प्रहरीले बेला–बेलामा मकवानपुर र चितवनका पहाडी भूभागमा पुगेर गाँजा खेती नष्ट गरेको त हामीले सुन्दै आएका छौं। मकवानपुरको राक्सिराङ गाउँपालिकामा व्यावसायिक रूपमै गाँजा खेती हुने गरेको छ। यहाँको सिको गर्दै मकवानपुर र चितवनका अन्य पहाडी क्षेत्रमा पनि गाँजा खेती हुँदै आएको छ।
प्रहरीले ती क्षेत्रमा पुगेर गाँजा फाँड्ने, उनीहरू फर्किएपछि स्थानीयले फेरि खेती सुरू गर्ने नियमित प्रक्रिया चलिरहेकै छ।
चितवनको राप्ती नगरपालिकाका धनबहादुर मास्के यी ठाउँमा गाँजा खेती र कारोबारमा संलग्नहरूलाई विकल्प दिनसक्दा मात्रै त्यो प्रक्रियाको अन्त्य गर्न सकिन्छ भनेर लागिपरेका छन्। उनले गाँजाको विकल्पमा कफी खेतीको अभियान चलाइरहेका छन्। उनको अभियानमा नेपाल प्रहरीले पनि साथ दिएको छ।
राप्तीको गड्यौलीमा सुपरमार्केट, होटल, रेष्टुरेन्ट लगायतका व्यवसाय सञ्चालन गर्दै आएका मास्केको मास्के मल्टिप्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्रालिले अहिले चितवनको राप्ती–१ परेवाकोट र मकवानपुरको राक्सिराङ गाउँपालिकालाई लक्षित गरेर निःशुल्क कफीका बिरूवा वितरण गरिरहेको छ। बिरूवा रोप्न र स्थानीयबासीलाई प्रोत्साहन गर्न प्रहरीले सघाएको छ।
बिहीबार बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाको नेतृत्वमा परेवाडाँडा पुगेका दर्जनौं प्रहरीहरूले करिब ३ हजार कफीका बिरूवा रोपे। यो गाउँमा डेढ सय परिवारमध्ये एक सय परिवारले आफ्नो खेतमा कफी लगाएका छन्। एउटा परिवारले पाँच सयदेखि ४ हजार वटासम्म कफीका बिरूवा रोपेका छन्।
प्रहरी नायब महानिरीक्षक राणाले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पहाडी क्षेत्रमा कफी खेती कार्यक्रमलाई प्रोत्साहन गर्न लागेको बताइन्।
‘मकवानपुर र चितवनका पहाडी क्षेत्रमा गाँजा खेतीको धेरै प्रभाव छ। कतिपय ठाउँमा त अहिले अफिम पनि खेती हुन थालेको छ। यो दीर्घकाललाई हुने पेशा होइन। त्यसैले गाँजा, अफिम खेतीको विकल्प दिएर स्थानीयवासीको आर्थिक अवस्थामा दीर्घकालीन सुधार गर्नुपर्छ,’ उनले भनिन्, ‘संघीय र स्थानीय सरकारको उद्देश्य पनि पहाडी क्षेत्रका विपन्न परिवारको आर्थिक अवस्था उकास्नुपर्छ भन्ने छ। त्यसका लागि हामीले गाँजा, अफिम खेती र कारोबारको विकल्प दिनै पर्छ।’
राणाले लागूऔषध गाँजा, चरेसलगायतका सेवन तथा कारोबारले धेरै युवाको भविष्य बिगारेको बताइन्।
‘धेरै युवाहरू मकवानपुर र चितवनका कारागार तथा हिरासतमा छन्,’ उनले भनिन्, ‘अबको दिनमा यसलाई नियन्त्रण गर्न नयाँ विकल्पहरू पनि ल्याउनेछौं। विकल्पका कार्यक्रमहरू सबैतिर लैजान्छौं।’
बागमती प्रदेश प्रहरी कार्यालयकाअनुसार भिमफेदी कारागारमा रहेका १ हजार ७८ जना कैदी, बन्दीमध्ये ३३९ जना लागूऔषध सम्बन्धी मुद्दाका छन्। ३५१ जना फरार छन्। फरारमध्ये ५२ जना राक्सिराङ गाउँपालिकाका हुन्। लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि ६७ जना मकवानपुरका प्रहरी हिरासतहरूमा छन्।
भरतपुर कारागारमा ४७ जना कैदी, बन्दी लागूऔषध सम्बन्धी मुद्दाका छन्। २४ जनाको जिल्ला प्रहरी कार्यालय र मातहतका हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
कारागार, हिरासतमा रहेका तथा फरार अधिकांश गाँजा, चरेस, अफिमको खेती, कारोबार, सेवन गर्नेहरू हुन्।
लागूऔषध ऐनले २५ वटा बोटसम्म गाँजा लगाउनेलाई तीन महिनासम्म कैद वा ३ हजार रूपैयाँ जरिवाना, त्यसभन्दा बढी बोट लगाउनेलाई ३ वर्ष कैद वा ५ हजारदेखि २५ हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ।
त्यस्तै २५ बोटसम्म अफिम लगाउनेलाई १ देखि ३ वर्ष कैद वा ५ देखि २५ हजार रूपैयाँ जरिवाना, २५ भन्दा बढी लगाउनेलाई ३ देखि १० वर्ष कैद र २५ हजार देखि २ लाख रूपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ।
सजिलो र छिटो धेरै कमाई हुने लोभमा पहाडी क्षेत्रमा गाँजा, अफिमको खेती भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीले बताए।
‘कतिपय त थोरै पैसाको लोभमा गाँजा ओसारपोसारमा संलग्न भएर फसेका छन्। टाठाबाठाले सोझासाझालाई भरियाका रूपमा प्रयोग गर्ने गरेको पाइएको छ,’ एसपी कार्कीले भने, ‘अब गाँजा फाँड्ने हतियार होइन, विकल्प लिएर गाउँ जाने हो। आयआर्जनको भरपर्दो स्रोत भएपछि उनीहरू गैरकानुनी काममा लाग्दैनन् भन्ने विश्वास छ।’
मास्के मल्टिप्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्रालिका प्रमुख धनबहादुर मास्केले परेवाकोट गाउँमा तीन लाख बढी कफीका बिरूवाहरू रोप्ने लक्ष्य रहेको बताए। त्यसका लागि उनले त्यहाँ आफ्नै जमिनमा बिरूवा उत्पादन गरेका छन्।
‘मेरो आफ्नै ४ बिघा जमिनमा कफी, एभोकाडो, आँप, सुन्तलालगायतका बिरूवाहरू लगाएको छु। स्थानीयवासीलाई उनीहरूले मागेजति बिरूवा निःशुल्क उपलब्ध गराएको छु,’ उनले भने, ‘पहाडी क्षेत्रमा कफीको माध्यमबाट समृद्धि ल्याउने मेरो लक्ष्य।’
बिरूवा उत्पादनमा प्रतिगोटा ३५ रूपैयाँसम्म खर्च लागेको मास्केले बताए।
उनले मकवानपुरमा चार ठाउँमा बिरुवा तयार गरेका छन्। राक्सिराङ गाउँपालिकाका लागि छुट्टै नर्सरीबाट कफीका बिरुवा उत्पादन गरेका छन्। त्यहाँ पनि बागमती प्रदेश प्रहरीको सहयोगमा वितरण गर्ने लक्ष्य रहेको उनले सुनाए। यहाँ गाँजा खेती हुँदै आएको जमिनमा कफी खेती सुरु गर्न प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
मास्केकाअनुसार अहिले रोपेको बिरुवाले बढीमा तीन वर्षमा उत्पादन दिन थाल्छ। त्यसपछि ३५ देखि ७० वर्षसम्म उत्पादन दिइराख्छ।
एक कट्ठा जमिनमा ८० वटा कफीका बिरुवा रोप्ने गरिएको मास्केले बताए। बीचमा एभोकाडो रोप्ने र अन्तरबालीका रुपमा स्ट्रबेरी, किवी पनि लगाउन सकिने उनले बताए।
‘भित्र मिलाएर मकै, कोदो पनि लगाउन सकिन्छ। दुई–तीन वर्षपछि त कफीले आम्दानी दिन थालिहाल्छ,’ मास्केले भने।
उनले उत्पादन भएको कफी आफैंले किनिदिने बाचा किसानसँग गरेका छन्।
‘मैलै रासायनिक विषादीको प्रयोग नगरी उत्पादन गर्न आग्रह गरेको छु। नेपालमा कफीको उत्पादन अहिले असाध्यै कम छ। बजार बढ्दै गएको छ। आयात प्रतिस्थापन गर्न पनि हामीले ठूलो मात्रामा कफी उत्पादन गर्नुपर्छ,’ मास्के भन्छन्, ‘यहाँको माग पूरा भएपछि निर्यात पनि गर्न सकिन्छ।’
उनले कफीको उत्पादनसँगै प्रशोधन र विक्री वितरण पनि आफैंले गर्ने लक्ष्य लिएका छन्।
मास्केले गाउँको माटो परीक्षण गरेर कृषि विज्ञहरूसँगको सल्लाहपछि उपयुक्त जातको कफी खेती सुरू गरेका हुन्।
‘समुद्र सतहदेखि ५ सय मिटर उचाईमा राम्रो उत्पादन हुने रहेछ। यसको उत्पादन एक सिजनमा प्रतिबोट कम्तीमा दस किलो हुन्छ। राम्ररी स्याहार गरे उत्पादन बढी हुन्छ। अहिले बजारमा प्रतिकिलो ९०–१०० रुपैयाँमा बिक्री भइरहेको छ,’ मास्के भन्छन्, ‘मकै र कोदो उत्पादनले आफैंलाई खान पनि पुगेको छैन। कफीले बचाउन पनि सकिन्छ। जीवन चलाउन गैरकानुनी काम गनुपर्ने, विदेश जानुपर्ने बाध्यता हटाउँछ।’
राप्ती–१ परेवाकोटका सुरेन्द्र लामाले २९ सय बोट कफी लगाएका छन्। पहिले मकै र कोदोमात्र उत्पादन हुने गरेको खेतमा उनले यसपाली कफी रोपेका हुन्।
‘केही वर्षमा आम्दानी दिने देखेर गाउँले सबैले कफी रोपेका छन्,’ उनले भने, ‘मैले एक विघामा लगाइसकें। बाँकी केही जमिनमा पनि थप्ने सोच छ।’
सोही गाउँका ३२ वर्षीय अर्जुन चेपाङ ४ वर्ष मलेसिया बसेर फर्किएका हुन्। मलेसियामा खासै राम्रो कमाई नभएपछि उनी गाउँमै फर्किएर कृषिमा लागेका थिए।
‘अरू खेतीबाट आधा वर्षलाई खान पनि पुग्दैन। अहिले कफी खेतीबाट राम्रो आम्दानी हुन्छ भनेर निःशुल्क बिरूवा वितरण गरिएको छ। मैले पनि एक हजारवटा बिरूवा रोपेको छु,’ चेपाङले भने।
उनले यातायातको पहुँच राम्रो नहुँदा उत्पादित वस्तुको ढुवानीमा समस्या भइरहेको बताए।
परेवाकोट पूर्व–पश्चिम राजमार्गको लोथरबाट करिब १० किलोमिटर उत्तरतर्फ पर्छ। राजमार्गबाट यहाँ पुग्ने आधा भन्दा बढी सडक कच्ची छ। उक्त सडक हुँदै राजमार्ग पुगेर फर्कन अटो रिक्सालाई ५ सय रूपैयाँ भाडा तिर्नुपर्छ।
राप्ती–१ का वडा सदस्य मोचनलाल तामाङले राजमार्गदेखि परेवाकोटसम्मको सडक स्तरोन्नती वडाको प्राथमिकतामा रहेको बताए। परेवाकोटको कृषि र पर्यटनको विकासका लागि सडक स्तरोन्नती गर्नैपर्ने उनले बताए।
‘वडासँग कम बजेट हुन्छ। तैपनी हामीले अन्यत्र भन्दा यहाँको सडकलाई बढी बजेट पारेका छौं,’ उनले भने, ‘किसानहरूलाई कृषिमा र बजारीकरणमा सघाउने खालका कार्यक्रम पनि ल्याउँदैछौं।’
चितवनका प्रहरी प्रमुख एसपी कार्कीले मकवानपुरको राक्सिराङ र त्यससँग जोडिएका मकवानपुर र चितवनका गाउँहरूमा भइरहेको गाँजा खेतीलाई कम गर्न कफी खेती महत्वपूर्ण हुने बताए। चितवनको राप्ती, कालिका र इच्छाकामना गाउँपालिकाका केही क्षेत्रमा गाँजा खेती हुने गरेको छ। एसपी कार्कीले परेवाकोटमा सुरू भएको कार्यक्रमलाई अन्यत्र पनि लैजान पहल गर्ने बताए।
‘विपन्न समुदायको बसोबास रहेको क्षेत्रमा दिगो आर्थिक विकासका कार्यक्रम लैजान सकियो भने यसको सकरात्मक प्रभाव अपराध न्यूनीकरणमा पर्छ,’ उनले भने, ‘हामी चितवनका पहाडी क्षेत्रहरूमा यो अभियान फैलाउन सघाउँछौं।’