भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी प्रमुखको पद रिक्त भएको दुई महिना हुन लाग्यो। गत वैशाख २४ गते डा. देजकुमार गौतमको कार्यकाल सकिएपछि मन्त्रिपरिषदले नयाँ निर्देशक नियुक्ति गर्नुपर्ने हो।
तर आर्थिक वर्ष सकिनै लाग्दा पनि नयाँ निर्देशक नियुक्त नहुँदा अस्पताल लथालिंग बन्न थालेको छ।
मन्त्रिपरिषदले २०७९ चैत २० गते डा. विजयराज न्यौपानेलाई अस्पतालको सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको थियो।
सरकारले १४ सदस्यीय सञ्चालक समितिका लागि सदस्यहरू पनि नियुक्त गर्न सकेको छैन। सञ्चालक समितिमा चार जना पदेन सदस्य हुन्छन्। अहिले समितिमा अध्यक्षसहित पाँच जना मात्रै भएकाले बैठक बसेर कुनै निर्णय गर्न गणपूरक संख्या पनि पुग्दैन।
अस्पतालको दैनिक प्रशासन चलाउने कार्यकारी अधिकार बोकेको निर्देशक र नीतिगत निर्णय गर्ने सञ्चालक समितिका सदस्यहरूको पद लामो समयदेखि रिक्त हुँदा त्यसको प्रत्यक्ष असर बिरामीले पाउने सेवामा पर्न थालेको छ।
अस्पतालका प्रशासन प्रमुख रहेका सूचना अधिकारी गृहनारायण महतोले अति आवश्यक औषधि, उपचार, शल्यक्रियाका लागि आवश्यक पर्ने सामान, ल्याबका लागि अवश्यक पर्ने किट, रेडियोलोजी केमिकल, फिल्महरू सकिन थालेको बताए। बिरामीका लागि अक्सिजन पनि व्यवस्था गर्न नसक्ने अवस्थामा अस्पताल पुगेको महतोले बताए।
'स्टोरमा रहेका सामान सकिन थाल्यो। नयाँ टेन्डर आह्वान गर्न कार्यकारी निर्देशक चाहिन्छ। अन्य कर्मचारीले टेन्डर आह्वान गरेर औषधि, उपचार सामग्री खरिद गर्न मिल्दैन,' महतोले सेतोपाटीसँग भने, 'यो अवस्थामा अब कसरी बिरामीको उपचार गर्ने?'
अक्सिजन सकिएपछि अस्पतालले दुई बुलेट अक्सिजन सापटी खोजेर चलाइरहेको उनले बताए। एक बुलेट अक्सिजनको पाँच लाख ४२ हजार रूपैयाँ पर्छ।
'सधैं हामीलाई सापटी कसले दिन्छ र? यो सकिएपछि बिरामीलाई अक्सिजन दिन पनि नसकिने अवस्था आउँछ,' महतोले भने।
क्यान्सरका बिरामीहरूले सरकारले दिने सुविधाबाट निःशुल्क पाउने गरेको केमोको स्टक पनि सकिनै लागेको छ।
'केमो अब मुश्किलले २ दिनलाई पुग्छ होला। विपन्नले निःशुल्क पाउँदै आएको ९० किसिमका औषधिमध्ये धेरै सकिएका छन्। बाँकी पनि केही दिनमा सकिन्छ,' अस्पतालकी फार्मेसी अफिसर निशा ढकालले भनिन्, 'बिरामी आउँछन्, रून्छन्, कराउँछन्। तर हामीसँग उनीहरूलाई दिने औषधि नै छैन।'
ढकालका अनुसार निर्देशक डा. गौतमको कार्यकालको अन्तिम दिन वैशाख २४ गते, अन्तिम पटक औषधिहरू माग गरिएको थियो। मागअनुसार सप्लायर्सहरूले पठाएको औषधि अब सकिन लागेको छ।
'सामान्यतया औषधि एक महिनाका लागि आर्डर गरेर ल्याउने चलन थियो। यसपालि त्यसैले दुई महिनालाई चलाइसकियो,' उनले भनिन्।
प्रशासन प्रमुख महतोले बाँकी औषधि नयाँ निर्देशक आएपछि टेन्डर आह्वान गरेर मात्रै प्राप्त गर्न सकिने बताए। त्यसको सबै प्रक्रिया सकिएर औषधि आइपुग्न दुई महिनाभन्दा बढी लाग्छ।
'तुरून्तै कार्यकारी निर्देशक नियुक्त भएर आइहाले पनि औषधि आउन समय लाग्छ। त्यति समय कसरी काम चलाउने हो थाहा छैन,' महतोले भने।
क्यान्सर अस्पतालले हरेक वर्ष औषधि मात्रै करिब २५ करोड रूपैयाँको खरिद गर्छ। अस्पतालका फार्मेसीहरूले औसत दैनिक ९–१० लाख रूपैयाँको औषधि बेच्थे। तर अहिले तीन लाख रूपैयाँ जतिको मात्रै बिक्री हुने गरेको छ। यसअघिका वर्षमा सामान्यतया जेठ महिनामा टेन्डर आह्वान गरेर असार १५ सम्ममा प्रक्रिया सकिने गरेकाले नयाँ आर्थिक वर्षको सुरूबाटै औषधि तथा आवश्यक सामग्रीहरू आउन थाल्थ्यो।
नियुक्तिमा गरिएको ढिलाइले गर्दा औषधि, उपचार सामग्री अभावका अलावा अस्पतालमा धेरै समस्या आइपरेका छन्।
अस्पतालका कर्मचारीले चैतपछि तलब पाएका छैनन्। उनीहरुको नाममा अस्पतालले सञ्चय कोषमा जम्मा गर्नुपर्ने रकम जम्मा नगरेको महिनौं भयो। अस्पतालले कर्मचारीको तलब, औषधि, उपचार सामग्रीको समेत गरेर करिब ४० करोड रूपैयाँ भुक्तानी गर्नुपर्ने छ।
कार्यकारी निर्देशक नहुँदा अस्पतालको चालु तथा पुँजीगत खर्चका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत आउने साढे ४ करोड रूपैयाँ फ्रिज भएको छ। साथै बिग्रिएका मेसिन बनाउन समस्या भएको, बीमाको पैसा बुझाउन नसक्दा गाडीहरू थन्किएका महतोले बताए।
अस्पतालले आवश्यक जनशक्ति व्यवस्थापन पनि गर्न सकेको छैन। विभिन्न मितिमा डाक्टर, नर्सका लागि विज्ञापन गरिए पनि कार्यकारी निर्देशक नहुँदा छनोट गरेर नियुक्त गर्न नसकिएको महतोले बताए।
'एकातर्फ भएका कर्मचारीलाई काम लगाउने मान्छे छैन। कर्मचारीले काम गरे पनि, नगरे पनि, आन्दोलन, धर्ना जे गरे पनि भएको छ। उनीहरुलाई जिम्मेवारीमा बाँध्ने मान्छे नै छैन। अर्कोतिर जनशक्ति थप गर्न नसक्दा नियमित सेवा प्रभावित भएका छन्,' उनले भने।
अस्पतालले आगामी आर्थिक वर्षका लागि कार्यक्रम बनाएर सञ्चालक समितिले स्वीकृत गर्ने चलन छ। तर कार्यकारी प्रमुख नहुँदा कार्यक्रम नै बन्न सकेको छैन। बने पनि त्यसलाई स्वीकृत गर्ने सञ्चालक समिति पूर्ण भएको छैन।
अस्पतालको प्याथोलोजी विभागमा कार्यरत कर्मचारी प्रदिप हमालले प्याथोलोजीले दिने सेवामा अहिलेसम्म समस्या नरहेको बताए।
'ल्याबका लागि चाहिने रिएजेन्ट लगायत सामग्रीको भने स्टक सकिन लागेको सुनेको छु। सकिएर नयाँ आएन भने समस्या हुन्छ,' उनले भने, 'समयमा तलब नपाए पनि हामी जिम्मेवार ढंगले काम गरिरहेका छौं। तर आवश्यक सामान नै भएन भने त कसरी काम गर्न सकिन्छ र?'
अस्पतालमा भेटिएका बिरामी र बिरामीका आफन्तहरूले रेडियोलोजी विभागको सेवा असाध्यै सुस्त भएको गुनासो गरे।
'कहिले मेसिन बिग्रियो भन्छन्, कहिले बन्दैछ भन्छन्। सिटी स्क्यान, एमआरआई गर्न हप्तौंसम्म कुर्नुपर्ने अवस्था छ,' बाराबाट उपचारका लागि आएका एक बिरामीका आफन्तले भने। उनले डाक्टरले लेखिदिएको औषधि लिन जाँदा फार्मेसीले छैन भनेर फर्काउने गरेको बताए।
भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारका लागि तराई तथा मधेसका विपन्न समुदाय बढी आउँछन्। उनीहरूको भरोसा भनेकै सरकारले विपन्नका लागि उपलब्ध गराउने सुविधा हो। तर त्यो सुविधामार्फत पाउनुपर्ने औषधि नै नपाएपछि क्यान्सरका बिरामीहरू मर्कामा परेका छन्।
अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा. सुशील अधिकारीले स्वास्थ्य परीक्षण गरेपछि सिफारिस गरेको औषधि पाइएन भनेर बिरामीहरू रोइकराइ गर्ने गरेको सुनाए। शल्यक्रिया, थेरापी, रगत परीक्षण सबै प्रभावित हुन थालेको प्रशासन प्रमुख महतोले बताए।
अस्पतालका चिकित्सक डा. शिवजी पौडेलले हालकै अवस्था कायम रहे केही दिनमा अस्पतालका सबै सेवा ठप्प हुने बताए।
'अहिलेसम्म त कर्मचारी मात्रै आन्दोलनमा छन्। अब केही दिनमा उपचार पाइएन भनेर बिरामीले आन्दोलन सुरू गर्न सक्छन्,' उनले भने, 'अहिले पाइरहेको सेवाबाटै बिरामी सन्तुष्ट छैनन्। अब सेवा पाउनै छाडेपछि अवस्था के होला?'
नेपाल चिकित्सक संघका अध्यक्ष रहेका क्यान्सर अस्पतालका चिकित्सक डा. अनिलविक्रम कार्कीले बालुवाटार र सिंहदरबारको प्राथमिकतामा बिरामीको समस्या नपरेको बताए।
'अस्पतालमा धेरै दिन कार्यकारी प्रमुख रिक्त हुन हुँदैन भनेर हामीले सबैतिर दबाब दिएका छौं। तर सुनुवाइ भएन। स्वास्थ्य मन्त्रीले सञ्चालक समितिका सदस्यहरू नियुक्त गर्ने प्रस्ताव लैजानुभएको रहेछ। त्यो मन्त्रिपरिषदमै थन्किएर बसेको छ,' उनले भने, 'यहाँको विषयमा प्रधानमन्त्री र स्वास्थ्य मन्त्री बीचमा समन्वय कम भयो जस्तो लाग्छ।'
अस्पतालका अध्यक्ष डा. विजयराज न्यौपानेले निर्देशक, उप–निर्देशक र सञ्चालक समितिका सदस्यहरू नियुक्त गर्ने विषयमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसँग पटक पटक कुरा भएको बताए।
'उहाँहरू सकारात्मक हुनुहुन्छ तर नियुक्ति हुन सकेको छैन। ती पदहरू रिक्त हुँदा ठूलो समस्या भइरहेको छ। यो कुरा पनि मैले मन्त्रालयमा अवगत गराएको छु,' डा.न्यौपानेले भने, 'छिट्टै नियुक्ति होला भनेर आशा गरेको छु।'
क्यान्सर अस्पतालमा गत माघबाटै अध्यक्षको पद खाली थियो। सञ्चालक समितिका सदस्यहरूको कार्यकाल भने त्यसपछि पनि दुई महिना थियो।
डा. निर्मल लामिछानेको कार्यकाल सकिएको करिब तीन महिनामा डा. न्यौपाने अध्यक्ष भएका थिए। तर उनी अध्यक्ष हुँदा सञ्चालक समितिका सदस्यहरूको कार्यकाल सकिएको थियो। त्यतिखेर स्वास्थ्य मन्त्रीको पद पनि खाली थियो। वैशाख २० गते नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत स्वास्थ्य मन्त्री बने। उनले सञ्चालक समितिमा सदस्यहरू नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए। तर ती नाम पारित भएनन्।
'माघबाट सञ्चालक समितिको बैठक बस्न पाएको छैन। म आएपछि बोर्डलाई पूर्णता दिन, अस्पतालमा समस्या आउन नदिन प्रयास त गरिरहेको छु तर म एक्लोले केही गर्न सक्ने कुरो भएन,' अध्यक्ष डा. न्यौपानेले सेतोपाटीसँग भने, 'मन्त्रिपरिषदले नियुक्त गर्ने कुरो हो। सबै पदमा नियुक्ति भए अस्पताल सुधारका लागि काम गरेर देखाउन सकिन्थ्यो।'
क्यान्सर अस्पतालको निर्देशक पूर्वनिर्देशक डा. विजयराज आचार्य र डाक्टर शिवजी पौडेलमध्ये एक बन्ने सम्भावना छ।