ वर्षदेखि बाली नास गर्ने बाँदरले सताउन थालेको हो। त्यसअघि पहाडी क्षेत्रमा त्यस्तो बाँदर देखिन्थेन।
‘हाम्रोतिर पहिले कालो रंगको बाँदर देखिन्थ्यो। त्यो प्रायः जंगलतिरै बस्थ्यो। एक पटक खेदेपछि भागिहाल्थ्यो। यो पुच्छर रातो हुने हनुमान बाँदरले त हैरानै पारेको छ। एकछिनमात्रै छोड्यो भने सक्काइहाल्छ। लखेट्न खोज्दा चिथोरौंला झैं गर्छ,’ यामप्रसादले सुनाए।
बीउ छरेर उम्रन थाल्दाको कलिलो पात र घोगा लागेपछिको कलिलो मकै जोेगाउन असाध्यै गाह्रो भएको उनले बताए।
‘हामी यसैपनि वर्षभरी उब्जाएको अन्नले ६ महिना खान पनि धौ–धौ पर्ने समुदाय हो। बाँदरको आतंकले त झन् चेपाङलाई धुरुक्कै रुवाएको छ,’ उनले भने, ‘बाँदरले खाएर बाँकी रहेकोले कतिदिनलाई पुर्याउन सकिन्छ र।’
स्थानीय मिनमाया चेपाङले बाँदरले जंगलमा फल्ने चिउरी पनि नछाडेको बताइन्। पहाडी क्षेत्रमा फल्ने चिउरीको घिउ(चिउरीको गेडालाई पेलेर बनाइने घिउ) चेपाङहरूले भुटुनकोरुपमा प्रयोग गर्छन्।
‘चिउरी गेडा लागेबाटै बाँदरले खान थाल्छ। हाम्रो भुटुन पनि उसैले, खाना पनि उसैले खाने भयो,’ मिनमायाले भनिन्, ‘कन्दमूल त सक्यो सक्यो, दुःख गरेर बारीमा फलाएको अन्न पनि खान नदिने भयो।’
उनले बाली जोगाउन सबै काम छाडेर दिनभर बाँदर धपाएर बस्नपरेको बताइन्।
पाइमाराङका रामसिंह चेपाङको परिवारलाई केही वर्षअघिसम्म आफ्नै बारीको उत्पादनले खान पुग्थ्यो। तर बाँदरको आतंक बढ्न थालेपछि बजारको पनि भर पर्नुपरेको छ।
‘छोरा, नाती पढाउन जोगाएर राखेको पैसा खानेकुरा किन्नमा खर्च गर्नुपरेको छ,’ उनले भने, ‘बाँदरले बर्बादै बनायो। हामीलाई गाउँमा गरिखानै दिएन।’