दुई दशकअघि चितवन राष्ट्रिय निकुञ्जभित्रको पदमपुर बस्तीबाट स्थानान्तरण भएर आउँदा शान्ति महतोको परिवारले धेरै सपना देखेको थियो।
उनीहरू हरेक दिन वन्यजन्तुको आक्रमण र बर्सेनि राप्ती नदीको बाढीले आजित थिए। बसाइँ सरेपछि कम्तिमा ती दुःखबाट पार पाउने आश थियो।
सौराहापारिको उक्त बस्ती सरकारले पदमपुर स्थानान्तरण आयोग गठन गरेर २०५२ सालदेखि भरतपुरबाट करिब दस किलोमिटर परको जंगल क्षेत्र (हालको कालिका नगरपालिका) मा सार्न थालेको थियो। यही क्रममा २०५८ सालमा स्थानान्तरण भएर यहाँ आइपुगेको थियो शान्तिको परिवार।
बसाइँ सरेर आए पनि उनीहरूलाई सुख भएन। दुःख पनि सँगै सरेर आयो। उता राप्तीको बाढीले आजित बनाउँथ्यो, यता वुङखोलाको डुवानले सताउन थाल्यो। यो अझै रोकिएको छैन।
'राम्रो ठाउँमा आइयो, बाढीबाट जोगिने भयौं भन्ठानेको त खाना पकाएर खान पनि नसकिने ठाउँमा आइपुगिएछ,' शान्तिले भनिन्, 'वर्षायाममा खोलो घरभित्रै पस्छ। अन्न, भाँडा, बाख्रा, कुखुरा बगाउँछ। बाली नष्ट पारिदिन्छ। गिटी बालुवाले खेत बगरसरी बनाउँछ।'
उनी अहिले कालिका नगरपालिकाको कार्यपालिका सदस्य छिन्। बाढी, डुवानबाट प्रभावित शान्ति जस्ता सयौं परिवारलाई जोगाउन अहिले नगरपालिका नै लागिपरेको छ।
वुङखोला वर्षायाममा पहाडी क्षेत्रको भल बगेर आउने खहरे खोलो हो। विगतमा जंगलै जंगल हुँदै बग्ने यो खहरेको गन्तव्य पदमपुर बस्ती विस्तार भएसँगै हरायो। वुङखोलाले पदमपुरको ठूलो क्षेत्रमा सिँचाइ गर्छ। यहाँको पानी सिँचाइका लागि प्रयोग गर्न कुलोहरू बनाइएका छन्। तर ठूलो पानी पर्दा कुलोले थेग्दैन।
वुङखोलाले पदमपुरवासीलाई निदाउन पनि दिँदैन। घर, गोठ, खेत, सडकमा पसेर आजित बनाउँछ।
यो अवस्थाको अन्त्य गर्न कालिका नगरपालिकाले वुङखोला व्यवस्थित बनाउन थालेको छ। कालिका–७ मा पर्ने वुङखोलाबाट करिब सात सय मिटर लामो, तीन मिटर चौडाइको नहर खनेर पानीलाई थाङखोलामा झार्न लागिएको नगरपालिकाका मेयर विनोद रेग्मीले बताए।
जंगलभित्रबाट जोरकरम हुँदै वडा नम्बर–३ स्थित थाङखोलामा पानी झारेर खगेरी खोलामा मिसाउने तयारी गरिएको छ। वुङखोलाबाट थाङखोला हुँदै खगेरीको कामिनीघाटसम्मको दूरी साढे ६ किलोमिटर छ।
'वुङखोलाले पदमपुरवासीलाई डुवानमा पारेर हैरान बनाएको थियो। १५ हजारभन्दा बढी मान्छेहरूलाई यसले डुवानको समस्या पार्ने गरेको छ। यो समस्या अन्त्य गर्न हामीले पानी बढी भएको समयमा थाङखोलातिर पठाउन लागेका छौं,' मेयर रेग्मीले सेतोपाटीसँग भने, 'आगामी वर्षदेखि यहाँ डुवानको समस्या अन्त्य हुँदैछ।'
रेग्मीका अनुसार बाढी र डुवानको समस्या समाधान गर्न पदमपुर स्थानान्तरण आयोगले पनि वुङखोलाको पानी थाङखोलामा लैजाने गरी डिपिआर तयार पारेको थियो। तर अरू काम अघि बढ्न सकेको थिएन।
'त्यही डिपिआरलाई आधार मानेर अहिले नगरपालिकाले काम अघि बढाएको छ,' रेग्मीले भने, 'अब वुङखोलाको पानी सिँचाइलाई आवश्यक पर्ने मात्रै कुलोतिर जान्छ। बढी भएको खगेरी खोलामा मिसिन्छ।'
नहर निर्माणसँगै अहिले थाङखोलाको साँघुरो क्षेत्र फराकिलो बनाउने, तटबन्ध र स्पर निर्माण गर्ने काम चलिरहेको छ। यो कामका लागि नगरपालिकाले ७० लाख र सिँचाइ डिभिजन कार्यालयले ३० लाख रूपैयाँ लगानी गरेका छन्।
कालिका–३ का पूर्व अध्यक्ष टीका रिजालको अध्यक्षतामा रहेको उपभोक्ता समितिले यो काम गरिरहेको छ। नहर खन्ने काम सकेर ढुंगा झार्ने, ग्याविङ, स्पर बनाउने, खोलालाई चाक्लो बनाउने काम भइरहेको उनले बताए।
वुङखोलाको पानी डाइभर्ट गर्न खोलामा करिब ८४ मिटर लामो ड्याम बनाउनुपर्छ। अहिले खोलाबाट करिब ५० मिटर भाग छोडेर नहर बनाइएको छ। अरू काम सकिएपछि मात्रै सुरूको ५० मिटर नहर खन्ने तयारी छ।
'तल्लो क्षेत्रको सुरक्षाको उपाय गरेर मात्रै नहरमा पानी छाड्ने गरी काम गरिरहेका छौं,' रिजालले भने, 'खोला चाक्लो बनाएर तटबन्ध गरेर पानीको वहाव सजिलै जानसक्ने गरी मात्रै पानी पठाउँछौं।'
कालिका–३ का वर्तमान वडाध्यक्ष वीरेन्द्र तामाङका अनुसार वुङखोलाले वडा नम्बर १, २, ३, ६ र ७ लाई असर पार्ने गरेको छ। सिँचाइलाई चाहिनेभन्दा बढी पानी अर्को खोलामा मिसाउँदा पदमपुरवासी डुवानबाट बच्ने उनले बताए।
'बर्सेनि डुवानको समस्यामा परेकाहरूले राहत पाउँछन्। थाङखोला हुँदै खगेरीमा पुगेको पानीले पश्चिम चितवनको सिँचाइमा सहयोग गर्छ। भरतपुर महानगरपालिकासँग सहकार्य गरेर खगेरीमा पर्यटकीय गतिविधि सञ्चालन गर्ने सोच पनि छ,' तामाङले भने।
खगेरी खोला भरतपुर महानगरपालिकासँग पनि जोडिएको छ। यहाँको पानी रत्ननगर नगरपालिकाको टिकौलीबाट खगेरी सिँचाई आयोजनाको नहर हुँदै पश्चिम चितवनका खेतहरूमा सिँचाइका लागि प्रयोग हुन्छ। खगेरीकै पानीले रामसार क्षेत्रमा सूचीकृत बीसहजार ताललाई पुनर्भरण गर्नसमेत सघाएको छ।
थाङखोलाको प्रभाव वडा नम्बर २, ३, ४ र ५ मा पर्छ। तर वुङखोलाले जस्तो बस्ती, खेतमा पसेर यसले धेरै दुःख दिएको छैन। वुङखोलाको पानी मिसिँदा थाङखोला बढेर अझै समस्या निम्त्याउने हो कि भन्ने चिन्ता खोला आसपासका बासिन्दाको छ।
तर मेयर रेग्मी कसैलाई पनि असर नपर्ने गरी योजना सम्पन्न गर्ने बताउँछन्। उनले खोलामा तटबन्ध गरेर खेत, बस्तीलाई सुरक्षित बनाउने, सिँचाइका लागि आवश्यक परेको ठाउँबाट कुलो निर्माण गरेर पानी लैजाने बताए।
वडा नम्बर २ का वडाध्यक्ष लक्ष्मण पौडेलले स्थानीयवासीलाई वर्षौंदेखि परेको समस्या समाधानका लागि नगरपालिकाले गौरवको योजना बनाएर अघि बढाएको बताए।
वुङखोलाको बाढी नियन्त्रण हुने गरी अघि बढेको योजनाले स्थानीयवासी खुसी छन्।
कालिका–३ की ३८ वर्षीया गीता श्रेष्ठले २२ वर्षदेखि भोग्दै आएको डुवानको समस्याबाट अब मुक्ति पाउने आशा गरेकी छन्।
'२२ वर्षअघि जेठमा बिहे गरेर यहाँ आएकी थिएँ। असारमा त घरभित्रै कम्मरसम्म पानी भयो। कस्तो ठाउँमा आइपुगेछु भनेर रोएँ। त्यसयता हरेक वर्ष यस्तै भइरहेको छ,' श्रेष्ठले भनिन्, 'यसपालि यो समस्याको अन्त्य गर्न काम भइरहेको छ भन्ने सुनेकी छु। आशा गरौं अब त्यस्ता दिन आउने छैनन्, हाम्रो नयाँ जीवन सुरू हुनेछ।'