जेठ ३ गते दिउँसो साढे १२ बजे उनले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा अंग्रेजी अक्षरमा ‘छाउपडी प्राक्टिस एलिमिनेसन, एन अटेम्पट अफ अ डटर फ्रम फार वेस्टर्न नेपाल, संगीता रोकाया’ लेखेको एउटा फ्लेक्स तुल देखाइन्।
सुदूरपश्चिममा अभ्यासमा रहेको छाउपडी प्रथा अन्त्यका लागि सगरमाथाको उचाइबाट चेतनामूलक सन्देश फैलाउने उद्देश्यले उनले सगरमाथा आरोहण गरेकी हुन्। सोही उद्देश्यअनुसार उनले चचुरोमा तुल देखाइन्।
उनी हुन् तुलमा नाम लेखिएकी संगीता रोकाया।
सुदूरपश्चिमको विकट पहाडी जिल्ला बझाङको साइपाल हिमालको फेदमा जन्मे हुर्केकी संगीता ‘छोरी मान्छेले देउताको बास हुने हिमाल टेक्नु हुँदैन’ भन्ने रूढीवादी मान्यताविपरीत सगरमाथाको चुचुरोमा पुगिन्।
सुदूरपश्चिममा महिनावारी भएकी महिलालाई ‘छाउपडी’ भन्ने चलन छ। छाउ भएकी महिला अर्थात् छाउपडी घरभित्र पस्नु हुँदैन, उनले पानीको धारा कुवा छुनु हुँदैन। छाउगोठ भनिने अलग्गै छाप्रोमा सुत्नु पर्छ।
यस्तो सामाजिक परिवेशमा हुर्केकी संगीता कुन हुटहुटीले पुगिन् त सगरमाथाको चचुरोमा? आउनुहोस्, यहाँ उनको आरोहण यात्राको कुरा गरौं।
संगीताको गाउँ साइपाल पुग्न बझाङ सदरमुकाम चैनपुरबाट ६ दिन हिँड्नुपर्छ। अझै पनि मोटर यातायातको सुविधा छैन। बिजुली बत्ती आएको पनि धेरै भएको छैन। साइपाल हिमालको फेदमा छ उनको गाउँ। आँगनबाटै देखिन्छ हिमालको चुचुरो।
हरेक वर्ष उनको गाउँको बाटो हुँदै विदेशी पर्यटकहरू साइपाल हिमालतिर जान्थे। उनीहरू ५ हजार मिटर अग्लो साइपाल हिमाल चढेर फर्किन्थे। ती पर्यटकहरू हिँड्दा संगीताको मन उत्सुकताले भरिन्थ्यो।
पर्यटकहरूलाई एकटकले हेर्थिन्। अनि सोच्थिन्– यिनीहरू कसरी हिमालमा चढ्छन् होला, म पनि चढ्न पाए हुन्थ्यो!
हुर्किंदै गएपछि उनी साइपाल हिमाल चढ्ने कुरा गर्न थालिन्। घरका र गाउँका मानिसहरू हिमालमा देउताको बास हुन्छ, छोरी मान्छे हिमाल चढ्नु हुँदैन, छाउ भएका बेला हिमाल टेक्नु हुँदैन भनेर उनलाई निराश बनाउँथे।
आमाबुवाका सात सन्तानमध्येकी जेठी हुन् संगीता, चार छोरी र तीन छोरा। आमाबुवाले खेतीपाती र भेडापालन गरेर छोराछोरी हुर्काए। बुवा अहिले साइपाल गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष छन्।
गाउँमा धान फल्दैन। आलु, गहुँ, जौ, कोदो र फापरको खेती गरिन्छ। चामलको लागि साइपालवासीले हरेक वर्ष सिंहदरबारलाई आवाज सुनाउनु पर्छ।
संगीताले सानै उमेरमा घरायसी काम जानिन्। उनका लागि खाना पकाउनु, मोही बनाउनु, गाई दुहुनु, गाईवस्तुको स्याहारसुसार गर्नु, घाँस काट्नु, घर आँगनको सफाइ गर्नु, खेतीमा काम गर्नु इत्यादि सामान्य दिनचर्या थियो।
यति धेरै कामका बीच पनि आमाबुवाले छोराछोरीलाई स्कुल पठाए। संगीताले ८ कक्षासम्म गाउँकै स्कुलमा पढिन्। गाउँको स्कुलमा पढ्दा नै उनले हिमाल चढ्ने सपना देख्न थालेकी थिइन्। अरूका लागि गाउँका छोरी मान्छेले कहिल्यै नगरेको काम गर्छु भन्नु अनौठो र लहडको कुरामात्रै थियो, संगीताका लागि एक अठोट।
गाउँमा ८ कक्षामाथि पढ्ने स्कुल थिएन, अर्को स्कुल जान ९ र १० पढ्न ओहोरदोहोरमा चार घण्टा हिँड्नु पथ्र्यो।
दैनिक यति धेरै हिँडेर पढ्न कठिन हुने ठानेर आमाबुवाले उनी र एक भाइलाई सदरमुकाम चैनपुर पठाए। उनले चैनपुरको जाल्पा माविबाट १० कक्षा पूरा गरिन्। कक्षा १२ भोजपुर बहुमुखी क्याम्पस, चैनपुरबाट पूरा गरिन्।
साइपाल हिमाल चढ्ने उनको सपना झन्झन् गाढा हुँदै थियो तर विकट पहाडको गरिबीले आफ्नो सपना पूरा हुन पाउँदैन कि भन्ने पनि लाग्थ्यो।
तँ सोच् म पुर्याउँछु भनेजस्तो संगीताले सन् २०१८ मा ‘मिसन साइपाल’ नामको एक कार्यक्रममा जोडिने अवसर पाइन्। त्यो मिसनमा छनोट भएका १५ जनामध्ये चार जना महिला थिए, चारमध्ये संगीता एक थिइन्। काठमाडौंमा चार महिना तालिम लिएर २०१८ अक्टोबरमा उनी बझाङ फर्किइन्।
विदेशी पर्यटकहरूका साथ साइपाल हिमाल चढ्ने उद्देश्यले उनी मिसन साइपालमा सहभागी भइन्। चुचुरोमा पुग्ने लक्ष्य पूरा भएन। मौसम खराब भएकाले हाई क्याम्पबाट फर्किनुपर्यो।
यो सहभागिताबाट उनले हिमाल चढ्न चाहिने खर्चबारे थाहा पाइन्।
अहो! हिमाल चढ्न त लाखौं रुपैयाँ पो चाहिँदो रहेछ! हिमाल चढ्नभन्दा गाह्रो काम त पैसा जुटाउन पो रहेछ!
गरिब परिवारकी संगीताले कहाँबाट जम्मा गर्नु लाखौं रुपैयाँ! घरपरिवार, छरछिमेकी र आफन्तहरू हिमाल चढ्ने रहन नगर भन्थे। धेरैको सल्लाह हुन्थ्यो– छोरी मान्छे पढाइमा ध्यान देऊ, लोक सेवाको तयारी गर, राम्रो जागिरमा लाग।
संगीताको हिम्मत टुटेन। आमाबुवालाई आफ्नो कुरा भनिन्, सम्झाइन् आफ्नो लक्ष्यमा सहमत गराइन्।
साइपाल लक्ष्य असफल भएपछि उनले झन् ठूलो सपना देखिन्। सगरमाथा चढ्ने लक्ष्य लिइन् र तयारी सुरू गरिन्। जसरी पनि सगरमाथाको चुचुरोमा पुग्छु भन्ने अठोट गरिन्।
उनले भनिन् ‘छोरीले देवीदेउता बस्ने हिमाल टेक्नुहुन्न भन्ने कुराले मलाई पनि सगरमाथाको चुचुरोमा पुग्ने लक्ष्यमा दृढ बनायो।’
छोरीले हिमाल टेक्नु हुँदैन भन्नुको मुख्य कारण नै महिनावारी थियो। उनी महिनावारी भएका बखत हिमाल चढ्नुहुन्न भन्ने मान्यताका विपक्षमा थिइन्।
उनले गोठमा बस्नुपर्ने छाउपडी प्रथाविरूद्ध सगरमाथाको चुचुरोबाट जनचेतनाको सन्देश प्रवाह गर्ने अठोट गरिन्।
संगीताले भनिन्, ‘आफ्नो गाउँठाउँको सामाजिक कुप्रथाका र छोरी मान्छेले भोग्नु परेको समस्यामा जनचेतना फैलाउने अभियानलाई मैल सगरमाथा आरोहणसँग जोडेँ।’
उनले काठमाडौंमा हिमाल आरोहणको तालिम लिइन्। ट्रेकिङ गाइडको तालिम पनि लिइन्।
सगरमाथा चढ्नुअघि कम्तीमा एक हिमाल चढेको त हुनुपर्ने, यसैअनुसार उनी मनास्लु हिमाल चढ्न गइन्। यहाँ पनि साइपालकै कथा दोहोरियो। मौसमको खराबीका कारण लक्ष्य पूरा नगरी फर्किनु पर्यो।
अब उनी सगरमाथा आरोहणको अठोट गरेर अघि बढिन्। छाउपडी प्रथाविरूद्ध जनचेतना जगाउने अभियानका साथ आर्थिक सहयोगका लागि विभिन्न निकायमा प्रस्ताव पेश गरिन्।
सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहरूले सहयोगको वचन दिए। धेरैले सगरमाथाबाट फर्केपछि सहयोग गर्ने भने। जसोतजो पैसा जुटाएर उनले आवश्यक सामग्री खरिद गरिन्।
उनले भनिन्, ‘सबै चिज महँगो, २५ हजार र १२ हजार रुपैयाँको चस्मा, १ लाख १५ हजारको जुत्ता, ५५ हजारको ज्याकेट, डोरी झन् महँगो, प्रत्येक क्याम्पका लागि फरक फरक पोसाक चाहिन्छ।’
अन्ततः उनी जेठ ३ गते सगरमाथाको चुचुरोमा पुगिन्। आफ्नो अभियान र लक्ष्यअनुसार छाउपडी प्रथाविरूद्ध सन्देश लेखिएको फ्लेक्स तुल देखाइन्।
उनले भनिन्, ‘हाम्रो ठाउँमा छोरी मान्छेले हिमाल चढ्नुहुन्न भन्थे। मैले सगरमाथाको चुचुरोमा पुगेर छाउपडी प्रथाविरूद्धको ब्यानर प्रदर्शन गरेँ।’
उनका अनुसार तालिम र सगरमाथा यात्रा सम्पन्न गर्दासम्ममा २० लाख रुपैयाँ खर्च भयो।
उनले भनिन्, ‘घरपरिवार र आफन्तहरूसँग मागेर तत्कालको काम चलाएँ। प्रपोजल (प्रस्ताव) दिएका ठाउँबाट सहयोग पाउने आशा छ।’
रुढ विश्वासमा जकडिएको विकट गाउँबाट छाउपडी प्रथाविरूद्धको सन्देशका साथ सगरमाथा आरोहण पूरा गरेपछि संगीताको तारिफ भएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनचेतनाको अभियानमा निरन्तर लाग्न सुझाव दिएका छन्।
संगीताले मुख्यमन्त्री शाहको भनाइ उद्धृत गरिन्, ‘यो अभियानमा निरन्तर लाग्नुहोस्, तपाईंलाई सहयोग गर्न प्रदेश सरकार कटिबद्ध छ।’
सुदूरपश्चिम सरकारको आन्तरिक तथा कानून मन्त्रालयले केही दिनअघि धनगढीमा संगीतालाई सम्मान गरेको थियो।
धनगढी उपमहानगरपालिकाले पनि संगीताको सम्मान गरेको छ। मेयर गोपाल हमालले संगीतालाई अब साइपाल हिमाल चढ्न सुझाव दिएका छन्।
संगीता हाल बझाङको सेती बहुमुखी क्याम्पस, दहबगरमा स्नातक तहमा अध्ययनरत छिन्।
आगामी दिनमा पर्यटन क्षेत्र र सुदूरपश्चिममा महिलाहरूले भोगिरहेका अनेक कुप्रथाविरूद्ध जनचेतना फैलाउने काममा सक्रिय रहने उनको योजना छ।