कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ स्थित जहरीखोलामा वडाले बनाएको एउटा कल्भर्ट (सानो पुल) यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ।
वारिपारि कुनै बाटो छैन तर खोलाको माझमा धुरो कल्भर्ट ठडिएको छ। यो कल्भर्ट दुईवर्षअघि बनाउन सुरू गरिएको हो।
अहिले अलपत्र छ।
यता जहरी खोला वारपार गर्नुपर्ने स्थानीयहरूले पुल नहुँदा जोखिम उठाउने गरेका गरेका छन्। वारपार गर्दा हुने समस्याले दिनहुँ हैरान बनेका सोही वडाका ्कृष्णराज डगौरा दुई वर्षअघि वडा कार्यालयले कल्भर्ट बनाइदिने सुनेपछि खुसी भएका थिए। जहरी खोला तर्दा खेप्नुपर्ने सास्ती मेटिने भयो भन्ने खुसी धेरै बेर टिक्न भने पाएन।
‘हाम्रो खुसी धेरै बेर टिकेन। कल्भर्ट बनाउन सुरू भए पनि पूरा भएन। न त वारिपारि गाउँ जोड्ने बाटो बनाइएको छ,' उनले भने, ‘अहिले यो पुल देख्दा सबैलाई हाँसो उठ्छ। आफ्नो ठाउँको यस्तो विकास देख्दा हामी हाँस्नु कि रूनु?’
उनका अनुसार जहरीखोला पारिबाट खल्ला धाइया र कैलाली स्थित गोदावरीको ओलानीका विद्यार्थीहरू अध्ययनका लागि कृष्णपुर नगरपालिकामा रहेको कृष्ण उच्च माध्यामिक विद्यालय आउने गर्छन्। अरू गाउँले पनि विभिन्न कामका लागि वारि नआइ हुँदैन। खोला तर्न नसकेर गम्भीर अवस्थाका बिरामी, गर्भवती, सुत्केरी महिलालाई अस्पतालसम्म पुर्याउन जंगल घुम्नुपर्छ।
'पुल नहुँदा दैनिक उपभोग्य सामान ओसारपसार गर्न त समस्या भैहाल्यो। बालबच्चा विद्यार्थी, बुढापाका, सुत्केरीलाई आवतजावत गर्न झन् जोखिम छ,' उनले भने, ‘सरकारको पैसा खर्च भएको कल्भर्टको हालत त्यस्तो छ। यता हाम्रो समस्या जस्ताको त्यस्तै छ।’
स्थानीय जानकी देवीले पनि कल्भर्ट प्रयोग गर्न मिल्ने नहुँदा स्थानीयलाई आवत जावतमा समस्या भएको बताइन्।
‘२ वर्ष भयो पुल बनाउन सुरू गरेको, अहिले पुल अलपत्र भयो, गरिब जनताको समस्या ज्यूँका त्यूँ छ,’ उनले भनिन्, 'सरकार त छ भन्ने मात्र भयो। यति सानो पुल त बनाउन नसकेर यो हालत छ।'
उक्त कल्भर्ट निर्माण उपभोक्ता समितिका सचिव नारायाण गिरीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कृष्णपुर नगरपालिकाको वडा नम्वर ४ को वडा कार्यालयबाट सो कल्भर्ट निर्माणका लागि पाँच लाख बजेट विनियोजन गरिएको थियो।
वडा कार्यालयले दिएको इस्टिमेट अनुसार उपभोक्ता समितिले प्राविधिकको रोहवरमै कल्भर्ट बनाएको सचिव गिरीले बताए।
‘अहिले यो कल्भर्ट सामाजिक संजालमा भाइरल भएको छ, हामीले पनि देख्यौं, आफुहरूको नेतृत्वमा भएको कामको आलोचना हुँदा नराम्रो लागेको छ’ उनले भने।
उनले बाटोको लेभल नमिल्दा कल्भर्टको अवस्था यस्तो हुन पुगेको बताए।
‘बाटोको लेभल एकातिर र कल्भर्ट खोलादेखिमाथि उचो गर्नुपर्ने स्थिती भयो, त्यसपछि वडा कार्यालयले बजेटले भ्याउने भएन, बजेट पहिला कै वडा अध्यक्ष हुँदा विनियोजन भएको हो, पछि वडा कार्यालय चासो देखाएन,' उनले भने।
कल्भर्टको औचित्य भएन यसको समस्या समाधान गर्न पर्यो भनेर आफूहरूले नगरप्रमखसँग कुरा राखेको गिरीले बताए।
अब बाटो बनाउने अनि कल्भर्टलाई पनि फेरि सुधार गरेर संचालन गर्न नगरपालिकाले बजेट जुटाउने जवाफ पाएको उनले बताए।
वारिपारि बाटो नखोली साना खोलामाथि बनाइएका कल्भर्ट अलपत्र परेको यो मात्र होइन।
कृष्णपुर नगरपालिकाकै वडा नम्बर ७ र ८ का बस्ती जोड्ने कुत्ता खोलामा पनि अधुरो कल्भर्ट वेवारिसे बनेको छ।
सो कल्भर्ट आर्थिक वर्ष २०७८/७९ बाट निर्माण सुरू भएको थियो। नगरपालिकाले सुदूरपश्चिम सरकारबाट बजेट माग गरेर यो कल्भर्टका लागि ३५ लाखको योजना यहाँ परेको थियो। सो कल्भर्टको निर्माण गरेबाफत ठेकेदारले १४ लाख ८० हजार लगिसकेका छन्।
स्थानीय पदमवहादुर कुँवरले जनताको समस्या समाधान गर्ने कुरामा गम्भीर नभएकाले यस्तो भएको बताउँछन्।
‘कल्भर्ट त बन्यो तर बाटो बनेन। बजेट लगेको ठेकदारलाई काम गराउन सक्नुपर्ने सरकारी निकाय निदाएर बसेको छ। काम पूरा गर्न आएको बजेट फ्रिज भयो भन्ने सुनिन्छ,' उनले भने।
स्थानीय रघुनाथ भट्टका अनुसार कुत्ताखोला वरिपरि २०५१ सालदेखि बसोवास भएको हो। खोलातर्ने क्रममा यो ठाउँमा एक जनाले ज्यान गुमाएको घटना छ । आवतजावत गर्न समस्या पर्नथालेपछि स्थानीयहरूले कुत्ता खोलामा कल्भर्ट निर्माणका लागि माग गरेका थिए।
‘समस्या भएपछि कल्भर्ट माग गर्यौं, ठेकेदारले पूरा काम गरेन,’ उनले भने, 'काम नगर्ने ठेकदारलाई सरकारले कारबाही गर्नुपर्ने हो। त्यो पनि गरेन। '
अहिले आधा रहेको काम पुरा गर्न र बाटो बनाउन नगरपालिकामा निवेदन दिएको भट्टले बताए।
‘कल्भर्ट प्रयोगमा ल्याउन ६ महिनादेखि बाटो बनाइदिन आग्रह गरेका छौं, बाटो खोल्ने भनिएको छ, काम भएको छैन,’ उनले भने।
सम्बन्धित निकायहरूले सडक तथा बाटोको पहुँच नभएको ठाउँमा बीचमा पुल बनाएर त्यतिकै छोडिएपछि यहाँका बासिन्दा हैरान परेका छन्।
नेकपा एमाले कृष्णपुर नगर कमिटी अध्यक्ष गणेशसिंह ऐरीले कल्भर्टलाई जोड्न सडक पनि विस्तार गरेर जनतालाई सुविधा दिनु पर्ने बताए।
'काम ठीक नभए अनुगमन गरेर भुक्तानी रोक्ने अधिकार मेयर, उपमेयर र वडाध्यक्षलाई छँदै छ। तर उनीहरूले त्यसो गर्दैनन्,' उनले भने।
कृष्णपुर नगरपालिकाका उपप्रमुख द्रोपती रानाले जनताले अलपत्र प्रयोगविहीन बनेका कल्भर्टहरूलाई प्रयोगमा ल्याउन सम्बन्धित ठाउँका स्थानीयहरूले बाटो खुलाउन सहयोग गर्नुपर्ने बताइन्।
‘कल्भर्टसँग जोड्न बाटो खुलाउन सो ठाउँका स्थानीयले सहयोग गर्नुपर्छ, यो हामीले मात्र गर्छु भनेर हुँदैन, यी विषयमा हामीले बुझेर समस्याको समाधान गर्नतर्फ जान्छौं,’ उनले भनिन्।