डेढ महिनादेखि घरबाट सम्पर्कबिहीन मन्जु रावलको शव आइतबार फेला परेको छ।
कैलालीको लम्कीचुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जुको अस्थिपञ्जर मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र भेटिएको हो।
प्रहरीले खोजतलास गर्दा सामुदायिक वनको सेतीखोर खोलाबाट अन्दाजी २ सय मिटर टाढा खोलामा मन्जुको शरीरको केही भाग कंकाल भएर छरिएको अवस्था फेला परेको हो। आफन्त र माइतीले शवको लुगाका आधारमा मन्जुको पहिचान गरी सनाखत गरेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।
डिएसपी चन्दका अनुसार मन्जुको हत्या आरोपमा ४० वर्षीया गोमा रावल, सोही ठाउँकी वर्षा रावल, २४ वर्षीय भरत रावल र अछामको पञ्चदेवल विनायक नगरपालिका –६ तोली बस्ने ३७ वर्षीया सरिता रावललाई पक्राउ गरिएको छ।
पक्राउपछि गोमाले सुरूमा आफू भारतमा बस्ने भएकाले नेपालमै नभएको र मन्जु बेपत्ता भएको विषयमा केही जानकारी नभएको दाबी गरेकी थिइन्।
'प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्दा अन्ततः आफू नै घटनाको मुख्य योजनाकार रहेको गोमाले स्वीकार गरेकी छन्,' डिएसपी चन्दले भने।
प्रहरीका अनुसार गोमाकै योजनामा घटनामा अरू व्यक्तिहरू पनि संलग्न भएको पाइएको छ। गोमाले आफ्ना स्वर्गीय श्रीमानको सम्पत्ति हासिल गर्न अरू व्यक्तिहरूलाई मन्जुको हत्या गर्न अह्राएकी प्रहरी अनुसन्धानमा देखिएको छ।
'गोमाले हत्या भएको स्वीकार गरे पनि मन्जुको शव फेला परेको थिएन। शव नभेटिएसम्म पुष्टि गर्न गाह्रो थियो। अनुसन्धान गर्दै जाँदा डेढ महिनापछि मन्जुको शव भेटिएको छ,' डिएसपी चन्दले भने।
हालसम्मको प्रारम्भिक अनुसन्धानले गोमाले मन्जुको हत्या गराउनुको मुख्य कारण सम्पत्ति रहेको देखाएको छ।
प्रहरीका अनुसार गोमा जनकबहादुर रावलकी श्रीमती हुन्। जनकले कान्छी श्रीमतीका रूपमा मन्जुलाई बिहे गरेका थिए। तर २०७६ सालमा मन्जु र जनकले सहमतिमै सम्बन्ध विच्छेद गरे। जेठी गोमासँग भने वैवाहिक सम्बन्ध कायमै थियो।
मन्जुसँग सम्बन्ध विच्छेद भएको एक वर्षपछि, २०७७ चैत ४ गते जनकको मृत्यु भयो।
जनकको मृत्युपछि, चैत २२ गते जेठी श्रीमती गोमा र मन्जुले श्रीमानको मृत्यु दर्ता गर्ने सहमति गरे। वडा कार्यालय पुगेर जनकको मृत्यु दर्ता पनि गराए। तर चैत २९ गते गोमा फेरि वडा कार्यालयमा पुगिन् र जनकसँग मन्जुको सम्बन्ध विच्छेद भइसकेकाले उनको हक नलाग्ने भन्दै मृत्यु दर्ताबाट मन्जुको नाम हटाइदिन भनिन्।
त्यसपछि मन्जुविरूद्ध झुटा विवरण पेस गरेको मुद्दा चल्यो। २०७९ फागुन २६ गते जिल्ला प्रशासन कार्यालयले पञ्जीकरण ऐनअनुसार मन्जुलाई दोषी ठहर गर्यो। उनीमाथि कारबाही गर्न भन्दै प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय, कैलालीमा पत्र पठाएपपछि प्रहरीले उक्त विवरण अदालतमा पठायो। २०७९ चैत २७ गते मन्जु अदालतमा २० हजार रूपैयाँ धरौटी बुझाएर तारिखमा छुटिन्।
त्यसपछि मन्जुले गोमाका छोरा र भतिजबाट धम्की आएको भन्दै इलाका प्रहरी कार्यालय, लम्कीमा उजुरी दिएकी थिइन्। प्रहरीसँग उनले गोमाबाट आफूले 'टर्चर' पाइरहेको र असुरक्षा भएको बताएकी थिइन्। प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराई मेलमिलाप गरेर पठाएको थियो।
२०८० जेठ २५ गतेदेखि भने मन्जु एकाएक बेपत्ता भइन्। हप्ता दिनसम्म सम्पर्कमा नआएपछि असार १ गते मन्जुका छोरा विवेक रावलले आमा हराएको भन्दै इलाका प्रहरी कार्यालय, लम्कीमा निवेदन दिए। विवेकले आमा वकिलकहाँ जाने भनेर गएको तर फर्की नआएको र मोबाइल पनि बन्द रहेको विवरणसहित खोजतलासका निम्ति निवेदन दिएका थिए।
त्यस्तै असार १३ गते फेरि मन्जुका भाइ सुरेन्द्र रावल दिदीलाई बेपत्ता पारेको भन्दै नामसहित किटानी जाहेरी दिए। उनले गोमा रावल, भरत रावल, सरिता रावल र जवान सिंह रावलको नाममा किटानी जाहेरी दर्ता गराएका थिए।
उक्त किटानी जाहेरीको आधारमा प्रहरीले घटनाको थप अनुसन्धान अघि बढायो। मानिस बेपत्ता गरेको शीर्षकमा मुद्दा दर्ता भयो।
डिएसपी चन्दका अनुसार प्रतिवादी भनिएकामध्ये सबभन्दा पहिला गोमा रावललाई पक्राउ गरियो। गोमा भारतमा बस्थिन्। तर उच्च अदालत दिपायलमा कुनै विषयमा मुद्दा चलिरहेकाले तारिखका निम्ति नेपाल आएकी थिइन्। त्यही बेला डोटीको दिपायलबाट असार २५ गते प्रहरीले उनलाई पक्राउ गर्यो।
'गोमाको बयान लिँदा घटनाबारे थप जानकारी खुल्न आयो,' डिएसपी चन्दले भने, 'उनको बयानका आधारमा प्रहरीले प्राविधिक रूपमै अनुसन्धान कार्य गर्यो।'
प्रहरीका अनुसार जनकबहादुरले आफ्नो सम्पत्ति मन्जुको नाममा गरिदिएका थिए। उक्त सम्पत्ति हासिल गर्न गोमाले अनेक प्रयास गर्दा पनि सफल नभएपछि मन्जुको हत्या गर्ने योजना बुनेको हालसम्मको अनुसन्धानमा देखिएको छ।
डेढ महिना लामो अनुसन्धानपछि आइतबार मन्जुको शव फेला परेको छ भने हालसम्म घटनाका आरोपित चार जना पक्राउ परिसकेका छन्।
प्रहरीका अनुसार घटनामा संलग्न अन्यको खोजी र मन्जुको हत्या कुन दिन, कसरी भएको थियो भन्नेबारे अनुसन्धान जारी छ।
'अनुसन्धान अन्तिम चरणमा छ। सबै पूरा भएपछि थप जानकारी गराउँछौं,' डिएसपी चन्दले भने।