ललितपुरकी रैथाने बासिन्दा एक महिलाले श्रीमानले बेवास्ता गरेको भनेर केही महिनाअघि प्रहरी परिसर, ललितपुरको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा निवेदन दिइन्। बिहे गरेको एक वर्ष मात्र भएको थियो। दुवै जना चिकित्सक थिए।
महिलालाई 'एन्जाइटी' को समस्या थियो। उनले यही समस्याका कारणले श्रीमानले बेवास्ता गरेको कुरा उजुरीमा लेखेकी थिइन्। प्रहरीले पुरूषलाई बोलायो।
ती पुरूषले आफूले श्रीमतीलाई बेवास्ता गरेको स्वीकार गरे तर रातमा तर्सिने र रूने भएकाले उनीसँग बस्न नसक्ने बताए।
'एन्जाइटी भनेको त सामान्य बिरामी अवस्था हो। श्रीमानले उपचार र हेरचाह गर्नुपर्नेमा उल्टै यस्ती श्रीमतीसँग बस्न सक्दिनँ भने,' सेवा केन्द्रकी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) मीनादेवी राईले भनिन्, 'यस्तै मिल्दाजुल्दा कारणहरू देखाएर श्रीमानले बेवास्ता गरेको, हिंसा गरेको भन्ने गुनासो लिएर दिदीबहिनीहरू आउँछन्।'
सेवा केन्द्रले ती चिकित्सक दम्पतीको मेलमिलाप गराउन चारपटक छलफल चलायो तर प्रयास सफल भएन। आखिरी सम्बन्ध विच्छेदको मुद्दा दर्ता भयो।
हालै एक महिलाले श्रीमानले बिहे दर्ता नगराएको र नागरिकता प्रमाणपत्र नबनाइदिएको भनेर सेवा केन्द्रमा उजुरी दिइन्। बिहे गरेको चार वर्ष हुँदा पनि श्रीमानले बिहे दर्ता गर्न गराउन मानेनन्। बिहे दर्ता नै नभएपछि नागरिकता प्रमाणपत्र पनि बनेन।
सेवा केन्द्रले छलफलका लागि पुरूषलाई बोलायो। ती पुरूषले उल्टो प्रहरीले धम्की दिएको भनेर प्रहरीविरूद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता गराए। उजुरी मुल्तबीमा छ। महिला भने प्रहरी कार्यालय धाउँदै छिन्।
अर्की एक महिलाले पनि आफूमाथि श्रीमानले घरेलु हिंसा गर्ने गरेको भनेर उजुरी दिएकी छन्। उजुरीमा उल्लेख भएअनुसार उनीहरू काठमाडौं उपत्यकाबाहिरबाट आएका हुन्। पुरूष मजदुरी गर्छन्। महिला आफ्ना साना दुई छोराछोरीको हेरचाह गर्छिन्।
पुरुष दिनभरि काम गर्छन् तर रक्सीले मातेर राति घर फर्किन्छन्। श्रीमती र छोराछोरीमाथि दुर्व्यवहार गर्छन्, गालीगलौज गर्छन् र अनेक धम्की दिन्छन्।
प्रहरी कार्यालयले ती पुरूषलाई बोलायो। रक्सी नखान तथा श्रीमती र छोराछोरीलाई माया गर्न भनेर सम्झाइबुझाइ मिलापत्र गरेर पठायो।
इन्स्पेक्टर राईले भनिन्, 'मिलापत्रपछि हामी पनि के कस्तो छ भनेर फलोअप गर्छौं। मजदुर दम्पतीसँग सम्पर्क गर्न गाह्रो हुन्छ। पीडितले दिएको सूचनाका आधारमा नजिकको प्रहरी चौकीसँग समन्वय गरेर काम गर्छौं।'
इन्स्पेक्टर राईको अनुभवअनुसार कतिपय पुरूषमा श्रीमतीलाई कहिलेकाहीँ कुट्नुपर्छ भन्ने मानसिकता छ। यस्ता पुरूषहरू सम्झाइबुझाइ गर्दा मानेजस्तो गर्छन् तर व्यवहारमा सुधार हुँदैन।
घरेलु हिंसामा परेका महिलाहरू पीडक जो भए पनि केही दिन थुनामा राखिदिए हुन्थ्यो भन्ने चाहन्छन्। यसपछि मात्रै मिलापत्र भए घटना नदोहोरिएला भन्ने ठान्छन् तर कानुनी कारबाहीमा जान चाहँदैनन्। खास गरी श्रीमानको हकमा महिलाहरू यस्तो ठान्छन्।
'बिहे गरेपछि केही पीडा सहेरै भए पनि सम्बन्ध कायम रहोस् भन्ने चाहना धेरै महिलामा हुन्छ। धेरै सहन्छन्। घरेलु हिंसाका धेरै घटना बाहिर आउँदैनन्। अति भएपछि मात्रै प्रहरीमा उजुरी आउने हो,' इन्स्पेक्टर राई भन्छिन्, 'बिहे गर्दैमा महिलाले आफ्नो जिन्दगी गुमाएको हुँदैन। आफूलाई बलियो राख्नुपर्छ। आफूमाथि भएको हिंसाबारे बोल्नुपर्छ।'
शिक्षित र अशिक्षित दुवै खाले महिलाहरू घरेलु हिंसाबाट पीडित छन्। सामान्यतया घरेलु हिंसाका उजुरीमा प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले मेलमिलाप नै गराउँछ। पीडितले मुद्दा अदालतमा मुद्दा लैजान सक्छन्।
श्रीमानले श्रीमतीमाथि कुनै पनि किसिमको हिंसा गर्नु हुँदैन भन्ने चेतना हुन आवश्यक रहेको प्रहरी निरीक्षक राईको भनाइ छ।
'बिहे गरेपछि श्रीमतीको नागरिकता बनाउनुपर्छ, बच्चाको जन्मदर्ता बनाउनुपर्छ भन्ने चेतना नभएका पुरूषहरू पनि छन्। चेतना भए पनि कतिपयले गरेका छैनन्,' उनी भन्छिन्, 'बालबालिकाको शिक्षाका लागि श्रीमानले केही गरेन, औषधि उपचार गराएन भनेर पनि उजुरी आउँछ। हामी सबै कुरा सम्झाएर पठाउँछौं। तैपनि कतिपयले अटेरी गर्छन्।'
पछिल्ला तीन वर्षमा ललितपुर जिल्लामा घरेलु हिंसा भएको भनेर एक हजार ३७१ वटा उजुरी परेका थिए। उजुरी दिनेका महिला एक हजार २१० जना, पुरूष १३० जना, ज्येष्ठ नागरिक २९ जना र बालिका दुई जना थिए। यीमध्ये एक हजार ३३५ निवेदनमा मिलापत्र भयो। अन्य निवेदनमा विभिन्न कारणले निर्णय भएको छैन।
सेवा केन्द्रका अनुसार मिलापत्र गर्न र पीडितलाई बाध्य बनाइँदैन, सहमतिमा मात्रै हुन्छ।
प्रहरीले 'लिभिङ टुगेदर' मा बसेका व्यक्तिबीचको झगडालाई भने घरेलु हिंसामा लिँदैन। लिभिङ टुगेदरका महिलामाथि हिंसा भएको भन्ने उजुरी आएमा 'शान्ति सुरक्षा' अन्तर्गत लिने गरेको छ। लिभिङ टुगेदरका महिलामाथि कुटपिट र यौनहिंसा भएको भन्ने उजुरी आउने गरेको छ। यसअन्तर्गत पछिल्ला तीन वर्षमा ५०१ वटा उजुरी परेका थिए। यीमध्ये ४५६ घटनामा मिलापत्र भयो।
प्रहरी परिसर, ललितपुरमा घरेलु हिंसाका अतिरिक्त तीन वर्षमा जबर्जस्ती करणीका १३० वटा, जबर्जस्ती करणी उद्योगका १७ वटा, बहुविवाहका ४८ वटा, बालयौन दुर्व्यवहारका २८ वटा, कर्तव्य ज्यानका सात वटा, अपहरण तथा शरीर बन्धकका ३ वटा, ज्यान मार्ने उद्योगको एउटा, बालविवाहको एउटा, अप्रकृतिक मैथुनको एउटा, गर्भसम्बन्धी कसुरको एउटा, आत्महत्याका १३९ वटा, मानव बेचबिखनको एउटा र अन्य केहीसहित ३८० वटा उजुरी दर्ता भएका थिए।
प्रहरी परिसर, ललितपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार घरेलु हिंसामा परेका महिलाहरूले १०० नम्बरमा फोन गरेर तत्कालै उजुरी दिन पाउने व्यवस्था छ। यो नम्बर प्रहरीको हो।
नेपालको संविधानले प्रत्येक व्यक्ति सुरक्षित र सम्मानजनक रूपमा बाँच्न पाउने हक सुनिश्चित गरेको छ। घरभित्र वा घरबाहिर हुने सबै किसिमको हिंसालाई दण्डनीय मान्ने र पीडितलाई न्याय दिलाउने कानुनी व्यवस्था छ।
आफूमाथि शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक रूपमा हिंसा वा कुनै किसिमको यातना भए स्थानीय सरकार वा प्रहरी कार्यालय लिखित वा मौखिक उजुरी दिन पाउने व्यवस्था छ।
उजुरी दिनेको तथा पीडितको गोपनीयता ध्यानमा राखेर न्याय दिनुपर्ने व्यवस्था कानुनमा छ।