गत माघमा करेन्ट लगाएर गैंडाका माउ बच्चा मार्ने र खाग बिक्रीमा सहभागी व्यक्तिलाई बुधबार अदालतमा पेस गरिएको छ।
गत माघ ६ गते बिहान चितवन राष्ट्रिय निकुञ्जको नन्दभाउजु उपभोक्ता समितिमा पर्ने पश्चिम नवलपरासीको मध्यविन्दु नगरपालिका-२ सीतापुरमा दुई गैंडा मृत भेटिएका थिए।
क्रान्तिघाटदेखि दक्षिणतर्फ तीन सय मिटर पर नारायणी नदीको भंगालोमा विद्युतीय धराप थापेर १४ वर्षको पोथी र ४ वर्षको केटो(गैंडाको भाले बच्चा) मारिएको थियो।
माउ खाग काटिएको अवस्थामा भेटिएको थियो।
घटनामा संलग्नको खोजी गर्ने क्रममा गत जेठ १२ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कृष्णबहादुर महतोसहित तीन जनालाई पक्राउ गरेको हो।
नवलपरासीको रामग्राम नगरपालिका–१८ धरमपुर (मन्दिर टोल)स्थित होमबहादुर बिकको आँगनमा विक, कृष्णबहादुर र नाताले उनका फुपाजु पर्ने सिखाराम थारूलाई नियन्त्रणमा लिइएको थियो।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार कृष्णबहादुर महतोले शिद्देश्वर मन्दिरबाट बिजुलीको तार र घर बनाउँदा प्रयोग हुने ब्यान्डिङ तार प्रयोग गरी विद्युतीय धराप थापेका थिए।
‘पहिले विद्युत पोलतिरबाटै हुक गरेर तारमा छोडेको रहेछ। त्यसले काम नगरेपछि मन्दिरबाट तार तानेर धराप थापेको रहेछ,’ पुनले भने।
पुनका अनुसार कृष्णबहादुरले बयानमा युट्युब हेरेर खाग महँगोमा बिक्री हुने थाहा पाएपछि गैंडा मार्ने उपाय खोजी गरेको बताएका थिए। उनी सो क्षेत्रमा ज्यामी काम गर्थे।
चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीकाअनुसार कृष्णबहादुर लगायतका व्यक्तिहरूले माघ ५ गते राति मन्दिरबाट करेन्ट जोडेर विद्युतीय धराप थापेका थिए।
गैंडा मारेर खाग काटिसकेपछि त्यसलाई बिक्री गर्ने क्रममा कृष्णबहादुरको सिखाराम, होमबहादरसँग सम्पर्क भएको देखिन्छ।
सिखाराम यसअघि पनि गैंडा चोरी सिकारीमा संलग्न भएर सजाय भोगिसकेका व्यक्ति हुन्। नाताले फुपाजु पर्ने भएकाले सिखारामले कृष्णबहादुरलाई खाग बिक्रीमा सहयोग गरेको देखिन्छ।
‘प्रहरी ग्राहक बनेर उनीहरूसम्म पुग्यो। अनि खागसहित पक्राउ गर्यो,’ प्रमुख संरक्षण अधिकृत पुनले भने, ‘६ गते बिहान गैंडा मारी माउको खाग काटेर चोरी निकासी गरेको, महतो, थारू र विक मिलेर बिक्री गरेको कसुर प्रमाणित भइसकेको छ।’
घटनामा संलग्न देखिएका अन्य दुई जना फरार छन्। उनीहरूको खोजी भइरहेको निकुञ्जले जनाएको छ।
वन कार्यालयको क्षेत्रभित्र पक्राउ परेकाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तीन जनालाई डिभिजन वन कार्यालय नवलपरासीमा बुझाएको थियो। तर घटना चितवन निकुञ्जको क्षेत्रमा भएकाले सरकारी वकिलको कार्यालयको निर्देशनमा वनले चितवन निकुञ्जलाई बुझाएको थियो।
उनीहरूले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ५ को उपदफा १ को देहाय खण्ड (क) ले निषेध गरेको कसुर अपराध गरेको भन्दै बुधबार जिल्ला अदालत नवलपरासी(बर्दघाट, सुस्तापूर्व) कावासोतीमा अभियोगपत्र पेश गरिएको हो।
अदालतबाट यो कसुर प्रमाणित भए ५ देखि १० लाख रुपैयाँसम्म जरिवाना, १० देखि १५ वर्ष कैद हुन्छ।
चितवन निकुञ्जको क्षेत्रमा बाली जोगाउन, गाउँसँगको सीमा क्षेत्रमा जोडिएको करेन्ट लागेर गैंडा मरे पनि मारेर खाग बिक्री गर्ने नियतले विद्युतीय धराप थापिएको यो पहिलो घटना हो।