बाँकेमा पाँच जनाको ज्यान लिएको नरभक्षी बाघ चितवनको कसरास्थित कठघरामा छ। फागुन १७ गते राप्तीपीडित सामुदायिक वनबाट नियन्त्रणमा लिइएको यो बाघलाई चितवन राष्ट्रिय निकुञ्जको कसरा ल्याएर 'इनक्लोजर' (कठघरा) मा राखिएको हो।
त्यसअघि यसले घाँस, दाउरा काट्न वन गएकी राप्तीसोनारी–४ की लीला विष्ट, राप्तीसोनारी–६ की चाँदनी थारू, धनबहादुर चलाउने, वकिल गद्दी र एक भारतीयको ज्यान लिएको थियो। अन्य दुई जनालाई घाइते बनाएको थियो।
सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका प्राविधिकसहितको समूहले डेढ हप्ता लगाएर डार्ट (लठ्याउने औषधि लोड गरिएको बन्दुकले हानेर) गरेपछि कसरा ल्याइएको थियो। तीन महिनादेखि कठघरामा रहेको बाघ निकै आक्रामक छ। मान्छे अगाडि आएपछि उसको छटपटाहट थप बढ्छ।
चितवन राष्ट्रिय निकुञ्जको सूचना अधिकारी पनि रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले यो बाघ निकै बलियो र आक्रामक रहेको बताए। ‘मान्छे खाने बानी परेको भएकाले पनि होला मान्छे अगाडि परेपछि थप आक्रामक बन्छ,’ उनले भने।
उनका अनुसार संख्या बढेसँगै बाघ र मान्छेबीचको द्वन्द्व पनि बढ्दै छ। घाँस, दाउरा, निउरो खोज्न वन गएका व्यक्तिहरुलाई बाघले निसाना बनाउने गरेको छ।
चितवनमा गतवर्षमात्रै बाघको आक्रमणबाट ११ जनाको मृत्यु भएको थियो। ७ जना घाइते भएका थिए। यस वर्ष एक जनाको मृत्यु भएको छ। चितवन निकुञ्जभित्र गत वर्ष विभिन्न कारणले ६ वटा बाघ मरेका थिए। यस वर्ष २ वटाको मृत्यु भएको छ। आर्थिक वर्ष २०७२/०७३ यता ३२ वटा बाघको मृत्यु भएको निकुञ्जको तथ्यांक छ।
निकुञ्जले नरभक्षी बाघलाई नियन्त्रणमा लिएर कठघरामा राख्ने गरेको छ। चितवनको कसरा र सौराहामा गरेर अहिले पाँचवटा बाघ कठघराभित्र छन्। कसरामा ३ र सौराहामा २ वटा बाघ छन्। तीमध्ये ४ वटा भाले हुन्।
कसरामा बाँके, माडी र बेलसहर सामुदायिक वनबाट नियन्त्रणमा लिइएका बाघ छन्। बाँकेको बाघ मान्छे खान पल्किएको भएकाले तत्काल छाड्न सक्ने अवस्थामा छैन। माडीको बाघलाई एक जना व्यक्तिमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिइएको हो। भैंसी चराउन निकुञ्जको सीमा क्षेत्रमा अमिलिया पुगेका ६८ वर्षीया सूर्यनारायण अधिकारीलाई बाघले आक्रमण गरेको थियो। गत असोजमा झण्डै एक महिना लगाएर यसलाई नियन्त्रणमा लिइएको हो।
सौराहामा मेघौली र कुमरोजबाट नियन्त्रणमा लिइएका बाघ छन्। गत जेठ २३ गते भरतपुर–२३ घैलाघारीमा मान्छे खाएको बाघले ९ दिनपछि करिब १० किलोमिटर पर वडा नम्बर २७ स्थित मेघौलीमा महिलाको ज्यान लिएपछि उसलाई नियन्त्रणमा लिइएको थियो। मृत्यु हुने दुबै महिला थिए। उनीहरु दुबैजना निउरो टिप्न सामुदायिक वनभित्र गएका थिए।
‘मान्छे मार्न पल्किएको बाघलाई जंगलमै रहन दिँदा अन्यमाथि पनि आक्रमण गर्ने डर हुन्छ। त्यसैले सकेसम्म नियन्त्रणमा लिने प्रयास हुन्छ। मध्यवर्ती क्षेत्रमा विशेषगरेर समस्याग्रस्त भएका बाघलाई पहिचान गरेर नियन्त्रणमा लिने गरिएको छ,’ तिवारीले भने, ‘यो एक प्रकारको सजाय पनि हो। कठघरामा राखेर उसको आनीबानी, व्यवहार सुधार्ने प्रयास हुन्छ। सुध्रिएको संकेत मिलेपछि फेरि सुरक्षित तरिकाले जंगलमै लगेर छाड्छौं।’
बाघलाई शरीरमा स्याटेलाइट कलर जोडेर छाड्ने गरिएको तिवारीले बताए। त्यसले उक्त बाघ कुन ठाउँमा, कस्तो अवस्थामा बसेको छ थाहा दिन्छ। क्षति गर्ने संभावना देखिए तुरुन्तै नियन्त्रणमा लिन सकिन्छ।
गत वर्ष दुइटा र यस वर्ष एउटा बाघलाई स्याटेलाइट कलर जोडेर निकुञ्जको कोर क्षेत्रमा छाडिएको तिवारीले बताए। ‘उनीहरुले अहिलेसम्म कुनै क्षति गरेको जानकारी नआएकाले सामान्य अवस्थामा फर्किएको अनुमान गर्न सकिन्छ,’ उनले भने।
यस वर्ष ४ वटा बाघको उद्धार गरेको निकुञ्जले जनाएको छ। गतवर्ष ७ वटाको उद्धार गरिएको छ।
समस्याग्रस्त बाघको पहिचान गरेर नियन्त्रणमा लिइने गरेपनि नियन्त्रणमा लिइएको बाघको व्यवस्थापन निुकञ्जका लागि चुनौती बनेको छ। चितवन निकुञ्जसँग अहिले पाँचवटा बाघमात्रै राख्नसक्ने क्षमता छ। ती पाँचवटै खोर अहिले भरिएका छन्। तत्कालै अर्को बाघलाई नियन्त्रणमा लिनुपरेको अवस्थामा राख्ने ठाउँ छैन। भएकामध्ये एकलाई जंगलमा छाडेर नयाँलाई राख्ने विकल्पमात्रै निकुञ्जसँग छ।
नियन्त्रणमा लिइएका बाघको आहारा व्यवस्थापन अर्को चुनौती हो। तिवारीकाअनुसार एउटा बाघका लागि दैनिक ५ देखि ७ किलो मासु आवश्यक पर्छ। ‘समय मिलाएर मासु र पानी खुवाउनुपर्छ। तर त्यसका लागि निकुञ्जसँग पर्याप्त स्रोत छैन,’ तिवारी भन्छन्, ‘वार्षिक कार्यक्रममा आहाराका लागि भनेर बजेट छुट्टाइएको हुँदैन। यो वर्ष, आगामी वर्ष कति बाघ समात्नुपर्ने अवस्था आउँछ भनेर कल्पना गर्न सकिने विषय पनि होइन।’
सामान्य अवस्थामा बाघले मान्छेमाथि यसै आक्रमण गर्दैन। घाइते, अशक्त, आहारा खोज्न नसक्ने अवस्थाको बाघले मान्छेमाथि आक्रमण गर्न सक्छ। बच्चासँग छ भने, अचानक जम्काभेट भएको अवस्थामा असुरक्षित महसुस गरेर पनि आक्रमण गर्न सक्छ। ‘त्यसैले जंगल जाँदा सचेत हुनुपर्छ। जंगल जानुपरेको अवस्थामा समूहमा जानुपर्छ, भड्किलो कपडा लगाउन हुँदैन,’ तिवारीले भने।
सन् २०२२ को सर्भेक्षणअनुसार नेपालमा ३५५ वटा बाघ छन्। चितवनमामात्रै १२८ वटा बाघ रहेको उक्त सर्भेक्षणले देखाएको थियो। चितवन निकुञ्जको पश्चिमतर्फ होटल टाइगर टप्स आसपासमा बढी बाघ रहेको तिवारीले बताए।
तस्बिर : राजेश घिमिरे/सेतोपाटी