सर्लाही लक्ष्मीपुरका १९ वर्षीय नजारूल मन्सुरको सोमबार बिहान ८ बजे मलेसिया जाने उडान छ।
वैदेशिक रोजगारीमा जान शनिबार साँझ घरबाट बिदा भएर काठमाडौंतर्फ निस्किएका उनी राति १ बजेतिर नारायणगढ कटेका थिए। केही मिनेटमा जब उनी जुगेडी पुगे, गाडी रोकियो। आइतबार बिहान साढे १० बजे उनी त्यही ठाउँमा भेटिए।
‘भोलि बिहानै एयरपोर्ट पुग्नुपर्ने छ। बाटोमा अड्किएको धेरै घन्टा भइसक्यो। पहिरोले रोकिएको भन्छन्, कति समयमा खुल्ने हो थाहा छैन,’ मन्सुरले भने, ‘लामो समय बन्द भयो भने त बर्बादै हुने भयो।’
सोही ठाउँमा कोहलपुरबाट बिरामी लिएर काठमाडौंतर्फ जाँदै गरेको एम्बुलेन्स घन्टौंदेखि रोकिएको थियो। पुनम सुवेदीले बिहान ६ बजेबाट एम्बुलेन्स अघि बढ्न नसक्दा बिरामीको स्वास्थ्य बिग्रिँदै गएको बताइन्।
‘सासु आमालाई नेपालगञ्ज मेडिकल कलेजले रिफर गरेपछि हिजो दिउँसो १ बजेतिर काठमाडौंका लागि छुटेको एम्बुलेन्स अझै यहीँ छ,’ पुनमले भनिन्, ‘कतिखेर सडक खुल्ने हो थाहा छैन। काठमाडौं जान हामीसँग अरू उपाय पनि छैन।’
सुरज चौधरीले ट्रक चलाउन थालेको १८ वर्ष भयो। आइतबार उनी नारायणगढ-मुग्लिन सडक खण्डमा ट्रकमुनि बसेर खाना खाँदै गरेको अवस्थामा भेटिए।
यो सडक खण्डमा बर्खामा हुने सास्ती उनलाई बानी परिसकेको छ।
‘हिजो राति १२ बजे यहाँ आएर रोकिएको ट्रक एक इन्च पनि अघि बढेको छैन। मैले यस्तो समस्या झेल्न थालेको त वर्षौं भइसक्यो। कुनै वर्ष त २-३ दिन सडकमै अलपत्र परेको छु,’ उनले अनुभव सुनाए।
नारायणगढ-मुग्लिन सडक खण्डको तुहिन खोला(तीन नम्बर पुल) नजिकै खसेको पहिरोका कारण शनिबार राति ११ बजेबाट सवारी साधन चल्न सकेका छैनन्। पुल नजिकैको पहरो खसेर पुरै सडक ढाकेको थियो। आइतबार बिहानैबाट पहिरो पन्छाउने काम भइरहेको छ।
पूर्वी र पश्चिम नेपाललाई देशको राजधानीसँग जोड्ने महत्वपूर्ण सडक घन्टौंदेखि अवरूद्ध हुँदा सयौं सवारी साधनहरू सडकमै रोकिएका छन्। हजारौं यात्रुहरू अलपत्र परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीकाअनुसार यो ठाउँमा पहिरो खस्न थालेको गत बिहीबारबाटै हो। पहिरो खसेपछि केही घन्टा सडक अवरूद्ध भए पनि पन्छाएर सुचारू गराउने गरिएको थियो।
‘हिजो राति निकै ठूलो पहिरो खस्यो। पहरो नै खसेर सडक पुरिदियो। राति पानी परिरहेको र पहिरो पनि खसिरहेका कारण काम गर्न सकिएन,’ उनले भने, ‘बिहानैबाट काम भइरहेको छ। सकेसम्म छिटो सडक खुलाउने प्रयास भइरहेको छ।’
२ एक्साभेटर र २ लोडरले पहिरो पन्छाइरहेको पनि माथिबाट ढुंगा माटो खस्न छाडेको छैन। त्यसैले अहिले सडकको अवरोध हटाए पनि पानी परिहाल्यो भने फेरि अवरूद्ध हुनसक्छ।
अहिले पहिरो झरेको ठाउँ केही समयअघि पुल बनाउनका लागि सडक नै बन्द गरेर पहरो फोरिएको स्थानको आडैमा हो। यहाँको पहरो फोर्न नारायणगढ-मुग्लिन सडक निर्माण आयोजनाले साढे २ महिना दैनिक ४ घन्टाका दरले सडक नै बन्द गरेको थियो।
सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर सागर कार्कीले पहरो फोर्दाखेरिको कम्पनको असरले यो ठाउँमा पहिरो गएको हुनसक्ने बताए।
‘ठ्याक्कै यही हो कारण भनेर भन्न नसके पनि आडैमा धेरै समयमा रक ब्रेकरको प्रयोग गरेर पहरो फोरिएकाले त्यसको असर पनि हुनसक्छ,’ कार्कीले भने, ‘कडा चट्टान भएको यो क्षेत्रमा यसअघि पहिरो खस्ने गरेको थिएन। पहिले सधैँ पहिरो जाने क्षेत्रमा यसपालि खासै असर देखिएको छैन।’
त्यसो त यो सडकमा हरेक वर्ष फरक ठाउँमा पहिरो झर्ने गरेको थियो। अघिल्लो वर्ष मौरी पुल र अठार किलोमा झरेको पहिरोले दुःख दिएको थियो। गत वर्ष यो सडक खण्डमा २४ पटक पहिरो खसेको थियो। पहिरोका कारण १०९ घन्टा राजमार्ग अवरूद्ध भएको थियो। यसपालि यहाँ सानो पहिरो झरेको छ। त्यसले सडक अवरूद्ध गरेको छैन।
त्यसअघि सेती दोभान र बीस किलोमा ठूलो पहिरो खसेको थियो। त्यो पहिरोले पनि नारायणगढ-मुग्लिन सडक लामो समयसम्म बन्द भयो। राजमार्गसँग जोडेर उपल्लो भेगमा सडकहरू निर्माण गर्दा यी दुई ठाउँमा पहिरो झरेको कार्की बताउँछन्।
त्यसअघि कहिले चार किलो, पाँच किलो, अठार किलो, बीस किलो भन्ने ठाउँमा पहिरो खसेर सडक अवरूद्ध हुने गर्दथ्यो।
‘सधैँ पहिरोले दुःख दिएपछि विश्व बैंक, जाइकालगायतका संस्थाहरूले पहिरो जानुको कारणबारे अध्ययन गर्दै आएका थिए। पोहोर, परार ठूलो पहिरो गएको ठाउँमा केही दिनअघि सम्म पनि अध्ययन भइरहेको थियो। तर यसपालि त्यहाँ पहिरो गएको छैन। पहिरो यता पो गयो,’ इन्जिनियर कार्कीले भने।
हरेक वर्ष पहिरो झर्दा यात्रुहरूले त सास्ती पाएका छन् नै। उद्योग व्यवसायमा पनि यसको गम्भीर असर परेको छ। व्यावसायिक कामले लमजुङ जान लागेका चितवन उद्योग संघका पूर्वअध्यक्ष कृष्णप्रसाद अधिकारी पहिरोका कारण रोकिएका रहेछन्। उनले यो सडकका कारण उद्योगी, व्यवसायीले वर्षेनी करोडौंको क्षति व्यहोरिरहेको बताए।
‘देशको राजधानीलाई जोड्ने महत्वपूर्ण सडकको अवस्था यस्तो छ। वैकल्पिक सडक तयार भएको छैन। नारायणगढ-मुग्लिन सडकको विकल्पमा अर्को सडक चाहिन्छ भनेर हामीले लामो समयदेखि कुरा उठाउँदै आएका छौं। तर सरकारको चसोमा यो परिरहेको छैन,’ अधिकारी भन्छन्, ‘जहिलेसम्म वैकल्पिक सडकको व्यवस्था हुँदैन तबसम्म यस्तै समस्या झेलिराख्नुको विकल्प छैन।’
उनले हाल नारायणगढ-मुग्लिन सडक रहेकोभन्दा पारि पनि सडक बनाउन सके त्यो वैकल्पिक सडक बन्नसक्ने बताए।
उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष शिरीष पन्त पहिरो नियन्त्रणका लागि सरकार गम्भीर नभएको बताउँछन्।
‘माथिका बस्तीका कारण पहिरो झरेको हो भने ती बस्तीलाई हटाउनुपर्यो, डाँडाका कारण समस्या हो भने डाँडा काट्न पर्यो। तर देशको राजधानी जाने मुख्य राजमार्ग यो अवस्थामा राख्न हुँदैन,’ पन्त भन्छन्, ‘बाटो राम्रो भयो भनेर खुसी भएका थियौं। केही महिनामै पहिरो झरेर दुःख दिन थालिहाल्यो।’
उनले यो पहिरोका कारण चितवनका उद्योग, व्यवसायहरूलाई निकै घाटा भइरहेको बताए। सबैभन्दा ठूलो घाटा पर्यटन व्यवसायमा भएको उनी बताउँछन्।
‘कालिका नगरपालिकाको शक्तिखोरबाट पृथ्वी राजमार्गको फिस्लिङ जोड्ने सडकलाई व्यवस्थित बनाएर विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ। यसतर्फ सरकारको ध्यान जानु जरूरी छ,’ पन्तले भने, ‘केही वर्षपछि त निजगढ-काठमाडौं फास्ट ट्रयाक पनि बन्ला। त्यसअघि अन्य वैकल्पिक सडकहरू निर्माणमा पनि ध्यान दिनु आवश्यक छ।’
नारायणगढ-मुग्लिन सडक ३६ किलोमिटर लामो छ। यो सडकमा दैनिक दस हजारभन्दा बढी सवारी साधन गुड्ने गर्छन्।
भिडिओ: