अनिताले बिहे गरेर श्रीमानको गाउँ पुग्दा नयाँ कुरा देख्न पाइन्। गाउँलेले घरनजिकै बनाएका स–साना छाप्रा। आफ्नो ध्यान तानेका छाप्राबारे उनले मनमनै सोचिन्, ‘जुत्ता चप्पल राख्ने ठाउँ होला।’
समय बित्दै गयो उनी गाउँका महिलाहरूसँग घुलमिल भइन्, बुझ्दै जाँदा गाउँघरपिच्छे बनाइएका ती छाप्रा त महिनावारी भएको बेला बस्ने ‘छाउगोठ’ रहेछन् भन्ने कुरा थाहा पाइन्। नभन्दै अनिता महिनावारी भइन्, छाउगोठमा बस्नुपर्ने भयो।
पाँच वटा साना खम्वाले गाडेर टिनको छाना लगाएको, ढुंङ्गाले चिनेर भुइँ अग्लो बनाएको, एक जना मात्रै अटाउने, खुट्टा तन्काउन नमिल्ने, निहुरिएर भित्र छिर्नुपर्ने, पर्खाल नभएको उनको घरको आँगनको छेउमा छाउगोठ थियो। भुइँमा ओछ्याउन पराल र ओढ्नलाई पातलो कपडा घरकाले अनितालाई दिए। घरको कोठा छोडेर छाउगोठमा बस्नु उनको जीवनको नयाँ र डरलाग्दो अनुभव थियो। उनको मनमा डर र जिज्ञासा थियो।
श्रीमानसँग 'छाउगोठमा नबसे हुन्छ की?' भन्ने प्रस्ताव राखिन् तर श्रीमानले यो विषयमा आफ्नो केही नचल्ने सुनाए। सोही कारण उनले कोठामा बस्छु भनेर श्रीमानसँग जिद्दी गर्न चाहिनन्। उनलाई छाउगोठको त्यो रात जीवनकै सबैभन्दा लामो रातो जस्तो लाग्यो। मोबाइलको उज्यालोले रात कटाइन् ।
‘रातभरी रोएँ, आमाबाको याद आयो, आफूचाँहि मजाले कोठामा बस्ने मैले भने यसरी बस्नुपर्यो भनेर। श्रीमान् देखेर रिस उठ्यो,’ उनले भनिन्।
६ वर्षअघि दोलखाकी अनिता कार्कीको कैलालीका एक युवकसँग फेसबुकमा चिनजान भएको थियो। फेसबुकबाटै अनिता र ती युवकबीच प्रेम बस्यो। उनीहरू बिहे गर्ने निर्णयमा पुगे। अनिता दोलखाबाट युवकसँगै भागेर कैलालीको गोदावरी नगरपालिका–१२ हलौडेमा पुगिन्।
बिहेपछि छाउगोठको तीतो अनुभव महिनैपिच्छे हुन्छ तर उनले यसविरूद्ध केही गर्न सकेकी छैनन्।
माइतीमा छँदा उनले छाउगोठको बारेमा समाचारमा मात्र थाहा पाएकी थिइन्। असुरक्षित छाउगोठमा बसेर महिलाका ज्यान गएका घटना सुनेकी थिइन्। त्यतिबेला उनलाई अहिलेको जमानामा पनि छाउगोठमा बस्छन् होला र?भन्ने लाग्थ्यो। तर, अहिले आफैं छाउगोठमा बस्दा समान्य लागेको उनी बताउँछिन् ।
‘छाउगोठ समाचारमा देखेकी थिएँ, अहिले आफैंले बस्नुपर्यो,’ अनिताले भनिन् ।
अनिताले दुई वर्षअघि अर्काे गाउँमा छाउगोठमा बसेर सर्पले टोकेर एक महिलाले ज्यान गुमाएको घटना बताइन्। यस्ता घटनाले छाउगोठमा बस्ने चलन अन्त्य गरौं, सुरक्षित भएर बसौं भनेर सल्लाह गरेपनि परिवर्तन नदेखिएको उनको भनाइ छ।
‘यो ठाउँ त कहिल्यै पनि परिवर्तन हुँदैन जस्तो लाग्छ, समाज परिवर्तन होला भनेर पर्खेकाहरूलाई गाह्रो छ। राम्रो कुरा गरे पनि खुट्टा तान्नेहरू छन्। एक-दुई महिलाले बोलेर मात्र कहाँ परिवर्तन गर्न सकिन्छ,’ उनले भनिन् ।
चुरेको फेदमा रहेको उनको गाउँका मान्छेहरू पहाडबाट बसाई सरेर आएका छन्। गाउँका पुरुष मान्छे अनिताको श्रीमान जस्तै भारतमै कमाउन जान्छन्। सुदूरपश्चिम प्रदेशको राजधानी घोषित भएको स्थानीय तह भए पनि उनको गाउँमा सडक, सिँचाइ, स्वास्थ्य लगायतका सुविधा छैन। तरकारी खेती गर्नेहरूले सिँचाइ सुविधा नहुँदा समस्या भोगीरहेका छन्। पूर्वाधार र सामाजिक क्षेत्रको विकासमा पछि परेको उनको गाउँमा छाउगोठ नभएको घर छैन।
सामाजिक कुप्रथाका कारण त्यहाँका महिला तथा बलिकाहरूमा असर परेको छ। त्यहाँका किशोरीहरू छाउगोठमा बाध्य भएर बस्नुपरेको बताउँछन्।
‘हामी गोठमा बस्न चाहँदैनौंशन, घरको मान्छे, समाजले मान्दैन, बाहिरबाट बिहे गरेर आएका भाउजुहरूले सम्झाएर बाआमासँग कुरा गर्न गयो भने उल्टो गाली खाइन्छ,’ १६ वर्षीय प्रियंका विकले भनिन्।
उनलाई छाउपडी गोठमा बस्दा सर्प, कीरा र चोर, डाकाको डर हुन्छ। गोठमा एक्लै बसेका दिन त निन्द्रा नै लाग्दैन। जंगलबीचमा रहेको गाउँमा गोठमा बस्दा त्रास रहेको उनको भनाइ छ।
उनको गाउँमा केही वर्षअघि प्रहरी लगाएर जिल्ला प्रशासन, वडा कार्यालयले छाउगोठ भत्काइदिएको थियो। तर, फेरि छाउगोठ निर्माण भएका उनी बताउँछिन्। उनको घरमा भने त्यसपछि छाउगोठ बनाइएको छैन। महिनावारीको समयमा उनी छिमेकीको छाउगोठ बस्ने गर्छिन्।
बर्खाको समयमा छाउगोठमा बस्दा हैरानी खेप्नुपरेको उनी सुनाउँछिन्। ‘पानी परेको बेला गोठ चुहिन्छ, अहिले त झनै गाह्रो हुन्छ,’ उनले भनिन्।
१५ वर्षकी नन्दा साउदले छाउगोठमा बस्नुपर्ने नियमले पढाइमा असर पुगेको बताइन्।
‘गोठमा बत्ती नहुने, किताब-कापी राख्न पनि ठाउँ हुँदैन, पानी परेको दिन चुहिन्छ, किताब-कापी भिज्ने गर्छन्, होमवर्क गर्न पाइँदैन, पढ्न पनि मिल्दैन होमवर्क छुटेको दिन स्कुलमा गाली खाइन्छ’ उनले भनिन्।
उनले समाचारमा किशोरीहरूमाथि हातपात भएका घटना पनि सुनेकी छिन्। छाउगोठमा असुरक्षित हुँदा जोखिमले उनी डराउँछिन्। उनका अनुसार किशोरीहरू छाउगोठ हुँनुहुदैन भन्ने सोच्छन् तर, छाउगोठ हटाउन सकिने अवस्था छैन।
‘हामीले सोचेर मात्र नहुने भयो यस्तो चलन कसले हटाउन सक्छ हटाउन पर्यो,’ उनले भनिन्।
हाम्रो कानुनले भने महिनावारी हुँदा हुने छुवाछूतलाई दण्डनीय बनाएको छ। मुलुकी संहिताअनुसार महिनावारीमा छुवाछूत गर्नेलाई तीन महिनासम्म कैद सजाय हुन्छ। महिलाले महिनावारीमा आफूलाई छुवाछूत हुँदा परिवारविरूद्ध उजुरी दिन सक्ने अवस्था नहुने भएकाले यो कानुन अनुसार कारबाही गर्न पनि सहज हुने देखिन्न।
यी पनि पढ्नुस्: