कसैको घरमा चोरी भए के गर्ने? अन्जान व्यक्तिले जबरजस्ती करणी गरे कहाँ जाने? सवारी दुर्घटनामा परी चालकको मृत्यु भयो तर अर्को पक्ष फरार भए कसलाई गुहार्ने?
यस्ता आपराधिक घटना जुनसुकै बेला जसमाथि घट्न सक्छ।
यी घटना आइपरी हाले हामी सबैभन्दा पहिले प्रहरीमा जानुपर्छ। प्रहरीले घटनाको प्रकार हेरेर मुद्दा दर्ता गर्छ र अनुसन्धान अघि सार्छ। सामान्यतय चोरी, ठगी, जबरजस्ती करणी, सवारी दुर्घटनामा ज्यान गुम्यो, मान्छे मारियो भने सरकार आफैंले पीडितको पक्षबाट मुद्दा लड्छ। यस्ता मुद्दालाई फौजदारी मुद्दा भनिन्छ।
‘वलिकसँग कानुनका कुरा’ यस श्रृंखलामा हामीले फौजदारी मुद्दामा पीडित पक्षले न्यायको लागि के गर्नुपर्छ, जाहेरी कसरी दिन सकिन्छ, कति शुल्क लाग्छ, क्षतिपूर्तिको लागि के गर्नुपर्छ जस्ता मुद्दासित सम्बन्धित कुराको जानकारी समेटेका छौं।
फौजदारी मुद्दाबारे बुझ्न हामीले सरकारी वकिल चन्द्रप्रसाद संजेलसँग कुराकानी गरेका छौं।
फौजदारी मुद्दा भनेको के हो?
कानुनले निषेध गरेको कुनै पनि काम गरेको कारण कसैलाई कम्तीमा एकदिन कैद सजाय वा कम्तीमा एक रूपैयाँ जरिवाना हुन्छ भने त्यो फौजदारी मुद्दा हुन्छ।
जस्तै १८ वर्ष नपुगेका नाबालकसित सहमतिमा शारीरिक सम्पर्क गरे पनि जबरजस्ती करणी हुन्छ। जसमा १० वर्षदेखि जन्म कैदसम्म हुन सक्छ। यस्तो घटना फौजदारी मुद्दामा दर्ता हुन्छ।
फौजदारी मुद्दा दुई किसिमको हुन्छ। दुनियाँवादी र सरकारीवादी फौजदारी मुद्दा।
सरकारी आफैंले वादी पक्ष भएर अदालतमा मुद्दा लाने र सरकारी वकिलमार्फत् सरकारले नै पीडितको प्रतिरक्षा गरिदिने र पीडितलाई अदालतले बोलाएको बेलाबखत मात्र बोलाइने काम हुन्छ भने त्यस प्रकारको मुद्दालाई सरकारवादी फौजदारी मुद्दा भनिन्छ। जस्तै कसैको केही चोरी भयो, कसैलाई सवारीले हानेर भाग्दियो अथवा मान्छे मार्यो भने ती सरकारीवादी फौजदारी मुद्दा हुन्छन्।
दुनियाँवादी फौजदारी मुद्दा भनेको देवानी प्रकृतिको मुद्दा हो जहाँ क्षतिपूर्ति भराउनुपर्ने हुन्छ।
फौजदारी मुद्दा गर्न के गर्नु पर्छ?
कसैलाई चोरी गर्यो, डाका गर्यो, ज्यान लियो, जबरजस्ती गर्यो भने ती व्यक्ति पीडित पक्ष हुन्छन्। घटना भएको, भइरहेको वा हुन लागेको थाहा पाएको पीडित पक्षले सकेसम्म छिटो नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनुपर्छ। प्रहरी वा नेपाल सरकारका निकायलाई फोनबाट वा तोकिएको ढंगमा जाहेरी दिएर वा सामाजिक सञ्जाल वा कुनै माध्यमबाट फौजदारी मुद्दा दर्ता गराउनु सकिन्छ।
फौजदारी मुद्दा गर्ने हदम्याद कति हुन्छ?
मुद्दाको प्रकृति अनुसार हदम्याद फरक हुन्छ। जस्तै ज्यान मुद्दाको कुनै प्रकारमा ६ महिनाको हदम्याद हुन्छ भने कुनैमा दुई वर्षको हुन्छ। कसैले हालफालेर आत्महत्या गर्यो वा कसैको डुबेर मृत्यु हुँदा कोही प्रतिवादी नभएको कारण सो घटनाको दुई वर्ष हदम्याद हुन्छ। त्यस्तै कुनै अपराधजन्य काममा संलग्न मान्छेको विवरण खुल्यो तर भेट्टिएको छैन भने सो घटनाको हदम्याद २० वर्ष हुन्छ। र प्रतिवादी आफैंले मारेको स्वीकार गर्यो भने त्यसको हदम्याद जतिबेला पनि हुन्छ।
१८ वर्ष पुगेका महिलामाथि भएको जबरजस्ती करणीमा परेको पीडितले घटना घटेको मितिले २ वर्षभित्र उजुरी दिइसक्नुपर्छ र सरकारी वकिलले मुद्दा दर्ता अघि सारिसक्नुपर्ने हुन्छ। नाबालक पीडितमाथि भएको बलात्कार तथा यौन दुर्व्यवहारका घटनामा भने त्यस्तो नाबालक १८ वर्ष पुगेको मितिबाट तीनवर्षसम्म उजुरी गर्न पाउने कानुनी व्यवस्था छ।
यसरी मुद्दाको प्रकृति हेरेर एक महिनादेखि जीवनभरीमा जहिले मुद्दा हाल्ने मिल्ने कानुनले व्यवस्था गरेको छ।
उजुरी दिँदा शुल्क लाग्छ कि लाग्दैन?
सरकारीवादी फौजदारी मुद्दामा पीडितले कुनै पनि मुद्दा गरेबापत, वा गुनासो गरेबापत शुल्क लाग्दैन। पीडितले समयलै सूचना र जाहेरी दिए र बोलाएको बेला बकपत्र गर्न सहयोग गरिदिए पुग्छ। सरकारी वकिलले मुद्दा हेरेबापत, प्रहरीले अनुसन्धान गरेबापत वा अदातलले मुद्दाको फैसला गरेबापत मुद्दाको सजायको हकमा कुनै पनि दस्तुर लाग्दैन। तर दुनियाँवादी मुद्दाको हकमा बिगो भराउनु पर्ने अवस्थामा तोकिएको अदालतको दस्तुर तिर्नुपर्ने हुन्छ। जस्तै ठगीमा, बैंकिङ कजुरमा मुद्दा अन्तिम भएको तीन वर्षभित्रमा बिगो भराइ पाऊँ भन्नुपर्छ जसमा अदालतलाई मुद्दाको प्रकार हेरेर तोकिएको शुल्क तिर्नुपर्ने हुन्छ।
जाहेरीमा के/के कुरा उल्लेख गर्नुपर्छ? जाहेरी आफैं लेखेर दिने मिल्छ कि मिल्दैन?
जाहेरी भनेको घटनाको बारेमा दिने सूचना हो। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ४ र ५ र अनुसूची ५ मा जाहेरीको व्यवस्था छ। पीडित पक्षले, घटनाबारे थाहा पाउने जुनसुकै व्यक्तिले, पारिवारिक पीडितले वा प्रहरीले प्रतिवेदनमार्फत् घटनाको विस्तृत जानकारी लेखेर मुद्दा दर्ता गर्नुपर्छ।
सकिन्छ भने पीडित आफैंले जाहेरी लेखेर दिन मिल्छ वा सम्बन्धित प्रहरीले पीडितले भनेको आधारमा जाहेरी लेखिदिन सक्छ। तर सम्बन्धित प्रहरी कार्यलय वा निकायले पीडितको आग्रहमा जाहरी लेख्दिन्न भन्न भने मिल्दैन।
जाहेरीमा एकरूपता होस् भनेर कानुनले जाहेरी दिने ढाँचा बनाइदिएको छ। जाहेरी दिने बेला उल्लेख गर्नुपर्ने कुराहरूः
-कुन प्रहरी कार्यालय वा कुन निकायमा जाहेरी दिएको
-जाहेरी दिनेको नाम, थर र ठेगाना
-मुद्दाको प्रकार वा विषय
-कजुर गर्ने वा हानी गर्ने व्यक्तिको थाहा भएसम्म नाम, थर र ठेगाना, सम्पर्क नम्बर र हुलिया
-सम्बन्धित घटनाको पूर्ण विवरण
-सबुत, प्रमाण छ भने लेख्ने
-अन्य केही विवरण भएमा खुलाउने
जाहेरीको अन्तिममा लेखेको विवरण ठीक छ भन्दै परेको बेलामा उपस्थित हुन सक्ने कुरा लेखेर सही गर्नुपर्छ। मिति, नाम, ठेगाना, सम्पर्क नम्बर लेखेर जाहेरी बुझाउन सकिन्छ।
जाहेरी दिएपछि के हुन्छ? उजुरीकर्ताले के/के गर्नुपर्छ?
पीडितले जाहेरी दिएपछि प्रहरीले मुद्दा गर्छ। जाहेरीमा लेखिएको विवरण अनुसार कसुर गर्ने मान्छे वा संकित गरेको व्यक्तिलाई अदालतको अनुमतिले वा जरूरी पक्राउ पुर्जी दिएर प्रहरीले समात्छ। प्रतिपक्षलाई अदालतमा लगेर म्याद थपिन्छ र बयान लिइन्छ। साथै घटना प्रकृतिको मुचुल्का उठाउने, प्रमाण संकलन गर्ने र पीडितका साक्षीको कागज गराउने, परेको खण्डमा स्वास्थ्य परीक्षण गराउने काम भएपछि सरकारी वकिललाई प्रहरीले मुद्दाको प्रतिवेदन दिन्छ। प्रतिवेदन हेरेर वकिलले मुद्दा चल्ने वा नचल्ने निर्धारण गर्छ। मुद्दा चल्ने निर्णय भएमा अभियोग पत्रको रूपमा अदालतमा दर्ता हुन्छ।
वकपत्रको चरणमा जाहेरवाला आफैंलाई अदालतले बोलाउँछ। तोकिएको मितिमा उजुरीकर्ता आफैंसित भएका प्रमाण र विवरण लिएर अदालतमा पेश हुनुपर्छ। उजुरीकर्ताले आफ्नो जिम्मेवारी बहन गरेपछि बाँकीको प्रक्रिया सरकारी वकिलले पूरा गर्छ।
साक्षी पनि उजुरीकर्ता आफैंले खोज्नुपर्छ ?
घटना देख्ने, सुन्ने, वा थाहा पाउने मान्छे मुद्दाको साक्षी हुन्छ। उजुरीकर्तालाई थाहा भएको साक्षी आफैंले जुटाउन सक्छ वा प्रहरीले सो घटनाबारे थाहा हुने वा हुन सक्ने सबै व्यक्तिलाई साक्षीको रूपमा कागज गराउँछ। बकपत्र गराउने बेलामा पनि साक्षीको आवश्यकता परेमा प्रहरीले सबैलाई सूचीकृत गर्छ।
अनुसन्धानको चरण कहिले र कसरी पूरा हुन्छ?
प्रतिवादीले इन्कार गर्छ, पीडितले हो भन्छ भने अनुसन्धानको चरणमा प्रमाणले ठूलो सहयोग गर्छ। पीडितले भनेको कुरा प्रतिवादीले कुन हदसम्म स्वीकारेको छ, सिसिटिभी फुटेज, स्वास्थ परीक्षण र अन्य भौतिक सबै प्रमाण र तरिकाबाट अनुसन्धान थालिन्छ। प्रमाणमा कसुर गरेको ठहरिएमा, प्रतिवादीले इन्कारेको भरमा सफाइ मिल्दैन।
धेरै प्रतिवादी भएमा अनुसन्धान र फैसलामा ढिला हुन सक्छ। मुद्दाको प्रकृति, अनुसन्धानको दायरा र प्रमाण पुष्टि गर्ने कार्यको आधारमा फैसलाको समय निर्धारित हुन्छ।
फैसला भएपछि त्यसको कार्यान्वयन कसरी हुन्छ? क्षतिपूर्ति भएको छ भने त्यसको प्राप्ति कसरी गर्ने?
मुद्दा अन्तिम भएपछि प्रतिवादीबाट वा सरकारी कोषबाट क्षतिपूर्ति भराउनको लागि पीडितले निवेदन दिनुपर्छ। सरकारी वकिल, प्रहरी वा अदातलले जानकारी गराएपछि पीडित आफैंले कति क्षतिपूर्ति चाहने हो, खुलाएर निवेदन दिनुपर्छ। प्रतिवादीले स्वीकारे वा प्रमाणको आधारमा वा सामान बरामद भएमा क्षतिपूर्ति भराउन सकिन्छ। पीडितले भनेकै आधारमा मात्रै भने बिगो भराउन मिल्दैन।
यसरी फौजदारी मुद्दाको प्रकिया पूरा हुन्छ।
पीडित वा सरकार वा वादी पक्षलाई फैसलाबाट चित्त बुझेर भने के गर्ने?
प्रतिवादीले कुनै मुद्दामा सफाइ पायो तर पीडितलाई सो फैसलाबाट चित्त बुझेन भने एक तहमाथिको अदालतमा अपिल वा पुनरावेदन दिन मिल्छ। माथिल्लो तहबाट पनि फैसला आयो तर नजिरको गलत व्याख्या भयो वा चित्त बुझेर भने सर्वोच्च अदालतमा सो मुद्दा पुग्ने भयो।
दोषी ठहरिएको प्रतिवादीलाई फैसलाबाट चित्त बुझेर भने वादी पक्षले पनि माथिल्लो तहमा पुनरावदेन दिन मल्छ।
घटनामा परेका पीडितले याद राख्नुपर्ने कुरा के हुन्?
कोही पीडित कुनै किसिमको घटनामा परेमा सबैभन्दा पहिले प्रहरीमा उजुरी गरिहाल्नुपर्छ। उजुरीकर्ताले प्रमाणसहित विस्तृतमा जाहेरी दिनुपर्छ वा प्रहरी सहायतामा जाहेरी हाल्नुपर्छ।
सरकारी वकिलले बोलाएको बेलामा वा अदालतले बोलाएको बेलामा बकपत्रको लागि उपस्थित हुनपर्छ। पीडितले गर्न नहुने भनेको दबाबमा परेर आफ्नो बयान फेर्ने कार्य हो। पीडितले भुलेर पनि सत्य घटनालाई लुकाउन हुँदैन। र चित्त नबुझेको खण्डमा माथिल्लो निकायमा जाने गर्नुपर्छ।