ताइवनको फक्सकन कम्पनी भारतमा साढे १९ अर्ब डलरको सेमिकन्डक्टर प्लान्ट बनाउने सम्झौताबाट पछि हटेको छ।
समाचार संस्था रोयटर्सका अनुसार सोमबार फक्सकनले भारतीय उद्योगपति अनिल अग्रवालको वेदान्त कम्पनीसँग मिलेर प्लान्ट बनाउने सम्झौताबाट हात झिकेको हो।
एप्पलका आइफोन र अन्य उत्पादन एसेम्बल गर्ने कम्पनीका रूपमा ख्याति कमाएको फक्सकन टेक्नोलोजीले गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरातमा सेमिकन्डक्टर प्लान्ट बनाउन वेदान्तसँग सम्झौता गरेको थियो।
सोमबार एक विज्ञप्ति जारी गर्दै फक्सकनले महत्वपूर्ण सेमिकन्डक्टर योजनालाई वास्तविक बनाउन एक वर्षसम्म वेदान्तसँग निकै मेहनत गरेको भए पनि सम्भव नभएको उल्लेख गरेको छ।