अमेरिकाको खुफिया संस्था फेडरल ब्युरो अफ इन्भेष्टिगेसन (एफबिआई) मा जागिर खाएर तत्कालीन सोभियत संघ र पछि रूसका लागि जासुसी गर्ने रोबर्ट हान्सेन जेलमा मृत भेटिएका छन्।
द न्युयोर्क टाइम्सका अनुसार ७९ वर्षीय हान्सेन सोमबार कोलोराडोस्थित जेलमा मृत भेटिएका हुन्।
उनी आफ्नो कोठामा अचेत भएपछि जेलका कर्मचारीले उनलाई बचाउन खोजेका थिए तर केहीबेरमै उनको मृत्यु भएको हो।
उनको मृत्युको कारणबारे जानकारी दिइएको छैन्।
सन् १९७६ मा एफबिआईमा जागिर खाएका हान्सनले दुई दशकसम्म मस्कोका लागि जासुसी गरेको खुलेको थियो। उनले अमेरिकाका अति गोप्य सूचनाहरू मस्कोलाई दिएका थिए।
त्यसको बदलामा उनलाई रूसले १४ लाख अमेरिकी डलर, बैंक फन्ड र हिरा दिएको पाइएको थियो।
सन् २००१ मा पक्राउ परेका हान्सनलाई २००२ मा आजीवन कैदको सजाय सुनाइएको थियो।
एफबिआईले उनी संस्थाको इतिहासमै सबैभन्दा धेरै क्षति पुर्याउने व्यक्तिमध्ये एक रहेको उल्लेख गरेको छ।