बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले दस प्रतिशत शय्या र पार्किङ शुल्क निःशुल्क गर्न प्रदेशका सबै अस्पतालहरूलाई निर्देशन दिएको छ।
स्वास्थ्यमन्त्री उत्तम जोशीको उपस्थितिमा सोमबार बसेको बैठकले प्रदेशका सबै अस्पतालहरूलाई विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दस प्रतिशत निःशुल्क कार्यान्वयन गरी विवरण पठाउनुपर्ने निर्णय गरेको थियो। उक्त विवरण मन्त्रालयको बेवसाइटमा अद्यावधिक राख्ने र सबै अस्पतालहरूले सवारी पार्किङ निःशुल्क गर्नुपर्ने निर्णय बैठकले गरेको थियो।
मन्त्रालयका आयुर्वेद चिकित्सक डा. रविन भुषालले मंगलबार सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पतालहरूलाई परिपत्र गरी उक्त निर्णय कार्यान्वयन गर्न आग्रह गरेका छन्।
स्वास्थ्यमन्त्री जोशीले केही अस्पतालहरूले दस प्रतिशत शय्या निःशुल्क गर्न थालेको बताए। सुरू नगरेका अस्पतालहरूलाई पनि तुरून्तै सुरू गर्न निर्देशन दिएको उनले बताए।
'चितवनका केही निजी अस्पतालहरूले शय्या निःशुल्क गर्न थालिसकेका छन्। अन्यलाई पनि मैले निर्देशन दिएको छु,' मन्त्री जोशीले भने, 'अहिले मन्त्रालयले कार्यविधि बनाइरहेको छ। त्यो बनिसकेपछि नियमित अनुगमन गर्ने, छड्के जाँच गर्ने काम पनि हुन्छ।'
उनले वडा कार्यालयको सिफारिसको आधारमा विपन्न, असहाय, बेवारिसे बिरामीका लागि निजी अस्पतालले दस प्रतिशत निःशुल्क शय्या छुट्ट्याउने व्यवस्था कडाइका साथ कार्यान्वयन गराएरै छाड्ने बताए।
मन्त्री जोशीले अस्पतालहरूले पार्किङ शुल्क लिँदा समस्या परेको गुनासो बढ्पछि निःशुल्क गर्न निर्देशन दिएका बताए।
'बिरामी भएर अस्पताल पुगेका व्यक्तिलाई पार्किङ शुल्कले झन् समस्यामा पारेको छ। चितवन र काठमाडौंबाट धेरै गुनासोहरू आएपछि मन्त्रालयले निर्णय गरेर निर्देशन दिएका हौं,' उनले भने, 'यो कार्यान्वयन गर्नैपर्छ। केहीले कार्यान्वयन गर्न थालिसकेका छन्।'