मैनादेवीको बिहे भएको १५ वर्ष भयो। बिहे हुँदा नाबालिग थिइन्, जम्मा १७ वर्षकी।
बझाङकी उनको परिवारले खेतीकिसानी गरेर गुजारा चलाउँथ्यो। कमाइ खासै राम्रो थिएन। श्रीमान वर्षको तीन महिना काम गर्न भारत जान्थे। नौ महिना आफ्नै खेतबारीमा हुन्थे। घरमा मैनादेवीका दम्पती र ससुरा थिए।
मैनादेवीका पनि दिन घरधन्दा, खेतबारी, मेलापात र घाँसदाउरामै बित्थ्यो। बिहे भएको दुई महिनामै उनी गर्भवती भइन्। ससुरा काम गर्न भारत गएकाले घरमा मैनादेवी र उनका श्रीमान मात्रै थिए।
घरभित्र र बाहिरको धेरै काम मैनादेवीकै काँधमा थियो। सबै काम भ्याउन बिहान सबेरै उठ्नुपर्थ्यो, राति अबेरसम्म खट्नुपर्थ्यो।
गाउँमा गाडी पुगेको थिएन। स्थानीय पसलेहरूले ज्याला दिएर सामान बोकाउँथे। मैनादेवी दुई-चार रूपैयाँ कमाउने आशमा कहिलेकाहीँ भारी बोक्ने काम पनि गर्थिन्। गर्भवती भएकै बेला उनले चार घन्टाको पैदल बाटोमा धेरैपटक भारी बोकिन्।
उनले घरमै बच्चा जन्माइन्। पहिलो सन्तान छोरी, घरमा 'लक्ष्मी' आइन् भनेर आफन्त र छरछिमेकीले बधाइ दिए। सहयोग गरे। खानेकुरा पनि बनाइदिए। तर सधैं हुने भएन। उनले पर्याप्त पोषण त पाइनन् नै, आराम पनि भएन। हप्ता दिनदेखि फेरि काममै व्यस्त भइन्।
जेठी छोरी वर्ष दिन नपुग्दै मैनादेवी फेरि गर्भवती भइन्। गर्भवती श्रीमती छाडेर श्रीमान पैसा कमाउन भारत गए। उनले एक्लै घर सम्हालिन्। श्रीमान फर्केर आएको केही दिनमा उनी सुत्केरी भइन्। दोस्रो सन्तान पनि छोरी जन्मिन्।
'श्रीमानलाई छोरी जन्मेको मन परेन। रक्सी खाएर कुटपिट गर्न थाले,' ती दिन सम्झिँदै मैनादेवीले भनिन्, 'तँसँग बिहे गरेर मैले छोराको मुख हेर्न पाइनँ भन्दै कुट्थे, घर छाडेर जा भन्थे।'
मैनादेवीसँग विकल्प थिएन। श्रीमानको अत्याचार सहनुसम्म सहिन्। श्रीमानले घरको काम हेर्न छाडे। गाउँ डुलेर समय बिताउन थाले।
यस्तैमा एक दिन उनले अर्की श्रीमती ल्याए। तैपनि मैनादेवीले घर छाडिनन्। आफ्नो काम र छोरीहरूको स्याहारसुसारमा लागिरहिन्। श्रीमानको अत्याचार भने झन् बढ्यो।
त्यसपछि भने एक दिन उनले घर छाडिन्। भारतको उत्तराखण्डस्थित केदारनाथ क्षेत्र पुगिन् र घाँस काटेर गुजारा चलाइन्। तर उनी गएको वर्षदिन नपुग्दै सौताले श्रीमान छाडिदिइन्। यो थाहा पाएर मैनादेवी घर फर्किन्। उनी फेरि गर्भवती भइन्। तेस्रो सन्तान पनि छोरी नै जन्मिन्।
यसपछि गाउँलेहरू समेत बालख छोरीहरूलाई टोकस्न थाले।
'गाउँलेले मेरा छोरीहरूलाई हेरेर आमालाई दुःख दिन तिमीहरू किन जन्मेका भने,' बोल्दाबोल्दै मैनादेवीका आँखा टिलपिल भए, भक्कानिँदै भनिन्, 'मलाई अब फेरि के होला, मबाट छोरो जन्मिँदैन होला जस्तो लाग्यो।'
उनी फेरि गर्भवती भइन्। यसपटक भने उनले सन्तान जन्माइनन्। गर्भपतनको औषधि किनेर खाइन्। औषधि खाने कुरा त्यही एकपटक मात्र भएन।
'फेरि छोरी जन्मिए के गरूँला भनेर डरले औषधि खाएर धेरैपटक गर्भ फालेँ,' उनले भनिन्।
एक वर्षअघि उनी फेरि गर्भवती भइन्। यतिन्जेल उनले गर्भमा छोरा छ कि छोरी भन्ने पहिल्यै पत्ता लाग्छ, यसका लागि धनगढी जानुपर्छ भन्ने बुझेकी थिइन्। डराउँदै श्रीमानलाई सुनाइन्। श्रीमान केही खुसी देखिए। घरमा जम्मा भएको घिउ बेचे र धनगढी आउनेजाने खर्च जोहो गरे।
मैनादेवी र गाउँकै साथी समितादेवी पहिलोपटक धनगढी गए। उनीहरू दुवै जनाको उद्देश्य एउटै थियो।
यतिन्जेलसम्म गर्भ पाँच महिनाको भइसकेको थियो। गर्भमा छोरी नै रहेको टुंगो भयो। उनले छोरी जन्माउने आँट गरिनन्। धनगढीमै गर्भपतन गराइन्।
'धनगढीमा तीस हजार रूपैयाँभन्दा धेरै खर्च भयो। शरीरमा पनि सन्चो भएन, धेरै दिन रगत बगिरह्यो,' मैनादेवीले भनिन्।
यति बेला मैनादेवीका जेठी छोरी १४, माइली १२ र कान्छी ७ वर्षका छन्। यी छोरीको पालनपोषण, पढाइ र बिहेको जिम्मेवारी छ। उनी फेरि सन्तान जन्माउन चाहन्न थिइन्। तर छोरो जन्माउनुपर्छ भन्ने दबाबले फेरि गर्भवती भएको उनी बताउँछिन्।
यो दबाब रोकिएन, बढ्दै गयो। उनी फेरि गर्भवती भइन्। एक महिनाअघि भ्रुण परीक्षणका लागि धनगढी आइन्। यसपटक छोरा देखिएको छ। अब तीन महिनापछि सुत्केरी हुने समय छ।
गर्भमा छोरो देखिएपछि श्रीमान नरम भएका छन्। श्रीमतीलाई काम सघाउँछन्। श्रीमानमा देखिएको यस्तो परिवर्तनले मैनादेवी आश्चार्यमा परेकी छन्। यस्तो परिवर्तनलाई छोरा नभई हुँदैन भन्ने पारिवारिक र सामाजिक मान्यताको परिणाम मान्छिन्। तर उनलाई यस्तो मान्यता निको लागेको छैन।
'छोरा पाउन महिलाले दुःख खेप्नुपरेको छ। कति बेला के हुन्छ थाहा छैन,' उनी भन्छिन्, 'मलाई पेट दुख्ने, हातखुट्टा कमजोर हुने समस्या छ। अब बच्चा पाएर कसरी हुर्काउने हो, चिन्ता छ। धेरै कमजोर भएकी छु।'
उनको परीक्षण गर्ने चिकित्सकका अनुसार तीन सन्तान जन्माएकी, पटकपटकको गर्भपतन र कामको बोझले मैनादेवीको शरीर निकै कमजोर भइसकेको छ।
भ्रुण परीक्षण गराउने र छोरी भए गर्भपतन गराउने मैनादेवी एक्ली होइनन्। चिकित्सकहरूका अनुसार असुरक्षित गर्भपतन गराउनेको संख्या ठूलो छ।
अछामकी एक शिक्षक गर्भपतन गराउँदा मृत्युको मुखमा पुगेर मुस्किलले फर्किन्। उनका चार वटी छोरी छन्। छोराको आशमा पाँचौंपटक गर्भवती भएकी थिइन्। ६ महिनाअघि श्रीमानश्रीमती दुवै धनगढीको सेती प्रादेशिक अस्पताल पुगेर परीक्षण गराए। आमा र गर्भस्थ शिशुको स्वास्थ्य राम्रो देखियो। चिकित्सकले लिंग पहिचान गर्न भने मानेनन्। बाह्र हप्ता नाघिसकेका गर्भपात गराउन मिल्दैन पनि भने।
तर उनीहरू लिंग पहिचान गर्नै चाहन्थे। यस्तो ठाउँ खोज्दै जाँदा एउटा क्लिनिकमा काम हुने भयो। त्यहाँ अरू महिला पनि थिए। ६ हजार रूपैयाँ शुल्क तिरेपछि परीक्षण भयो, गर्भमा छोरी नै थिइन्।
गर्भ १८ हप्ताको भइसकेको थियो। उनीहरूले जसरी पनि गर्भपात गराउने भए। एक जना नर्सको सहयोगमा अर्को एउटा क्लिनिक पुगे र गर्भपतन गराए। औषधि प्रयोग गरेर गर्भपतन गराउँदा बच्चा बाहिर निस्के पनि पाठेघरमा फोहोर बाँकी रहन्छ। त्यसलाई औजारले सफा गर्नुपर्छ। सफा गर्ने क्रममा पाठेघरमा घाउ भयो। रक्तस्राव रोकिएन। केही बेरमै ती शिक्षक अचेत भइन्। राति १० बजे श्रीमानले सेती प्रादेशिक अस्पताल पुर्याए।
उनका एक आफन्तका अनुसार शरीरमा रगत निकै कम भइसकेको थियो। अपेक्षित सुधार भएन। आइसियूमा राख्नुपर्ने र पाठेघरको शल्यक्रिया गरेर घाउको उपचार गर्नुपर्ने भयो।
उनको उपचार गरेका एक चिकित्सकले भने, 'गाइनोकोलोजिस्ट (स्त्रीरोग विशेषज्ञ) र जनरल सर्जन मिलेर दुइटा शल्यक्रिया गर्नुपर्यो। पाठेघर सफा गरेर आठ पोका रगत पनि दिनुपर्यो।'
आइसियूमा बीस दिन बसेर करिब एक महिनामा उनी डिस्चार्ज भइन्। अहिले उनको अवस्था सामान्य छ। चिकित्सकले पाठेघर फाल्न सुझाव दिएका छन्। तर उनी र उनका श्रीमानको छोरा जन्माउने आशा बाँकी छ। अहिले उनी गर्भवती भने छैनन्। फेरि गर्भपतन गराए उनको ज्यान जान सक्ने उनको उपचार गरेका एक चिकित्सकले बताए।
सुदूरपश्चिममा छोराको आशामा भ्रूणको लिंग पहिचान गराउने र छोरी भए असुरक्षित गर्भपात गराउने काम भित्रभित्रै हुने जानकारहरू बताउँछन्। यस्तो धेरै काम धनगढीमै हुने गरेको छ।
लिंग पहिचान गरेर गर्भपतन गराएकी धनगढीकै आशाकुमारी छोरा पाउने नाममा महिलाहरूले सहनै नसक्ने पीडा भोग्नुपरेको बताउँछिन्।
'समाजले छोरा नभई हुँदैन भन्छ, घृणा गर्छ। बुढेसकालमा कसले सहयोग गर्ला, छोरा नभएको परिवार के परिवार भन्छन्। छोरा जन्माउन बाध्य बनाउँछन्,' उनले भनिन्।
सेती प्रादेशिक अस्पतालको प्रसूति वार्डका इन्चार्ज डा. खगेन्द्र भट्टका अनुसार औषधि सेवन गरेर गर्भपतन गराएका, गर्भपतन गराउँदा पाठेघरमा चोटपटक लागेका, अत्यधिक रक्तस्राव भएका महिलाहरू अस्पताल आउने गरेका छन्।
कानुनले गर्भपतन गराउन पाउने अवस्थाहरू तोकेको छ। भ्रूणको लिंग पहिचान गरेर गर्भपतन गराउनुलाई अपराध मानेको छ। तर पनि असुरक्षित गर्भपतन गराउनेको संख्या धेरै छ।
डा. भट्टका अनुसार असुरक्षित गर्भपतनले धेरै दिन असर गर्न सक्छ। दीर्घकालीन स्वास्थ्य समस्या हुन सक्छ। पछिका गर्भ आफैं पतन हुने, बच्चा पाठेघर नभई नलीमा बस्ने जोखिम हुन सक्छ।
'असुरक्षित गर्भपतन गराउनु हुँदैन भन्ने कानुनी व्यवस्था भए पनि व्यावहारिक रूपमा कार्यान्वयन भएको छैन। गर्भपतनको समस्या जटिल छ,' उनले भने।
यसरी असुरक्षित र अवैधानिक रूपमा गर्भपतन गराउने काम भइरहे पनि कानुनी कारबाही चुनौतीपूर्ण छ। पैसाको लोभमा कानुन विपरीत असुरक्षित गर्भपतनमा संलग्न क्लिनिकहरूको अनुगमन आवश्यक रहेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी बताउँछन्।
'स्थानीय तह, प्रदेश र केन्द्रमा निजी स्वास्थ्य संस्था दर्ता हुन्छन्। जो जस मातहतमा दर्ता भएका हुन्, उनीहरूको निगरानी गरिनुपर्छ। अनुगमनका लागि प्रशासनले समन्वय गर्छ,' उनले भने।
प्रदेश स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका निर्देशक जगदीश जोशी भने कसैले पनि भ्रूणको लिंग पहिचान हुने काम गर्न, गराउन नहुने र यसमा जनचेतना फैलाउनुपर्ने बताउँछन्। लिंग पहिचान गरेर गर्भपात गराउने प्रवृत्ति गुपचुप रूपमा व्यापक रहे पनि न्यूनीकरणका लागि केही काम भएको छैन।
(यहाँ लेखिएका मैनादेवी, समितादेवी र आशाकुमारी नाम परिवर्तित हुन्।)