इस्लामिक स्टेट (आइएस) समूहसँग सम्बन्धित लडाकू समूहले एक विद्यालयमा गरेको आक्रमणमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ।
डेमोक्रेटिक रिपब्लिक अफ कंगो नजिकैको कासेसे जिल्लाको एमपोन्ड्वेमा रहेको एक माध्यमिक विद्यालयमा स्थानीय समयअनुसार शुक्रबार राति सीमापारीबाट आएर आक्रमण गरेपछि सेनाले एलाइड डेमोक्रेटिक फोर्सेस (एडीएफ) का लडाकूहरूलाई पछ्याइरहेको बताएको छ।
अनुसन्धानकर्ताहरूले प्रजातान्त्रिक गणतन्त्र कंगोको द्वन्द्वग्रस्त पूर्वी क्षेत्रमा सक्रिय सबैभन्दा घातक समूहमध्ये एक एडीएफले राति अबेरसम्म गरेको निर्मम आक्रमणमा छात्रावासमा आगजनी गरेको र विद्यार्थीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको बताएका छन्।
युगान्डा पिपुल्स डिफेन्स फोर्सेज (यूपीडीएफ) का प्रवक्ता फेलिक्स कुलाइगीले एक विज्ञप्ति जारी गर्दै भने, ‘दुर्भाग्यवश ३७ जनाको शव फेला परेको छ र उनीहरूलाई ब्वेरा अस्पतालको शवगृहमा पठाइएको छ।’
आठ जना घाइते भएका छन् भने अन्य छ जनालाई आक्रमणकारीले अपहरण गरी कंगोको सीमामा रहेको भिरुङ्गा राष्ट्रिय निकुञ्जतर्फ लगेका छन्।
यूपीडीएफले अपहरणमा परेका विद्यार्थीहरूलाई बचाउन अपराधीहरूको खोजी सुरू गरेको जनाएको छ।
कासेसका लागि आवासीय आयुक्त जो वालुसिम्बीले एएफपीलाई बताएअनुसार मृतकमध्ये कम्तीमा २५ जना विद्यालयका विद्यार्थी भएको पुष्टि भएको छ।
सन् २०१० मा कम्पालामा भएको दुईवटा बम विष्फोटमा सोमालियामा पूभाव रहेको अल–शबाब समूहले गरेको आक्रमणमा ७६ जनाको मृत्यु भएपछि युगान्डामा भएको यो सबैभन्दा घातक आक्रमण हो।