अस्ट्रेलिया बसोबास गर्दै आएकी चितवनकी एक महिलाले दन्तरोग विशेषज्ञ डा. सरू थापाको ह्वाट्सएपमा म्यासेज पठाइन्।
म्यासेजमा उनको छोरालाई दाँतले दिएको पीडाको बारेमा लेखिएको थियो। पन्ध्र दिनअघि मात्रै नेपालबाट अस्ट्रेलिया लगेका छोरा दाँत दुखेर छट्पटाइरहेका रहेछन्। अस्पताल लगेर देखाउँदा उपचारमा नौ हजार डलरसम्म खर्च लाग्ने देखेपछि उनले आत्तिएर डा. थापालाई म्यासेज गरेकी थिइन्।
दाँतको एक्स–रे रिपोर्ट मगाएर हेर्दा बच्चाको चारवटा दाँत कीराले खाएको रहेछ।
डाक्टरको सल्लाहपछि ती महिला बच्चा लिएर नेपाल आइन्। नारायणगढस्थित साइराम डेन्टल केयरमा उनको दाँतको पल्पेकटोमी (संक्रमित वा कीराले खाएको दाँतको उपचार) गरियो। केही दिनमा निको भएर उनीहरू अस्ट्रेलिया फर्किए।
अस्ट्रेलियामा झन्डै ८ लाख रूपैयाँ लाग्छ भनिएको उपचार नेपालमा केही हजार रूपैयाँमै भयो।
अमेरिका बस्ने भरतपुर–३ का दीपक खनाल केही दिनअघि एक महिनाका लागि नेपाल आएका थिए। उनको मुख्य उद्देश्य दाँतको उपचार गराउनु थियो। दाँतको 'आरसिटी' गरेर केही दिन परिवारसँग समय बिताएर उनी अमेरिका फर्किए।
स्वास्थ्य बीमा प्रायः देशहरूमा भए पनि दाँतको बीमा हुँदैन। नेपालमा पनि दाँतको बीमा गर्ने चलन छैन। तर विकसित देशहरूमा भन्दा नेपालमा उपचार खर्च सस्तो पर्छ।
केही दिनअघि साइराम डेन्टल केयर पुग्दा अस्ट्रेलियाबाट एक जना दाँत सफा गर्न र दुई जना आरसिटी गर्न आएका थिए। प्रबन्ध निर्देशक डा. थापाले यहाँ दाँतको उपचार गर्न अधिकांश विदेशमा बसोबास गर्नेहरू आउने गरेको बताइन्।
'अमेरिकामा एउटा दाँतको आरसिटी गरेको ६ सयदेखि १६ सय डलरसम्म खर्च लाग्ने रहेछ। अस्ट्रेलिया, युरोपतिर पनि त्यस्तै महँगो छ। उता त्यत्रो खर्च गर्नुभन्दा नेपालमै आएर उपचार गर्दा धेरै सस्तो पर्यो। परिवारसँग समय बिताउन पनि पाइयो,' थापाले भनिन्, 'रोजगारी सिलसिलामा विभिन्न देशमा भएकाहरू हामीकहाँ हरेक दिन आउँछन्।'
अधिकांशले दाँतको समस्या भएपछि इमेल, ह्वाट्सएप, फेसबुक म्यासेन्जर लगायत सामाजिक सञ्जालबाट डाक्टरको समय लिने गरेका छन्।
'दैनिक २०/२५ जना आउनुहुन्छ। एउटा आरसिटी गर्न एक घन्टाभन्दा बढी समय लाग्छ। सबैको उही दिन उपचार गर्न भ्याइँदैन। समय दिएर पठाउँछौं,' उनले भनिन्।
थापासँगै वरिष्ठ दन्तरोग विशेषज्ञ डा. अजय न्यौपाने पनि साँझ-बिहानको समय यहीँ खट्छन्। उनीहरू श्रीमान–श्रीमती हुन्।
डा. न्यौपानेले चितवनमा 'डेन्टल टुरिजम' विकास गर्न आफूहरूले मेहनत गरिरहेको बताए।
'विदेशमा भन्नेबितिक्कै समय पाइँदैन। बीमा पनि हुँदैन, उपचार शुल्क महँगो हुन्छ। बरू नेपाल आउँदा घुम्न पनि पाइन्छ। परिवारसँग भेट हुन्छ भनेर धेरै गैरआवासीय नेपालीहरु यहाँ आउँछन्,' डा. न्यौपानेले भने, 'यसलाई हामीले डेन्टल टुरिजमका रूपमा लिएका छौं। गुणस्तरीय सेवा दिन सकियो भने विकसित देशमा बस्नेहरू पनि उपचारका लागि खोजी खोजी आउँदा रहेछन्।'
उनका अनुसार साइराम डेन्टल केयरमा अहिले अमेरिकी, युरोपेली देशमा प्रयोग भइरहेकै प्रविधि प्रयोग गरेर उपचार गरिन्छ। तर खर्च उताभन्दा निकै कम पर्छ। यहाँ चितवनमै पहिलोपटक थ्रिडी डेन्टल स्क्यानरमार्फत सेवा दिन थालिएको थियो।
'पहिले बिरामीलाई दाँतको कुनै काम गर्नुपर्यो भने कृत्रिम दाँत राख्नुपर्ने अवस्थामा, क्राउन, ब्रिज लगाउन दाँतको नाप लिनुपर्ने, ल्याबमा पठाउनुपर्ने, बनेर आइञ्जेल कुर्नुपर्ने, बन्न समय लाग्ने, बनेर आइसकेपछि पनि ठ्याक्कै मिल्दो नहुने समस्याले काम गर्न धेरै गाह्रो हुन्थ्यो,' न्यौपानेले भने, 'अहिले डिजिटल डेन्टिस्टका रूपमा स्क्यानर आयो। यो प्रविधिले बिरामीको दाँतको तुरून्तै स्क्यान गर्छ। के समस्या छ थाहा हुन्छ। केही घन्टामै क्राउन वा ब्रिज तयार हुन्छ। थोरै समय भएका बिरामीलाई यसले उपचारमा सहज भएको छ।'
प्रविधि प्रयोगले बिरामी, चिकित्सक र प्रयोगशालामा काम गर्ने सबैलाई सहज भएको उनले बताए।
कुन प्रविधिले बिरामीलाई राम्रो हुन्छ, कसरी सरल र सहज हुन्छ भनेर आफूहरूले अध्ययन गरिरहेको पनि उनले बताए। त्यहीअनुसार नयाँ प्रविधि भित्र्याइने उनको भनाइ छ।
उनका अनुसार पहिले दाँतको आरसिटी गर्न तीन–चार दिन लाग्थ्यो। अहिले प्रविधिले एकै दिनमै काम सकिन्छ।
'हामी दुई जना डाक्टर मात्र छौं। एकै दिनमा धेरैको उपचार गर्न सक्दैनौं। तर जतिलाई समय दिन्छौं, स्तरीय उपचार गरेर पठाउँछौं,' डा. न्यौपानेले भने।
यहाँ उपचार गर्न विदेशीहरू पनि आइपुग्छन्। नेपाल घुम्न आएका र नेपालमै कार्यरत विदेशीहरू समस्या लिएर आएको डा. थापाले बताइन्।
'कहिलेकाहीँ त काठमाडौं बस्नेहरू जहाज चढेर उपचार गर्न आउँछन्,' थापाले भनिन्, 'एकपटक यहाँको सेवा लिएकाहरू फेरि पनि आवश्यक पर्दा सम्झिएर आउने गरेका छन्।'
यहाँ प्रायः गिजाबाट रगत आउने, गिजा सुन्निएको, सास गनाउने, दाँत कीराले खाएको, बांगो भएको, वुद्धि बंगाराले दुःख दिएको, दाँत हाल्नुपर्ने, निकाल्नुपर्ने, आरसिटी गर्नुपर्ने समस्या भएका बिरामी आउँछन्।
साइराम डेन्टल खुलेको १९ वर्ष भयो। यसको क्लिनिक पूर्वी चितवनको टाँडीमा पनि छ। डाक्टर दम्पती हरेक शनिबार उपचारका लागि त्यहाँ पुग्छन्। वरिष्ठ दन्त रोग विशेषज्ञ डा. न्यौपाने भरतपुर अस्पतालका दन्त रोग विभागका प्रमुख हुन्। उनी कार्यालय समयभन्दा अघिपछि क्लिनिकमा समय दिन्छन्।
'हामी दाँतलाई भन्दा पनि बिरामीलाई बढी ध्यान दिन्छौं। हाम्रो सेवाबाट उनीहरू पूर्ण रूपमा सन्तुष्ट हुन सकून् भन्नेमा ध्यान दिन्छौं,' डा. न्यौपानेले भने, 'उपचार शुल्क नेपालका अन्त ठाउँभन्दा थोरै महँगो हुनसक्छ। तर हामी गुणस्तरीय सेवा दिन्छौं। गुनासोको ठाउँ नै दिँदैनौं।'