विराटनगरबाट सामान लिएर विर्तामोडतर्फ जाँदै गरेको प्रदेश १—०२—००१ प नम्बरको ट्रक मंगलबार बिहान झापाको शिवसताक्षीमा दुर्घटना भयो।
उक्त ट्रकले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको विवाहको जन्ती सवार प्रदेश १ -०१-००१ च ७४८२ नम्बरको कारलाई ठक्कर दिएको थियो।
कारमा सवारमध्ये २ जनाको मृत्यु भयो। अन्य ६ जना गम्भीर घाइते छन्। उनीहरूको विर्तामोडको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ।
घटनाका प्रत्यक्षदर्शी र प्रहरी समेतले पूर्वबाट आउँदै गरेको कारलाई उसकै ‘वे’ मा पुगेको ट्रकले ठक्कर दिएको बताए।
स्थानीय प्रहरीले भनेको छ, ‘करिब १ सय ५० मिटर परबाट मोडिँदै आएको ट्रकले कारको ‘वे’ अर्थात् विपरीत दिशातिर गएर दुर्घटना गराएको हो।’
कारले भाग्ने मौका नपाउँदा ठूलो दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए।
स्थानीयले ट्रक सिधै आएको देखेका थिए। कारमा ठोक्किएपछि मात्र झसंग भएका चालकले ट्रकलाई नियन्त्रणमा लिने प्रयास गरे। तर सकेनन्। सडकबाट ट्रक र कार २० मिटर तल खस्यो।
प्रहरी र घटनाका प्रत्यक्षदर्शीले चालक निदाएका कारण ट्रक अनियन्त्रित भएको सेतोपाटीलाई बताएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले दुर्घटनामा ट्रक चालकको चरम लापरबाही देखिएको बताएका छन्।
‘यो घटनामा चालकको चरम लापरबाही देखिएको छ। सायद चालक निदाएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ’, उनले भने।
यद्यपि थप अनुसन्धान भइरहेको उनले बताए। चालकले भने दुर्घटना कसरी भएको आफूलाई पत्तै नभएको बयान दिएका छन्।
‘कसरी दुर्घटना भयो, मैले थाहै पाइनँ’, चालक भोला सरदारको भनाइ उद्धृत गर्दै प्रहरीले भनेको छ।
कारमा सवार सबै जन्ती
मोरङ उर्लाबारी ४ का गुरूचन चौधरीको भान्जा भाइको विवाह गए राति बाह्रदशीको डाँगीबारीमा भएको थियो। उनीहरू सोमबार बिहेमा जन्ती गएका थिए। रातभरको बिहेपछि फर्कंदै गर्दा चौधरीले चलाएको कार मंगलबार बिहान भालु खोला माइधार सडकमा दुर्घटनामा परेको हो।
गुरूचनले आफ्नै कार चलाएका थिए। प्रहरीका अनुसार कारमा ७ जना सवार थिए। सवारमध्ये गुरूचन र उनकी १७ वर्षीय छोरी कुमकुमको मृत्यु भयो। घटनामा गम्भीर घाइतेमध्ये गुरूचनकी श्रीमती सुजिताको विएण्डसी अस्पताल विर्तामोडको सघन उपचार कक्षमा उपचार भइरहेको छ। अन्यको अवस्था सामान्य छ।
दुर्घटनामा मृतकका छोरा १० वर्षीय विवेक चौधरी, ३६ वर्षीय बहिनी मन्जु देवी चौधरी घाइते छन्। सो कारमा रहेकामध्ये रतुवामाई नगरपालिका वडा नम्बर १० का १९ वर्षीय रिकेश न्यौपाने र सोही ठाउँका शिवचन्द चौधरी पनि घाइते छन्। उनीहरू सबै एकैघरका आफन्त भएको उर्लाबारीका दिवाकर भट्टराईले बताए।
ट्रक चालक मोरङ ववियाविर्ता २ का ३६ वर्षीय भोला सरदार पनि घाइते छन्। उनको पनि उपचार भइरहेको छ।
दुर्घटनामा परेर मृत्यु भएका गुरूचनको इटहरा रोडमा काठ र स्टिलको उद्योग छ। उनले फर्निचरको कारोबार गर्ने गरेका थिए। उनकी छोरी कुमकुमले उर्लाबारीको सप्तकोशी अंग्रेजी माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएकी थिइन्। मृतक दुवै जनाको शव मेची प्रादेशीक अस्पतालमा पोष्टमर्टम गरेर घर लैजाने तयारी भइरहेको छ।
बाबु-छोरीको दुर्घटनामा मृत्यु भएपछि अहिले उर्लाबारी बजार शोकमा डुबेको छ।