राजा महेन्द्रले पोखरा आउँदा आराम गर्न रत्न मन्दिर बनाएका थिए। पश्चिमाञ्चल भ्रमणका बेला राजपरिवारको बास त्यही मन्दिरमा हुन्थ्यो। हिउँदयाममा काठमाडौं कठ्याङ्ग्रिदा राजपरिवार फेवाताल छेउको चउरमा पारिलो घाम ताप्थे। त्यतिबेलै रत्न मन्दिरलाई राजाको हिउँदे दरबार भनिन्थ्यो।
राजा महेन्द्रले श्रीमती रत्न राज्यलक्ष्मीका नाममा २०१३ सालमा निर्माण थालेर २०१५ सालमा निर्माण सकेका थिए। त्यतिबेला पोखरा शहर बनेकै थिएन। अहिलेजस्तो सुविधा सम्पन्न होटल र रेष्टुरेन्ट पनि थिएनन्। सर्वसाधारणका केही स-साना झुप्राहरू थिए। रोग र भोकले ग्रस्त थिए मानिसहरू।
दरबार बनेपछि राजाका परिवार आराम गर्न पोखरा आउँथे। उनीहरूका भोजभतेर चल्थ्यो। राजाको सवारी हुँदा रत्न मन्दिरको गेटदेखि भित्रैसम्म सर्वसाधारण लाइन लागेर दर्शन गर्थे। रत्नमन्दिरमा ४१ वर्ष बिताएकी ८२ वर्षीय प्रतापकुमारी अधिकारीका अनुसार त्यतिबेलाको माहौल नै बेग्लै थियो।
‘सर्खार (राजा) सवारी हुँदा दर्शन गर्न मान्छे लाइन लाग्थे, सबैले हात जोडेर दर्शन गर्थे, कोही सल्लाह गर्ने भए हुकुम हुन्थ्यो,’ उनले भनिन्।
२०१५ सालमा रत्न मन्दिर बनेपछि पहिलो पटक अधिकारीले जागिर पाएकी थिइन्। राजा आइराख्ने थाहा पाएपछि उनी निर्माणाधीन रत्न मन्दिर हेर्न गइराख्थिन्। राजाको दरबार बनाउन खटिएका कर्मचारीसँग कुरा गरेर उनले दर्शन गर्ने इच्छा जाहेर गरिन्। कर्मचारीसँग सल्लाह मिलेपछि आफूले राजा महेन्द्रको दर्शन पाएको उनले बताइन्।
दरबार बनेपछि तत्कालीन राजा महेन्द्र पोखरा आए। प्रतापकुमारीले उनलाई भेट्न पाइन्।
महेन्द्रले सोधे- तिमी जागिर खाने हो?
प्रतापकुमारीले जवाफ दिइन्- खान्छु हजुर।
‘ल काम गरे’ भनेर राजा महेन्द्रले हुकुम प्रमाङ्गीबाट प्रतापकुमारीलाई रोजगार दिए। त्यसपछि अविछिन्न २०५६ सालसम्म उनले रत्न मन्दिरको सेवामा खटिइन्।
रत्न मन्दिरको सरसफाइदेखि झ्याल ढोका खोल्ने उनको काम थियो। राजाको भ्रमण हुँदा अतिरिक्त काम पनि गर्नुपर्थ्यो। राजा आउँदा रत्न मन्दिरमा उल्लास छाउँथ्यो।
प्रतापकुमारीका अनुसार राजा आएपछि उनीहरूलाई सञ्चो विसञ्चो सोध्थे। रत्न मन्दिर राजा र राजाका परिवारका लागि बनाइएको थियो। अन्य दाजुभाइका लागि पोखरा आउँदा रत्न मन्दिरभन्दा केही तल अर्को हिमागृह बनाइएको थियो। राजाको परिवारबाहेक अन्य दाजुभाइ हिमागृह बस्थे।
त्यतिबेला वीरेन्द्र राजा बनेकै थिएनन्। महेन्द्रसँग आउँदा वीरेन्द्र रत्न मन्दिरका कर्मचारीसँग खेल्ने, हास्ने बोल्ने गरेको प्रतापकुमारीले सम्झिइन्। रत्न मन्दिर भित्र धुनीमा वरिपरि सबैजना बसेर हाँस्ने गरेको उनले बताइन्।
धुनीमा बसेर गफगाफ गर्दागर्दै एकदिन वीरेन्द्रले आफूलाई गीत गाउन भनेको प्रतापकुमारीले बताइन्।
‘धुनी वरिपरि बसेर गफ गर्थ्यौं, हाँस्थ्यौं,’ उनले भनिन्, ‘वीरेन्द्र सर्खारले गीत गाउन हुकुम भयो, मलाई त आउँदैन भनें।’
दरबारमा कहिलेकाहीँ नाचगान चल्थ्यो। राजा, उनका आफन्त र उनले बोलाएका पाहुना मदिरा पिउँथे। बाहिर खुल्ला ठाउँमा भोज भने नलागेको उनले बताइन्।
दरबारमा अहिले पनि राजाका परिवारले चलाएका मोटरबोट छन्। फेवातालमा महेन्द्रका कान्छा भाइले मोटरबोट चलाउने गरेको प्रतापकुमारीले बताइन्।
‘महेन्द्रका कान्छो भाइ बोट खेल्नुहुन्थ्यो, महेन्द्र सर्खारले त्यस्तो चकचकी गर्नुभएन’, उनले भनिन्।
राजाका परिवारबाहेक उनका भाइसमेत बस्न नपाउने रत्न मन्दिरमा सर्वसाधारण नागरिकको पहुँचमा थिएन। राजाको दर्शन गर्न जाँदामात्र नागरिकले दरबार देख्न पाउँथे। घुम्न र दरबारभित्र के छ भनेर हेर्न पाउँदैनथे।
एकदिन राजा महेन्द्रसँग अर्को एक जना मान्छे आए। अग्लो मान्छे। ती मान्छे सरासर दरबारभित्र गएर बसे। महेन्द्र भने बाहिर निस्केर यताउता हेर्न थाले।
‘एक पटक सर्खारसँग अर्को मान्छे आएका थिए, त्यो मान्छे सरासर दरबारको बरण्डामा आएर बसे, सर्खार ओर्लिएर यताउता हेर्न थाल्नुभयो,’ उनले भनिन्, ‘राजाभन्दा पनि ठूलो को मान्छे रैछ भन्ठान्थें, पछि बिपी रैछन् भन्ने कुरा थाहा भयो।’
नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाले आफ्नो आत्मवृतान्तमा राजा महेन्द्रसँग पोखरा घुमेको उल्लेख गरेका छन्। राजा र उनका परिवारबाहेक बिपीमात्र यस रत्न मन्दिरमा बास बसेका छन्। बाँकी कोही पनि नेता उक्त दरबारमा बस्न पाएका छैनन्। सर्वसाधारणको त पहुँच पुग्ने कुरै भएन।
राजा महेन्द्रको निधनपछि वीरेन्द्रले गद्दी सम्हाले। राजा वीरेन्द्र गरीब दु:खीलाई दया गर्ने खालको भएको प्रतापकुमारीले बताइन्। रात परेपछि सर्वसाधारण जस्तै बनेर वीरेन्द्रले गाउँ डुल्ने गरेको पनि उनले सुनाइन्।
रत्न मन्दिरमा बास बस्दा एकदिन राजा वीरेन्द्र बाहिर घुम्न निस्केछन्। पोखरामै एक जना छली नेपालीको घरमा पुगेर बोलाए छन्।
बाहिर मान्छे आएछ भनेर छली निस्किन् तर राजा भनेर चिनिनन्।
वीरेन्द्रले सोधेछन्- के पकाएको दिदी?
ढिडो- छलीले जवाफ दिइन्।
‘खाने हो यो?’ फेरि वीरेन्द्रले सोधे।
‘हो।’
‘खानुस् है त’ भनेर वीरेन्द्र फर्केछन्।
भोलिपल्ट गाउँमा राजा घरघरै बोलाउँदै हिँडेको गाइँगुइँ चल्यो। छलीले आफ्नो घरमा पनि आएको बताइन्।
‘राजा भन्ने कुरा पछि पो थाहा पाइछन्, हामीसँग भन्नुभएको थियो,’ प्रतापकुमारीले भनिन्।
रत्न मन्दिरमा काम गर्दागर्दै प्रतापकुमारीले अवकाश पाउने बेला भयो। उनले राजा वीरेन्द्रकी श्रीमती ऐश्वर्य राज्यलक्ष्मी शाहलाई आफ्नो परिवारबाट अर्को व्यक्तिलाई जागिर लगाइदिन बिन्ती बिसाइन्। रानीले हुन्छ भनेर हुकुम दिएछिन्।
‘२०५६ सालमा मसान्तिका दिनमा म निस्किएँ, मेरो ठाउँमा छोरी दुर्गा पराजुली संक्रान्तिका दिनमा हाजिर भइन्,’ उनले भनिन्।
अवकाश लिएपछि प्रतापकुमारी दरबार छिरेकी थिइनन्। राजा वीरेन्द्रको वंशनास हुने गरी २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भएपछि गएकी थिइन्। त्यतिबेला शोक मनाउन गएको उनले बताइन्। त्यसपछि उनी रत्न मन्दिर फर्किनन्।
दरबार हत्याकाण्ड भएपछि मात्र ज्ञानेन्द्र शाह राजा बनेका थिए। त्यसअघि उनी पोखरा आउँदा हिमागृह बस्थे। राजा बस्ने दरबारमा बस्न पाउँदैनथे। दरबार हत्याकाण्ड हुँदा पनि ज्ञानेन्द्र त्यही हिमागृहमा थिए। उनीसँग आफूले भेट्न नपाएको प्रतापकुमारी बताउँछिन्।
‘ज्ञानेन्द्रलाई मैले व्यहोरिन, उहाँ हिमागृह बस्नुहुन्थ्यो, म भेट्न गइनँ,’ उनले भनिन्।
रत्न मन्दिरमा राजाको सवारी हुँदा खाना पकाउने कुकदेखि सबै बन्दोबस्ती काठमाडौंबाट हुन्थ्यो। राजासँगै आउजाउ गर्ने कर्मचारी हुन्थे। पोखरामा रत्न मन्दिरको स्याहार गर्न १८ जना कर्मचारी रहेको प्रतापकुमारीले बताइन्।
दरबार हत्याकाण्डपछि उनी पहिलो पटक सोमबार रत्न मन्दिर गइन्। उनले काम गर्दा रत्न मन्दिरको छत राखिएको थिएन। बाहिरबाट भर्याङ पनि थिएन। उनले दरबारको भौतिक संरचनामा फरक पाएको त्यत्तिमात्र हो।
दरबारको बगैंचा अहिलेभन्दा त्यतिबेलै राम्रो भएको उनले बताइन्।
‘राजा हुँदा बगैंचे थिए। उनीहरूले फूल गोडमेल गर्थे। घाँस मिलाएर काट्थे। अहिले त फूलै रहेनछ,’ उनले भनिन्।
गणतन्त्र स्थापना भएको १५ वर्षपछि पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला भएको छ। तत्कालीन दरबारको सम्पत्ति नेपाल ट्रष्टको नाममा आएको छ। पोखराको रत्न मन्दिर र हिमागृह दुबै ट्रष्टको नाममा छ। त्यतिबेला राजा आउँदा चहलपहल हुने यी दरबारमा अब सर्वसाधारण नागरिकले पहुँच पाएका छन्।
राजा भएकै बेला रत्न मन्दिरभित्र रहेका जग्गामा खेती गरेको गौरीघाटकी विष्णु पौडेल र गोमा पंगेनीलाई अझै याद छ। दरबार हाताभित्रको जग्गामा मकै, बदाम, धान लगायत रोप्ने र उब्जनी कर्मचारीसँग मिलेर बाँडचुँड गरेको उनले बताइन्।
अन्नपातबाहेक दरबार हातामा घाँस काट्ने र रूख बिरूवाका सुकेका हाँगा पनि आफूहरूले काट्ने गरेको पंगेनीले बताइन्।
‘हामी त यहाँ ३५ सालदेखि नै घाँस दाउरा गर्न आउँथ्यौं। धान, बदाम, मकै रोप्थ्यौं,’ उनले भनिन्, ‘यहीँबाट स्याउला लगेर अदुवा, पिँडालु रोप्थ्यौं।’
नेपाल ट्रष्टका अध्यक्षसमेत रहेका संस्कृति एवं प्रर्यटन मन्त्री सुदन किराँतीले सर्वसाधारणका लागि रत्न मन्दिर खुला गरेका छन्। पर्यटकीय शहर पोखरामा पर्यटक घुम्नका लागि नयाँ गन्तव्य बनेको छ, ६५ वर्षअघि बनेको रत्न मन्दिर।
रत्न मन्दिर पहिलो पटक छिरेकी शर्मिला घिमिरेले परिसरका हरियो चउर, छहारी दिने रूख बिरूवा र शान्ति फेवाताल एकदम आकर्षक देखिएको बताइन्।
‘राजा रानी चौतारीमा बसेर फेवाताल हेर्थे होलान्, यहाँका चउरमा खेल्थे होलान्,’ उनले भनिन्, ‘यस्तो राम्रो ठाउँ रोजेर बसेका रहेछन्।’
होटल अर्किडकी सञ्चाचालकसमेत रहेकी घिमिरेले अब पोखरा आउने नेपाली र विदेशीले एक पटक घुम्नुपर्ने ठाउँका रूपमा रत्नमन्दिर खुला हुनु पर्यटनका लागि राम्रो भएको बताइन्।
होटल क्राउन हिमालयन प्लाजाकी सञ्चालक अम्बिका अर्यालले रत्न मन्दिर र हिमागृह खुलेपछि यहाँको शान्त वातावरणमा पर्यटक भुल्ने विश्वास गरिन्।
‘पोखरा आउने पर्यटक एकदिन बढी बस्यो भने पनि हाम्रा लागि फाइदा छ,’ उनले भनिन्।
नेपाल ट्रष्टका बोर्ड सदस्य याङजोम शेर्पाका अनुसार रत्न मन्दिर घुम्न अब नेपालीले एक सय र विदेशीले एक हजार तिरेर प्रवेश पाउँछन्। विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकले पचास रुपैयाँमै प्रवेश गर्न पाउँछन्।
कार्यविधि संशोधन गरेर प्रवेश शुल्क घटाउने, बिदाका दिनमा पनि खुलाउने गरी तयारी भइरहेको उनले बताइन्।
पर्यटनमन्त्री किरातीले आजभन्दा ६०/७० वर्ष अघि राजाले बनाएको दरबार जोगाउने जिम्मा आम नागरिकको हातमा आएको बताए।
‘रत्न मन्दिर खुल्नु ठुलो कुरा होइन, यसको रेखदेख र संरक्षण ठूलो कुरा हो,’ उनले भने, नेपालका राजाले ६०/७० वर्षअघि पोखरा घुम्दा बनाएको दरबार जोगाएर पर्यटक तान्न सक्नुपर्छ।’