गत बुधबार सर्वोच्च अदालतले यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको बिहे दर्ता गर्न आदेश दियो। अदालतले यो समुदायका जोडीहरूले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्न भनेको छ।
अदालतको यो आदेशसँगै समलिंगी (महिला-महिला र पुरूष-पुरूषबीचको) बिहे दर्ता हुने बाटो खुलेको छ। बिहे गर्ने समलिंगी जोडीहरूका लागि आगामी दिनमा अझ सहज कानुन बन्दै जाला।
मोरङका २५ वर्षे रोशन भण्डारी र २३ वर्षे जीवन अधिकारी पनि भविष्यमा बिहे गर्न चाहन्छन्। उनीहरू प्रेममा छन्।
'हामी एकअर्कालाई माया गर्छौं, प्रेम गर्छौं। बिहे गरेर सँगै जीवन बिताउन चाहन्छौं,' रोशनले हामीसँग भिडिओ कलमा भने। कुराकानी क्रममा जीवन पनि सँगै थिए।
उनीहरूको भेट भएको ६ वर्ष भयो। चिनजान 'डेटिङ एप' बाट भएको हो। जीवन भर्खर १७ वर्षका किशोर थिए। संकोच मान्दै उनले अर्कै नाममा एपमा खाता खोले। त्यहीँ उनको सम्पर्क रोशनसँग भयो। कुरा गर्दै जाँदा एकअर्काप्रति आकर्षण बढ्यो।
डेटिङ एपमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका अरू जोडीहरू पनि भेटिए। जीवनलाई आफू अरूभन्दा फरक छु भन्ने अनुमान थियो तर खास फरक के हो भन्ने प्रस्ट थिएन। त्यही एपमार्फत उनलाई आफू समलिंगी पुरूष हुँ भन्ने यकिन भयो। केही दिनपछि जीवनले रोशनलाई आफ्नो वास्तविक परिचय पनि दिए।
उता रोशनलाई पनि आफू अरू केटा साथीभन्दा केही फरक छु जस्तो लाग्थ्यो। बाह्र कक्षाको पढाइ पूरा हुँदा पनि उनी अलमलमै थिए। एकपटक एक साथीमार्फत एउटी केटीसँग प्रेमको कुरा आयो। रोशनले केटीसँग प्रेम गर्ने कुरा सोच्नै सकेनन्।
'केटीसँग प्रेम गर्ने कुरा आउँदा म त्यसो गर्न सक्दिनँ भन्ने भयो। यसपछि म फरक छु भन्ने यकिन भयो,' रोशनले भने, 'जीवनसँग भेट भएपछि भने समलिंगी रहेछु भन्ने प्रस्ट भयो।'
यसरी डेटिङ एपबाट दुवै जना आफ्नो यौनिकताबारे प्रस्ट भए। एपमा कुरा हुँदाहुँदै आकर्षण प्रेममा बदलियो। उनीहरूले समलिंगी अवस्थाबारे इन्टरनेटमा खोजी गरेर पढे। समलिंगी सामान्य र प्राकृतिक अवस्था रहेछ, केटा–केटा र केटी–केटी पनि प्रेम गर्न सक्दा रहेछन् भन्ने थाहा पाएर ढुक्क भए।
अनि भने उनीहरूले भेट्ने र आफूहरूबीचको प्रेम फस्टाउन दिने निधो गरेका हुन्।
'हाम्रो चिनजान, भेट र प्रेम हुनुमा हामी खुसी छौं,' उनीहरूले भने, 'त्योभन्दा बढी खुसी हाम्रो परिवारबाट पाएको समर्थन र सहयोगले मिलेको छ।'
समलिंगी बिहेले कानुनी मान्यता पाउने बाटो अहिले खुले पनि रोशन र जीवनको परिवारले उनीहरूलाई पहिल्यै स्वीकार गरिसकेको छ।
जीवन परिवारका एक्ला छोरा हुन्। उनलाई एकल आमाले हुर्काइन्। रोशनसँग प्रेममा परेको एक वर्षपछि उनले आमालाई आफू समलिंगी भएको कुरा सुनाए। प्रेमको कुरा पनि भने।
आमाले सुरूमा केही असहज मानिन्। उनको अनुहारमा उदासीनताको भाव देखापर्यो। तर केही बेरमै सामान्य भइन्।
'आमाले यस्तो नभएको भए हुन्थ्यो भन्नुभयो तर रिसाउनुभएन, गाली पनि गर्नुभएन,' जीवनले भने, 'आमालाई समलिंगी सम्बन्धबारे थाहा थियो। मेरो बारेमा पनि अनुमान गर्नुभएको थियो। त्यसैले मलाई आफ्नो कुरा भन्ने आँट आयो। उहाँले पनि सामान्य ढंगले लिनुभयो।'
रोशनलाई भने आफ्नो प्रेम सम्बन्धबारे अभिभावकलाई सुनाउन र मनाउन दिदीको सहयोग लिनुपर्यो। उनी समलिंगी हुन् भन्ने कुरा उनकी ठूली दिदीलाई मात्र थाहा थियो। प्रेमसम्बन्ध बारे पनि जानकारी थियो।
कोरोना लकडाउनको बेला परिवारका सबै सदस्य घरमै रहन्थे। त्यही मौकामा एक दिन रोशनले दिदीको सहयोग मागेर आमाबुबालाई आफ्नो यौनिकता बारे भने। आफ्नो प्रेमी भएको पनि सुनाए। दिदीबाहेक सबैले असहज माने, छलफल चल्यो।
'मैले घरमा ढिलै भनेको हो। भन्ने आँट नै आएन। दिदीले सहयोग गर्नुभयो,' रोशनले भने, 'मेरो कुरा ठूलै मुद्दा त भएन तर आमाबुबाले बिरामी छस् कि, केटालाई प्रेम गर्ने कुरामा परिवर्तन हुन कोशिस गर् भन्नुभयो।'
सुरूमा केही असहज अवस्था भए पनि दिदीले सहजीकरण गरिदिइन्। दिन बित्दै जाँदा रोशनको यौनिकताको कुरा सहज हुँदै गयो। बिस्तारै आमाबुबा स्वीकारतिर गए।
'अहिले सबै ठिकठाक छ, तँ जसरी खुसी हुन्छस् त्यसै गर् भन्नुहुन्छ,' रोशनले भने, 'आमाबुबालाई समाजमा गाह्रो होला भन्ने मात्र डर हो, अरू त समस्या छैन। जीवनलाई माया गर्नुहुन्छ। ऊ आउँदा खुसी हुनुहुन्छ।'
जीवन र रोशन कहिलेकाहीँ एकअर्काको घर जान्छन्। दुवैको घरमा उनीहरूलाई स्वागत हुन्छ। कहिलेकाहीँ दुवै मिलेर खाना बनाएर सबैलाई खुवाउँछन्।
रोशनलाई खाद्य विज्ञानमा रूचि छ। स्नातक सकेका उनी विदेश गएर यही विषयमा स्नातकोत्तर गर्न चाहन्छन्।
जीवनले पनि स्नातक तहसम्मको पढाइ पूरा गरेका छन्। हाल शिक्षण पेसामा रहेका उनको भने विदेश जाने योजना छैन।
'म विदेश गएँ भने आमा एक्लै पर्नुहुन्छ। म यतै बसेर पढाउने काम गर्छु,' उनले भने।
उनीहरू केही वर्षपछि बिहे गर्न चाहन्छन्। यसनिम्ति आआफ्ना परिवारबाट हार्दिकतापूर्वक सहयोग र स्वीकार हुने विश्वास उनीहरूको छ। लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिबारे धारणा सकारात्मक बन्दै गएकाले समाजले पनि आफूहरूको बिहे स्वीकार गर्नेमा उनीहरू आशावादी छन्।