गत जेठ १८ गते साँझबाट कैलालीकी २७ वर्षीया कौशी भनिने कविता बुढा हराएकी थिइन्।
भोलीपल्ट आफ्नी बुहारी घरबाट हराएको भन्दै उनकै ससुराले जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएका थिए।
गौरीगङ्गा नगरपालिका–१ गोप्काका डिल्लीसिंह बुढाले बुहारी हराएको र खोजतलास गरिपाऊँ भनी निवेदन दिएपछि प्रहरीले तदारूकता देखाएको थियो।
कविताको खोजतलासका लागि उनको हुलिया आफू मातहतका प्रहरी कार्यालयमा पठाएको थियो।
निवेदन दिएका सुसुरा डिल्लीसिंह त्यसदिनदेखि सम्पर्कमा आएनन्।
उनले बुहारी फेला परे, नपरेकोबारे चासो नराखेको मात्र होइन, आफैंसमेत सम्पर्कविहीन भए।
उनीसँगै ८ वर्षका नाती डण्डीराज पनि प्रहरीको सम्पर्कमा थिएनन्।
प्रहरीका अनुसार जेठ २२ गतेसम्म हराएकी महिला र निवेदन दिने ससुरा डिल्लीसिंह दुवैजना सम्पर्कमा थिएनन्।
त्यही दिन हराएकी भनिएकी कविताका माइती पक्षले पनि इलाका प्रहरी कार्यालय चौमालामा निवेदन दिएका थिए।
माइतीका तर्फबाट भाइ पर्ने पराने बुढाले निवेदन दिएको प्रहरीको भनाइ छ।
घटना शंकास्पद देखिएको भन्दै मसिनो अनुसन्धान गरेको प्रहरीले जानकारी दियो।
हराएकी कवितालाई खोज्दै जाँदा सामुदायिक वनभित्र गाडेको अवस्थामा महिलाको शव फेला पार्यो।
शव कविता बुढाकै भएको अनुसन्धानबाट पत्ता लाग्यो।
८ फिट ४ इन्च गहिराइ भएको सुख्खा नालामा गाडेको अवस्थामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी निरीक्षक खगेन्द्र साउदले सेतोपाटीलाई बताए।
घटनास्थलको मुचुल्का तयार पारी शवलाई परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो।
बुहारी खोजीपाऊँ भनि बेपत्ता भएका ससुरामाथि प्रहरीको शंका छँदै थियो।
जेठ २३ गते कविताका दाजु रामबहादुर बुढाले किटानी जाहेरी दरखास्त पेश गरेपछि पक्राउ गरी अनुसन्धान गरेको प्रहरीले जानकारी दिएको छ।
जेठ १८ गते साँझ ससुरा डिल्लीसिंहले घरको काम नगर्ने, आफूखुसी गर्ने भनी निहुँ खोजी विवाद गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
ससुराले निहुँ खोजिरहँदा कविता भान्सामा रोटी पकाउँदै रहिछन्। त्यहीबेला पछाडिबाट टाउकामा चिरपट दाउराले हिर्काइ हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।
हत्यापश्चात ससुरा डिल्लीसिंह र सासु लहरीले मिलेर शवलाई डोकोमा हाली घरभन्दा अन्दाजी ३ किलोमिटर टाढा पुर्याएका थिए।
उनीहरूले सामुदायिक वनमा लगेर खाल्डो खनी शव पुरेको प्रहरीले जानकारी दियो।
लाससँगै मृतकका रगत लत्पतिएका कपडा, खन्ने फरुवा, डोको पनि सोही खाल्डोमै व्यवस्थापन गरेको पाइएको प्रहरीले बताएको छ।
प्रारम्भिक अनुसन्धानमा क्रममा कविताका श्रीमान अर्जुन बुढाले कान्छी श्रीमती साथमा लिएर विगत १ वर्षदेखि भारतको ब्याङ्लोरमा बस्दै आएको खुलेको छ। घरमा रहेकी कवितासँग निजकी सासु लहरी र ससुरा डिल्लीसिंहले प्रायः झैझगडा गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
घटना हुनुअघि पनि घरायसी झगडाका विषयमा ईलाका प्रहरी कार्यालय चौमालामा गई मेलमिलाप गर्ने गरेको प्रहरीले जानकारी दियो।
डिल्लीसिंह बुढाले घटना ढाकछोप गर्न आफैँले हत्या गरेकी बुहारी कबिता हराएको भन्दै प्रहरी कार्यालयमा निवेदन दिएको स्वीकार गरेका छन्। निवेदन दिएर उनी चार दिन कञ्चनपुर जिल्लाको बिचफाँटास्थित आफन्तको घरमा बसेका थिए।
‘जाहेरीका आधारमा सासु लहरी बुढालाई पक्राउ गरिएको छ। उनलाई कैलाली जिल्ला अदालतबाट म्यादथप अनुमती लिई अनुसन्धान कार्य प्रारम्भ गरिएको छ,’ प्रहरीले भन्यो।
सम्पर्कविहीन भएका डिल्लीसिंहको खोजतलासका क्रममा उनको अन्तिम लोकेशन कञ्चनपुरको परासनमा देखिएको थियो। त्यहाँ पुगेर प्रहरीले डिल्लीसिंहलाई कञ्चनपुरको बिचफाँटामा लुकाइछिपाइ राख्न सहयोग गर्ने र पछि भगाएको आरोपमा जयवीर बुढालाई पनि जेठ २३ गते पक्राउ गरेको थियो ।
घटनाका मुख्य अभियुक्त डिल्लीसिंहलाई कैलालीकै भजनी नगरपालिका–३ को नेपाल–भारत सिमावर्ती इलाकामा लुकिछिपी बसेका छन् भन्ने सूचना प्रहरीले पायो। त्यही सूचना पछ्याउँदै जाँदा प्रहरी टोलीले जेठ २७ गते पक्राउ गरेको थियो ।
कविताको शव पोष्टमार्टम गरेर देवर नाता पर्ने आफन्तले बुझेका छन्।
घटनामा अन्य व्यक्तिको पनि संलग्नता छ कि भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
मुख्य अभियुक्तसँगै सम्पर्कविहीन बनेका कविताका ८ वर्षीय छोरा डण्डीराजको अवस्था अज्ञात छ। उनलाई भारतको ब्याङ्लोर लगिएको भन्ने पनि सुनिएको प्रहरीले जनाएको छ ।