गएको फागुनमा नवलपुरको कावासोतीस्थित केरुंगे खोलामा नाैवटा गिद्ध मृत अवस्थामा भेटिए। नजिकै तीनवटा स्यालका सिनो पनि थिए।
घरपालुवा हाँस, कुखुरा, बाख्रा मारेर हैरान पारेपछि स्थानीयवासीले सिकारमा मिसाइदिएको विष सेवनबाट स्याल मरेको र सोही स्यालको सिनो खाएर गिद्ध मरेको प्रारम्भिक अनुसन्धानले देखायो। पोस्टमर्टम रिपोर्टमा गिद्धको मृत्युको कारण विष नै देखियो।
वन्यजन्तु चिकित्सकहरूले भोलिपल्टै त्यसको नमूना संकलन गरेर थप परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाए। प्रयोगशालाले करिब दुई महिना लगाएर रिपोर्ट पठायो। त्यसमा लेखिएको थियो 'नमूनामा विष देखिएन'।
जबकी त्यही समयमा मृत गिद्धसँगै भेटिएका केही बिरामी गिद्धहरूलाई विष खाएकै आशंकामा औषधोपचार गरिएको थियो। उपचार पाएको केही दिनमै उनीहरू उड्न थालेका थिए।
गत असारमा पनि सोही क्षेत्रमा चारवटा गिद्ध मरे। यसपालि गिद्ध मरेको नजिकै कुकुरको सिनो थियो।
'ती गिद्धहरू कुकुरको सिनो खाएरै मरेका हुन्। कुकुर विष खाएर मरेको हो भन्ने हाम्रो आँखाले पहिचान गरिसक्यो। तर ल्याबबाट रिपोर्ट विष देखिएन भनेर आउँछ भन्ने ग्यारेन्टी हो,' कावासोतीस्थित जटायु रेस्टुरेन्टका संयोजक तथा संरक्षणकर्मी डिबी चौधरी भन्छन्, 'औपचारिकता पूरा गर्न नमूना संकलन गरेर ल्यावमा पठाएका छौं। तर विष पहिचान गरेर रिपोर्ट आउला भन्ने आशा छैन।'
असार १३ गते विधि विज्ञान प्रयोगशालामा पठाइएको नमूनाको नतिजा अहिलेसम्म आइपुगेको छैन।
गत चैतमा चितवनको पदमपुरस्थित संरक्षित वनमा ६ वर्षको वयस्क पाटेबाघ मृत भेटियो। पोस्टमार्टमको रिपोर्टबाट बाघको आहारमा विष परेको देखिएको थियो।
'बाघको शरीरमा भएको परिवर्तन विष खाएर भएको हो भनेर रिपोर्टमा देख्न सकिन्छ। प्रारम्भिक अनुसन्धानमा मृत्युको कारण विषबाहेक अरू देखिएन,' राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका वन्यजन्तु चिकित्सक डा.अमिर षडौलाले सेतोपाटीसँग भनेका थिए, 'मृत बाघको फोक्सोमा पनि रक्तश्राव थियो। उसमा रोगका कारण हुने कुनै समस्या देखिएको थिएन।'
तर केही दिनअघि विधि विज्ञान प्रयोगशालाले पठाएको बाघको नामूनाको रिपोर्टले विष प्रमाणित गरेन।
'रिपोर्टले विष प्रमाणित गरेन। सस्पेक्टेड भनेर आयो। अब हामीले आशंकाको भरमा कसरी अनुसन्धान गर्ने?,' डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले भने।
बाघले कुनै जनावरलाई मारेलगत्तै केही मासु खान्छ। बाँकी सिकारलाई घिसारेर झाडीभित्र लुकाउँछ। सिकार लुकाएर बाघ अन्यत्र गएको समयमा मान्छेले विष मिसाइदिने र त्यही सिकार खाएर बाघ मर्ने गरेको छ। चितुवा, स्याल, कुकुरलगायतका हिंस्रक मांसाहारी जीवलाई पनि यसैगरी विषको प्रयोग गरेर मार्ने गरिएको छ।
सिकारमा विष मिसाइएको घटना पछि डिभिजन वन कार्यालयले खगेडी सब–डिभिजन वन कार्यालयका प्रमुख देविप्रसाद पौडेललाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान सुरू गरेको थियो। अनुसन्धानमा सहयोग गर्न पोस्टमर्टमको रिपोर्टसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र चितवन राष्ट्रिय निकुञ्जलाई पनि पत्र पठाएको थियो। तर प्रयोगशालाको रिपोर्टले बाघको शरीरमा विष भेटिएको प्रमाणित नगरेपछि अनुसन्धान 'डिसमिस' भएको छ।
'पोस्टमर्टम गर्ने डाक्टरहरूले विष खाएरै मरेको हो अब यसलाई ल्यावले पुष्टि गर्नुपर्छ तर नेपालको ल्यावले विष भएको थाहै पाउँदैन भनेका थिए, हो रहेछ,' खनालले भने, 'मर्ने मरेर गइसक्यो, आफ्नो गल्ती छ भनेर कसैले भन्दैन। हाम्रो अनुसन्धानको प्रमुख आधार नै त्यही रिपोर्ट हुन्थ्यो। विषको सम्भावना मात्रै भनेपछि त अनुसन्धान नै बन्द गर्नुपर्ने अवस्था आयो।'
देख्दा पनि रून मन लाग्नेगरी वयस्क बाघ मर्दासमेत त्यसको कारण पत्ता लगाउन नसक्नु दुःखको कुरा भएको खनालले बताए।
चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु चिकित्सक डा.विजयकुमार श्रेष्ठले मध्यवर्ती क्षेत्रमा मृत भेटिएका वन्यजन्तुहरूको पोस्टमर्टमपछि नमूना परीक्षणका लागि ल्यावमा पठाउने गरेको बताए। विष खाएको अनुमान गरेर पठाइएका कुनै पनि नमूनाको पोजेटिभ रिपोर्ट नआएको उनले बताए।
राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यरत वन्यजन्तु चिकित्सक डा.विकल्प कार्कीले विष सेवनले मृत्यु भएको पत्ता लागेपछि सुझावसहित नमूनाहरू ल्यावमा पठाउने गरिएपनि सबैको रिपोर्ट 'नेगेटिभ' आउने गरेको बताए।
'हेर्दा स्पस्ट रूपमा विष सेवन भन्ने देखिन्छ। हामीले मान्छेले धेरै प्रयोग गर्ने विष अनुमान गरेका हुन्छौं। त्यहीअनुसार सुझावहरू पनि लेखेर ल्यावमा पठाउने गरेका छौं। तर कुनै पनि यकिन भएर रिपोर्ट आएको छैन,' गिद्धसम्बन्धी विज्ञ डा.कार्की भन्छन्, 'यो अवस्थाले हामीलाई अन्योल बनाइरहेको छ।'
उनले अनुमान गरेभन्दा फरक विषको प्रयोग गरिएको वा नमूना संकलन गर्न र परीक्षण गर्नमा भएको ढिलाइले फरक नतिजा आएको हुनसक्ने बताए।
लोप हुँदै गएको गिद्धको संरक्षणमा सबैभन्दा ठूलो चुनौती नै विषको प्रयोग बनेको विज्ञहरू बताउँछन्। लामो समयदेखि गिद्धको संरक्षणमा सकृय रहेका चौधरीले विषको प्रयोग समस्या बनेको स्पष्ट भइराख्दा पनि प्रयोगशालाले प्रमाणित नगर्दा त्यसको नियन्त्रण गर्न नसकिएको बताए।
'कसरी ती विषादीहरू नेपाल आइरहेका छन्। किसानले कसरी पाउँछन् भन्ने कुरा पत्ता लगाएर त्यसलाई नियन्त्रण गर्ने कार्यक्रम सञ्चालन गर्न सकिन्थ्यो। तर प्रयोगशालाको रिपोर्ट नै अर्को आइदिएपछि त हामी कहाँ जाने, को सँग कुरा गर्न जाने, के गर्ने? अन्योल भयो,' चौधरीले भने, 'फिल्ड अब्जरभेसनले सत प्रतिशत विष देखिएको छ, कानुनी हिसाबले विष प्रयोग भएको भन्न सकिदैन।'
विज्ञहरू मान्छेको नमूना परीक्षण गरिने ल्यावमा वन्यजन्तुको पनि परीक्षण गर्दा वास्तविक नतिजा आउनमा समस्या भएको हुनसक्ने बताउँछन्।
डा.कार्कीले वन्यजन्तुको नमूना परीक्षणका लागि छुट्टै स्तरीय प्रयोगशालाको विकास गर्नुपर्ने बताए।
'नेपालमा यही अवस्था हो। वन्यजन्तुको नमूना विदेश पठाउन साइटिस दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि)ले दिँदैन। त्यसैले नेपालमै वन्यजन्तुको लागिमात्रै भनेर स्तरीय ल्याव सञ्चालन गर्नुपर्ने खाँचो देखिएको छ,' कार्कीले भने, 'छुट्टै ल्याव भयो भने त्यसमार्फत नयाँ खोज, अनुसन्धानहरू पनि गर्न सक्छौं।'
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक अधिकृत दिनेशकुमार झा भने विषसम्बन्धी परीक्षण गर्ने स्तरीय मेसिन नेपालमै रहेको दाबी गर्छन्। उनले समयमै नमूना संकलन गरियो र समयमै परीक्षण गर्न सकियो भने वास्तविक परिणाम निस्कने बताए।
'समयमै नमूना संकलन भएर परीक्षण भयो भने हामीसँग भएको मेसिनले मान्छे र वन्यजन्तुले विष सेवन गरेको वास्तविक रिपोर्ट निकाल्छ। केही अपवाद हुनसक्छ रिपोर्ट फरक आउने,' उनले भने, 'विषादी अनुमान गरिएको तर सेवन नगरेको पनि त हुनसक्छ।'
उनले नेपालमा प्रयोग हुने गरेका सबैजसो विषको रिपोर्ट प्रयोगशालाले उपलब्ध गराउने गरेको बताए। 'वन्यजन्तुले प्राकृतिक रूपमा सेवन गरेको विषजन्य घाँसको विषयमा मेसिनले देखाउँदैन। हामीले अनुमान नै नगरेका अन्य विषको सेवन भएको रहेछ भने पनि नदेखाउन सक्छ,' झाले भने, 'ती अपवाद हुन्। त्यस विषयमा अध्ययन गर्नुपर्छ।'
उनले कतिपय अवस्थामा नमूना संकलन ढिलो हुने, नमूना संकलन भएर आएपछि पनि लाइनमा धेरै समय राख्नुपर्ने कारणले फरक नतिजा आएको हुनसक्ने बताए।
'कानुनी व्यवस्था नै यस्तो छ कि प्रत्येक शंकास्पद मृत्युमा पोस्टमर्टम गरिसकेपछि विष सेवन गरेको छ कि छैन हेर्न भिसेरा परीक्षण गर्नुपर्ने। प्रत्येक केसको भिसेरा परीक्षण गर्नुपर्दा लामो समय लाइनमा रहनसक्छ। लामो समय रहँदा विष नै हराउन सक्छ,' उनले भने, 'मान्छेको परीक्षणमा आध्याधिक नेगेटिभ आउने गरेको छ।'
यद्यपी मान्छे र वन्यजन्तु दुवैको रिपोर्ट मेसिनका कारण लगत नआएको दाबी उनको छ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू पनि विष खाएको स्पस्ट देखिएपछि पठाइएका नमूनाको रिपोर्टसमेत प्रयोगशालाले नेगेटिभ भनेर पठाउँदा छक्क पर्ने गरेको बताउँछन्।
'विष खाएर मान्छे मरेको प्रस्ट देखिएको छ। कुन विष प्रयोग भएको छ भन्ने पनि देखिएको हुन्छ। त्यसको पुष्टि गर्न भिसेरा निकालेर प्रयोगशाला पठाउँछौं तर प्रयोगशालाले विष देखिएन भनेर रिपोर्ट पठाउँछ,' एक प्रहरी अधिकृतले सेतोपाटीसँग भने, 'मान्छेको परीक्षणको अवस्था त यस्तो छ। वन्यजन्तुको कति हेलचेक्र्याइँ गरिएको होला।'
उनले नयाँ-नयाँ विष बजारमा आउने गरेको तर प्रयोगशाला समयअनुसार अद्यावधिक हुन नसकेको बताए। प्रयोगशालाले सही रिपोर्ट नदिँदा अनुसन्धानमै असर परिरहेको उनी बताउँछन्।