सुगम जिल्ला कैलालीको दुर्गम ठाउँ चुरेमा वर्खा याममा यातायात ठप्प हुन्छ। आवतजावतमा समस्या हुन्छ। सबभन्दा ठूलो समस्या कोही बिमारी पर्दा हुन्छ। औषधि पाउन पनि मुश्किल पर्छ।
बिरामीलाई थप उपचार वा शल्यक्रियाका लागि ठूलो अस्पताल लैजानुपर्यो भने स्ट्रेचरमा बोकेर पूर्व–पश्चिम राजमार्गसम्म पुर्याउनुपर्छ। यति यात्रा गर्न लगभग आठ घन्टा हिँड्नुपर्छ।
त्यहाँका बासिन्दाहरूका अनुसार हिउँदमा गाडी पुग्ने बाटो छ। बर्खामा ठप्प हुन्छ। वर्षौंदेखिको समस्या यही हो। यस्तो समस्या समाधानका लागि सरकारका तर्फबाट काम नभएको उनीहरूको गुनासो छ।
चुरे गाउँपालिकाका ६ वटै वडामा स्वास्थ्य चौकी छन्। तर ती पुराना र जीर्ण भइसके। सबै भवन न्यूनतम मापदण्ड अनुकूलका पनि छैनन्। गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटी कुनै पनि वडाका स्वास्थ्य चौकी भवन गुणस्तरीय नरहेको बताउँछन्।
'गाउँपालिका आफैंले भवन निर्माण गर्न सक्ने अवस्था छैन,' बोगटीले भने, 'हामीसँग आयस्रोत छैन। संघीय सरकारबाट विनियोजित बजेट पनि गत सालभन्दा सात करोड रूपैयाँ घटेर आएको छ। कर्मचारीलाई तलब खुवाउन, वडामा बजेट दिन पनि समस्या भएको छ।'
वडा नम्बर २ को खैरालामा रहेको स्वास्थ्य चौकीको अवस्था निकै खराब रहेको उनले बताए। पुरानो र जीर्ण भवनमा माथिबाट धूलो र सिमेन्टका टुक्रा खस्छन्। वर्खामा पानी चुहिएर हिलाम्मे हुन्छ। भित्रै बस्दा पनि मान्छे भिज्छन्।
खैराला स्वास्थ्य चौकीमा बीस वर्षअघिदेखि कार्यरत हिमा उपाध्याय सिनियर अनमी हुन्। उनी त्यहाँ आउँदा स्वास्थ्य चौकी भवन नै थिएन। एउटा निजी घरका दुइटा कोठाबाट सेवा दिइन्थ्यो। २०६६ सालमा स्वास्थ्य चौकीका लागि तीनकोठे भवन तयार भयो तर दुई महिनामै छतमा त्रिपाल ओढाउनुपर्ने भयो।
'कतिपटक त हामीले चौकीका सामान अर्काको घरमा पुर्यायौं। बर्खा लागेपछि कागजपत्रहरू घर लैजान्छौं,' उपाध्यायले भनिन्, 'सेवाग्राहीलाई देखाउन चाहिने भित्ते चित्रहरू राख्ने ठाउँ छैन। वर्षामा भिजेर गल्छ। छतबाट बालुवा र सिमेन्ट खस्छ।'
१४ वर्षदेखि यो स्वास्थ्य चौकी भवनको अवस्था नाजुक छ।
खैराला स्वास्थ्य चौकीका इन्चार्ज अहेब बलबहादुर कठरियाले सरकारले सेवासुविधा थपे पनि भवन राम्रो नहुँदा सेवाग्राहीलाई समस्या भएको बताए। पोषण, सुरक्षित गर्भपतन सेवा, बर्थिङ सेन्टरको सेवा, परिवार नियोजन र अन्य प्राथमिक उपचार यहाँ हुन्छ।
खैरालाकी २२ वर्षीय छविदेवी बलामी मगरले बर्खाको समयमा स्वास्थ्य चौकीभित्र भिजिने गरेको बताइन्।
'पानी परेका बेला स्वास्थ्य चौकी भित्रै भिजिन्छ, बर्खाको बेला नगए पनि हुन्छ,' उनले भनिन्।
वडा नम्बर २, नौघरेकी लाछुदेवी साउदको पाठेघरमा समस्या छ। हरेक महिना जसो स्वास्थ्य चौकी जानुपर्छ।
'धेरै पटक औषधि गरे पनि ठीक भएन। राति निदाउन गाह्रो हुन्छ। बच्चादानी (पाठेघर) सुन्निएको छ,' उनले भनिन्, 'यही समस्याका कारण स्वास्थ्य चौकी पुगिरहनुपर्छ तर जाने बाटामै खोलो छ। कहिले फर्किँदा खोलामा भेल हुन्छ। स्वास्थ्य चौकीको छानो पनि चुहिन्छ।'
स्थानीय शिक्षक वीरबहादुर तारामी मगरका अनुसार खैराला स्वास्थ्य चौकीमा चुरे गाउँपालिका वडा नम्बर २ का र ४ का केही बासिन्दा पुग्छन्। डोटीतर्फबाट केही मानिसहरू पनि आउँछन्। तर भवनकै कारण सेवाग्राही र कर्मचारीलाई सास्ती छ।
'भवन एकदमै जीर्ण छ, यसलाई मर्मत गरे पनि पानी चुहिन्छ। बर्खामा त भित्रै ताल बन्छ,' उनले भने, 'जनशक्तिको पनि अभाव छ। तीन जना मात्रै छन्। एक जना एमबिबिएस डाक्टर चाहिएको छ।'
चुरे गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष केशवबहादुर साउदका अनुसार अहिलेको भवन डिएफआइडी नामको विदेशी संस्थाले बनाइदिएको हो। बनिसकेको दुई महिनामै चुहिन थाले पनि अहिलेसम्म अवस्था उस्तै छ। संघीय सरकारले पनि यसमा चासो नदिएको उनले बताए।
अब गैरसरकारी संस्थासित मिलेर भवन बनाउने तयारी छ। जापानी सहयोगमा 'फाया नेपाल' नामक संस्थाले स्वास्थ्य चौकी भवन निर्माण गरिदिने सहमति भएको गाउँपालिका अध्यक्ष बोगटीले बताए।
'अहिले भएकै ठाउँमा एक करोड ८६ लाख रूपैयाँ लागतमा भवन बनाउन टेन्डर भएको छ। आठ महिनामा भवन बनिसक्छ। बाटो बन्द हुनुअघि नै निर्माण सामग्री ढुवानी सक्ने तयारी छ,' उनले भने।
खैरालामा स्वास्थ्य चौकी भवन बनाउने तयारी भए पनि अन्य वडामा कुनै तयारी छैन।