बुटवल र भैरहवामा अहिले उखन्ड गर्मी छ। तातो छल्न सयौं युवाहरू पानीमा डुबुल्की मार्ने मौका खोजिरहन्छन्। खोला, नदी, झरना र पोखरीको चिसो पानी खोज्दै उनीहरू पाल्पाका विभिन्न क्षेत्र पुग्न थालेका छन्।
केही वर्ष पहिलेसम्म यहाँका युवाहरू गर्मी छल्न तिनाउ खोलामा पौडी खेल्न पुग्थे। पछिल्ला केही वर्षयता भने तिनाउ गाउँपालिकामै रहेका भूतखोला, रानी झरना, खुर्सानेतिर जान थालेका छन्।
गाउँपालिका र स्थानीय सामुदायिक वनहरूले पनि पहाड र जंगलको खोँचमा रहेका पोखरी र झरनालाई पर्यटकीय स्थलका रूपमा विकास गर्न थालेका छन्। तिनाउ गाउँपालिकामा झन्डै आधा दर्जन यस्तै पोखरी र झरना छन्।
यीमध्ये सिद्धार्थ राजमार्गको छेवैमा रहेकोले तिनाउ–३ स्थित भूतखोला अहिले सबभन्दा चर्चामा छ।
बुटवलदेखि ६ किलोमिटर मात्र पर भएकाले त्यहाँको मनोरम दृश्य अवलोकन गर्न र पौडी खेल्न दैनिक धेरै मानिस यहाँ पुग्छन्। पहाडको खोँचबाट झरेको सेतो छहराको पानी नीलो दहको रूपमा परिणत हुन्छ। सामाजिक सञ्जालमा व्यापक फैलिएपछि यो क्षेत्र अहिले पर्यटकीय स्थल बनिरहेको छ। यहाँ पुगेर फोटो खिच्ने, टिकटक बनाउने मात्र होइन म्युजिक भिडिओ बनाउनेको पनि कमी छैन।
यस्तै गतिविधिका लागि सिद्धबाबा मन्दिर नजिकै रहेको बुटवल पावरहाउस कम्पनीको ड्यामसाइड (बाँध) पनि लोकप्रिय छ।
पानीका यी स्रोतमा पौडी खेल्न भारतबाट समेत युवाहरू आउँछन्।
तर सीप, सावधानी र आवश्यक तयारी बिना पौडी खेल्दा यी खोला र दह मानिसहरूको ज्यान लिने धराप बनिरहेका छन्।
तिनाउ गाउँपालिकामा रहेको भूतखोला
 
२०८० सालको पहिलो दिन वैशाख १ गते रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका २० वर्षीय शिवम जैशवालको खोलामा डुबेर मृत्यु भयो। साथीहरूसँग घुम्न आएका शिवम फोटो खिच्ने क्रममा ढुंगामा चिप्लिएर पोखरीमा खसेका थिए। गहिरो पोखरीमा डुबेका उनलाई तत्काल प्रहरीले उद्धार गरी अस्पताल लगे पनि उनको ज्यान बचेन।
वैशाख १३ गते तिनाउ–३ ड्यामसाइडमा पौडी खेल्ने क्रममा सिद्धार्थनगर नगरपालिका गल्लामण्डीका १६ वर्षीय शिशिर उपाध्याय डुबेर बेपत्ता भए। उनी भोलिपल्ट सोहि स्थानमा मृत फेला परे। बाँकेबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले २४ घन्टापछि उनको शव निकालेको थियो। शिशिरका बुवा बितेको १५ दिन मात्र भएको थियो। क्यान्सरले थलिएकी वृद्ध आमालाई घरमा छाडेर उनी साथीहरूसँग पौडी खेल्न ड्यामसाइड पुगेका थिए।
असार २ गते गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ७ का १८ वर्षीय अभिशेख परियारको तिनाउ खोलामा डुबेर मृत्यु भयो। रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ ड्राइभर टोलमा कोठा भाडा लिएर बस्दै आएका अभिशेख दिउँसोको चर्को गर्मीमा पौडी खेल्न भन्दै विद्युत पावरहाउसको ड्यामसाइड पुगेका थिए।
पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका अभिशेखलाई केही समयपछि दोभान प्रहरीको टोलीले उद्धार गरी अस्पताल ल्याएको थियो। तर चिकित्सकले मृत घोषणा गरे।
अभिशेखको मृत्यु भएको दुई दिन नबित्दै असार ४ गते सोही स्थानमा एक जना भारतीय नागरिकको डुबेर मृत्यु भयो। पौडी खेल्न भन्दै साथीहरूसँग ड्यामसाइड आएका भारत, गोरखपुरका ३४ वर्षीय विपिन दुसिया अचानक डुबेका थिए।
पोखरी र खोलाहरूमा पौडी खेल्न पुग्ने युवाहरूले आवश्यक सावधानी नअपनाउँदा डुबेर मृत्यु हुने क्रम बढ्दै गएको छ। पछिल्लो १४ महिनामा तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइड र भूतखोलामा मात्रै दस जना युवाको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा ४ जना किशोर छन्। त्यस्तै ४ जना भारतीय नागरिक छन्।
२०७९ वैशाख १९ गते भारत गोरखपुरका ३५ वर्षीय अंकित श्रीवास्तव साथीहरूसँग ड्यामसाइड आएका थिए। उनी दहमा डुबेपछि साथीहरूले नै उद्धार गरी अस्पताल पुर्याए। लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
२०७९ असार १९ गते अरू दुई जना भारतीय किशोरको सोही ड्यामसाइडमा डुबेर मृत्यु भयो। उत्तर प्रदेश गोरखपुर चिलवाताल थाना जमुवाड ग्रामका १८ वर्षीय नन्दकिशोर निषाद र गोरखपुर ताजकी टोल ग्रामका १८ वर्षीय सनिकुमार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। खोजतलास गर्ने क्रममा नन्दकिशोर सोही दिन साँझ मृत भेटिए भने सनिकुमारको शव तीन दिनपछि बुटवल उपमहानगरपालिका वडा नम्बर १९ स्थित कुलोमा फेला परेको थियो।
बुटवल पावरहाउस कम्पनीको ड्यामसाइड
 
तिनाउ गाउँपालिकामा रहेको भूतखोला
 
रूपन्देहीको सिद्धार्थनगर १० का ३७ वर्षीय कयुम अली २०७९ साल जेठ ५ गते फोटो खिच्ने क्रममा ढुंगामा चिप्लिएर ड्यामसाइडमा डुबेका थिए। गत वर्ष नै, असार २३ गते रूपन्देहीकै रोहिणी गाउँपालिका–३ का २० वर्षीय शत्रजित शर्मा ठाकुर यहीँ डुबेर बेपत्ता भए। उनी पनि फोटो खिच्ने क्रममै ढुंगामा चिप्लिएका थिए। उनको शव तीन दिनपछि सियारी गाउँपालिका–७ सखुवानीस्थित तिनाउ खोलामा फेला परेको थियो।
गत माघ १५ गते पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–२ का २४ वर्षीय अजिम पठानको भूतखोलामा डुबेर मृत्यु भयो। उनी 'सेल्फी जोन' को पुलमा बसेर फोटो खिच्ने क्रममा चिप्लिएर खोलामा खसेका थिए।
२०७८ सालमा भूतखोला र ड्यामसाइडमा गरी नेपालका ५ जना र एक भारतीय युवाको मृत्यु भएको पाल्पा प्रहरीको तथ्यांक छ।
माथी उल्लिखित नामहरू प्रहरीमा रेकर्ड भएका मात्र हुन्। कतिपय घटना रेकर्ड गरिएका हुँदैनन्।
गर्मीयाममा पौडी खेल्न र घुम्न भन्दै आउने युवाहरूका लागि यी ड्यामसाइड, पोखरी र झरनामा खतराका संकेतहरू राखिएको छैन।
भूतखोला सामुदायिक वनकी अध्यक्ष डिलकुमारी रोकाहले यहाँका कुनै पनि दह कति गहिरा छन् भनेर मापन नगरिएको बताइन्।
'दह कति गहिरो छ भनेर मापन नगरिएकाले ठ्याक्कै यति छ भन्न सकिने अवस्था छैन। तर २० देखि २५ फिट सम्म गहिरो हुनसक्छ,' उनले भनिन्।
रोकाहका अनुसार हिउँदमासमेत विभिन्न तहमा जम्मा भएको पानीले तीनवटा गहिरो पोखरी बन्ने भूतखोलामा वर्षामा पानीको सतह ६/७ फिट सम्म थपिन्छ।
भूतखोलामा आन्तरिक तथा बाह्य पर्यटक समेत आउने क्रम बढेपछि भूतखोला सामुदायिक वन उपभोक्ता समूह र डिभिजन वन कार्यालय पाल्पाले सिद्ध सरोवर भूतखोला झरनाको सौन्दर्यीकरणका लागि गत वर्ष मात्रै विभिन्न संरचना निर्माण गरेका थिए। प्रवेशद्वार, फलामे सिँढी, सेल्फी जोनका लागि काठेपुल लगायत संरचना निर्माण गरिएको छ।
मंसिरदेखि माघसम्म बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म र बाँकी महिना बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म खुला भूतखोला अवलोकनका उपभोक्ता समूहले प्रवेश शुल्क समेत उठाउँछ। नेपाली नागरिकबाट २० रूपैयाँ र सार्क देशका नागरिकबाट ५० रूपैयाँ शुल्क लिइन्छ। क्यामरा र गाडी पार्किङका लागि अलग्गै शुल्क तोकिएको छ।
फिल्म तथा म्युजिक भिडिओको छायांकन समेत हुन थालेपछि सामान्य क्यामराको ५०, ड्रोन क्यामराको पाँच सय र छायांकनका लागि दुई हजार रूपैयाँ शुल्क तोकिएको छ।


सामुदायिक वन, डिभिजन वन कार्यालय र गाउँपालिकाले समेत भूतखोलालाई पर्यटकीय स्थल बनाउने भन्दै विभिन्न संरचना निर्माण गरे पनि यहाँका दह कति गहिरा छन् भन्ने जानकारी, पौडी खेल्दा अपनाउनुपर्ने सावधानी र खतराका संकेत कतै राखिएका छैनन्।
तिनाउ गाउँपालिका–३ का वडाध्यक्ष चित्रबहादुर थापाले सामुदायिक वनको सक्रियतामा पर्यटकीय स्थल बनाउन लागिए पनि हरेक वर्ष डुबेर मानिसको मृत्यु हुने क्रम बढ्दै गएपछि पछिल्लो एक महिनायता पौडी खेल्न रोक लगाइएको बताए।
'गाउँपालिकामै सबभन्दा बढी मानिसको ज्यान जाने भूतखोला र ड्यामसाइडमा हो। अहिले बाटोमा फलामे गेट बनाएर चाबी लगाइएको छ। मानिसहरू भने गेट नाघेर पौडी खेल्न पुग्छन्,' वडाध्यक्ष थापाले भने, 'यहाँ आउनेले सावधानी नअपनाउँदा पनि दुर्घटना भइरहेको छ।'
तिनाउका विभिन्न पोखरी र खोलामा खतराका संकेतसहित सचेतनामूलक सन्देश राख्ने गरी गाउँपालिकाबाट योजना बनाइरहेको उनले बताए।
भूतखोलालाई सामुदायिक वनले व्यवस्थित र सुरक्षित बनाउने प्रयास गरिरहे पनि ड्यामसाइडलाई वडाबाटै व्यवस्थित गरी खतराका संकेत राख्ने तयारी गरिएको पनि उनले बताए।
उनका अनुसार भूतखोलाभन्दा ड्यामसाइड अझै गहिरो छ। 
'मापन नगरिएकाले यत्ति नै गहिरो छ भन्न नसिकए पनि उद्धारका लागि जानेहरूले १५/१६ मिटर जति गहिरो छ भनेका छन्,' वडा अध्यक्ष थापाले भने।
बाहिरबाट पौडी खेल्न आउनेहरूलाई यहाँको गहिराइ हेक्का नै हुँदैन। वरिपरि कुनै जानकारी र खतराका चिह्न पनि छैन। यसमा सरकारी निकायको ठूलो कमजोरी भएको सर्वसाधारण बताउँछन्।
ड्यामसाइडमा डुबेर मृत्यु भएका शिशिर उपाध्यायको काका सबुनाथ उपाध्यायले बाहिरबाट आउनेलाई यहाँको गहिराइबारे जानकारी नहुने र जानकारी दिने संकेत पनि नभएकाले धेरै युवाले ज्यान गुमाउनुपरेको बताए।
'गाउँपालिका र वडा कार्यालयले पर्यटक तान्ने बहानामा धराप थापिरहेको छ,' उनले गुनासो गरे।