राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालनमा ल्याएको ‘ब्लू बस’ ले नयाँ रूटको इजाजत पाएको छ।
यातायात व्यवस्था सेवा कार्यालय चितवनले यो बसलाई कुरिनटार–नारायणगढ–भोजाड–पदमपुर–जुटपानी हुँदै शक्तिखोरसम्म पुग्नेगरी इजाजत प्रदान गरेको छ।
वीरगञ्ज–नारायणगढ–पोखरा–बाग्लुङ रूटको इजाजत लिएको ना ५ ख ३१३८ नम्बरको बसलाई ‘ब्लू बस’ नाम दिएर रास्वपाका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा महिलाका लागि निःशुल्क बनाएर चलाउँदै आएका थिए।
उनलेनिर्वाचित भएको एक सय दिन पुगेको अवसरमा आफ्नो निर्वाचन क्षेत्रमा महिलालाई निःशुल्क बस सेवा, वृद्धवृद्धाहरूलाई घर-घरमा पुगेर मोबाइल क्लिनिक सेवा दिनेलगायत घोषणा गरेका थिए। त्यही दिनबाट चल्न थालेको ब्लू बस र एम्बुलेन्स इजाजत नलिइकन रंग परिवर्तन गरेको, ब्लू बसका लागि नयाँ रूटको इजाजतसमेत नलिएको भन्दै लामिछानेको आलोचना भएको थियो।
लगत्तै उनले पुरानो मेडिकल कलेजले प्रदान गरेको एम्बुलेन्स फिर्ता गरे। त्यसपछि ब्लू बसको नयाँ रंग र रूटका लागि इजाजत लिइएको हो।
यातायात व्यवस्था सेवा कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद पौडेलले गाडीधनीले नयाँ रूट मागेपछि प्रक्रिया पूरा गरेर इजाजत प्रदान गरिएको बताए।
‘अब त्यो बस कुरिनटारबाट नारायणगढ आएर भोजाड हुँदै शक्तिखोर पुग्न पाउँछ,’ पौडेलले भने।
उक्त बस शक्तिखोरबाट पदमपुर, भोजाड, भरतपुर अस्पताल, नारायणगढ हुँदै शविघाटसम्म पुग्ने गरेको थियो।
‘हामीले इजाजत दिएपछि त्योअनुसार चलेको छ कि छैन भनेर हेर्ने काम ट्राफिक प्रहरीको हो,’ पौडेलले भने।
उक्त बसका धनी भीमबहादुर तामाङलाई ब्लू बुकमा उल्लेख भएअनुसारको रंग लगाउन पनि भनेको पौडेलले बताए।
बसको ब्लू बुकमा नीलो सँगै सुगा रङ, पहेँलो, गुलाबी, सिल्भर, सेतो रङ पनि उल्लेख छ। एउटामात्रै रङको बनाउन पुनः अनुमति लिनुपर्छ।
तामाङले गाडीमा ब्लू बुकमा उल्लेख भएअनुसार सबै रङ लगाएको बताए। पहिले नीलो रङमात्रै लगाइएको उक्त बसको विभिन्न भागमा अहिले अन्य रङका धर्का पनि बनाइएको छ। धेरैतिरबाट आलोचना भएपछि यातायात कार्यालय पुगेर सबै प्रक्रिया पूरा गरेको उनले बताए।
लामिछानेले सोही दिन घोषणा गरेको विपद्को समयमा उद्धार तथा व्यवस्थापनका लागि स्वयंसेवकको समूह (आरएटी) परिचालन गर्ने विषय पनि विवादमा परेको थियो।
नारायणगढ-मुग्लिन सडकको कालीखोला नजिकै पहिरो गएर ट्राफिक जाम भएको बेलामा वाकीटकी लिएका केही युवाहरूले जाम खुलाउँदै गरेको फोटो सामाजिक सञ्जालमा पोष्ट भएपछि जिल्ला प्रशासनले ध्यानाकर्षण भएको जनाएको थियो।
प्रशासनको निर्देशनमा प्रहरीले अहिले वाकीटकी प्रयोग गर्ने व्यक्तिहरूको विषयमा अनुसन्धान गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले वाकीटकीको प्रयोग बिनाइजाजत गरिएको जानकारी प्राप्त भएको बताए।
वाकीटकी बोकेर ट्राफिक व्यवस्थापन गरेको भनिएका व्यक्तिहरूको खोजी भइरहेको उनले बताए।
‘अहिलेसम्म कोही पनि भेटिएको छैन। ती व्यक्तिहरू चितवनका नहुन पनि सक्छन्,’ डिएसपी पण्डितले भने, ‘प्रहरीले उनीहरूलाई खोजिरहेको छ।’