माडीको अर्मौलीका ८२ वर्षे हठन महतोलाई उनको कति पुस्ता माडीमा बसे भन्ने थाहा छैन। कम्तीमा हजुरबुवा पुस्तासम्मको कुरा उनलाई धेरै थाहा छ। उनी सानो छँदा पिउने पानीका लागि गाउँभरीको एउटामात्रै इनार थियो। मान्छेहरू लाइन बसेर इनारको पानी उभाउँथे। गाईवस्तुको लागि पानी लिन खोलामा पुग्थे। विस्तारै गाउँमा इनारको संख्या बढ्दै गयो। पिउने पानीका लागि सहज बन्दै गयो।
‘पहिलो पटक चापाकल पुग्दा गाउँलेको खुसीको सीमा नै थिएन। इनारमा भाँडो डुबाएर पानी निकाल्ने जमाना गयो भनेर खुसी भयौं,’ महतोले सुनाए।
प्रायःले घरमा चापाकल राख्न थाले। सुरूआतमा त पानी राम्रै थियो। पछि चापाकलको पानीको रंग परिवर्तन हुन थाल्यो। भाँडो नै रातो हुने पानी खान उनीहरू विवश भए।
‘पानीका कारण गाउँमा बिरामी बढ्न थाले। पहिले बिमार नै नहुने मान्छे पटक–पटक बिमार भएर अस्पताल जानुपर्ने भयो। पत्थरीको समस्या धेरैमा देखियो। घाँटी दुख्ने, पेट दुख्ने, पखला लाग्ने जस्ता समस्या धेरै देखिए,’ उनले भने, ‘तै पनि पानी नभई बाँच्न नसकिने रहेछ। त्यही नखाई सुखै भएन।’
करिब एक वर्षअघि हठन महतो सहितका १७० बढी परिवारको आँगनमै धारो बन्यो। धारोमा पहिलो पटक पानी झर्दा उनको आँखाबाट पनि खुसीको आँसु झरेका थिए।
वि.स. २०७९ पुसयता यहाँका बासिन्दाले शुद्ध पिउने पानीको सुविधा पाइरहेका छन्।
यो गाउँमा रोटरी इन्टरनेसनलको ग्लोबल ग्रान्ट बजेटमा रोटरी क्लब अफ नारायणगढले अम्रौली खानेपानी तथा सरसफाइ परियोजना तयार पारेको हो। रोटरीका तीन वटा अन्तर्राष्ट्रिय क्लबहरूले यसमा सहयोग गरेका थिए।
‘हानिकारक पानीका कारण समस्यामा परिरहेको हामीलाई धारोमा शुद्ध पानी आउँदा अमृत आए सरह भयो। यो योजना बनेपछि हामीले चापाकलबाट मुक्ति पायौं,’ स्थानीय चन्द्रिका महतोले भने।
स्थानीय ४० वर्षीया शान्ति महतोले वर्षौंदेखि गन्हाउने पानी पिउन बाध्य भएको सुनाइन्।
‘बाल्टीमा राख्दा बाल्टी नै रातो हुन्थ्यो। लेउसहितको रातो पानी आउँथ्यो। पानीको लागि अर्को विकल्प नभएपछि यही खान्थ्यौं,’ उनले भनिन्, ‘बिरामी हुनु त कुनै नौलो कुरो नै थिएन।’
धारोमा पानी आउन थालेपछि उनले धेरै सुविधा थपिएजस्तो महसुस गरेकी छन्।
पिउने पानीको बन्दोबस्त भएपछि रोटरी क्लबले यो गाउँमा सिँचाइको परियोजना सुरू गर्दैछ। आकासे पानीको भरमा खेती गर्दै आएका यहाँका किसानलाई सौर्य ऊर्जामा आधारित सिँचाइ आयोजनामार्फत् सुविधा दिन रोटरी क्लब नारायणगढ लागिपरेको छ।
उक्त क्लबका अध्यक्ष भोलानाथ लामिछानेले माडी नगरपालिका–४ अम्रौली, विराचीलगायत गाउँका किसानको सुविधाका लागि सोलारबाट चल्ने बोरिङ राख्न लागेको जानकारी दिए।
रोटरी ग्लोबल ग्राण्ट बजेटबाट प्राप्त १ करोड ३६ लाख रुपैयाँको लागतमा यहाँ सिँचाइ आयोजना निर्माण हुँदैछ। यो आयोजनाले तीन वटा गाउँका करिब ६६ बिघा जमिनमा सिँचाइ हुने प्रथम उपाध्यक्ष गुणेश्वर महतोले बताए।
यो आयोजनाका लागि आयरल्याण्डका सात वटा रोटरी क्लबहरूले सहयोग गरेका हुन्। बेलायत बस्दै आएका वाटर सेन्टर ट्वान्टीवानका निर्देशक विनोद कर्माचार्यले यसको पहल गरेका थिए।
‘कुनै वर्ष त आकाश हेर्दाहेर्दा बीउ नै बिग्रियो तर पानी परेन। मगुई खोलाको पानी कुलोमा आउँथ्यो। बाढीले कुलो पनि बगाइदिएपछि हाम्रो सहारा आकासे पानीमात्रै थियो,’ छवीकुमारी महतोले भनिन्, ‘यो आयोजना निर्माण भए कृषिमा सहज होला भन्ने ठानेका छौं।’
सिँचाइको अभावमा यहाँका किसानले व्यावसायिक खेती गर्न पाएका थिएनन्। सुविधा थपिएसँगै व्यावसायिक तरकारी खेती गरेर आयआर्जनमा वृद्धि गर्न सकिने विश्वास उनको छ।
माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले विकासमा पछि परिरहेको अम्रौली गाउँ रोटरी क्लबको सहयोगले नमूना बन्न थालेको बताइन्।
‘माडी नगरपालिकाको बजेट नै थोरै छ, गर्नुपर्ने काम धेरै छन्। हामीसँग धेरै योजना भए पनि स्रोतको अभावमा कैयौं योजना सफल हुन सकिरहेका छैनन्। यो गाउँको विकासको योजना पनि स्रोतको अभावमा अघि बढाउन नसकिने हो कि भन्ने लाग्थ्यो तर रोटरीको सहयोगले गाउँ नमूना बन्ने दिशामा अघि बढेको छ,’ मेयर महतोले भनिन्, ‘माडीमा कृषि र पर्यटनको सम्भावना राम्रो छ। यसलाई अघि बढाउन सरकारी, गैरसरकारी संस्थाहरू मिलेर अघि बढ्नुपर्छ।’
रोटरी क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले माडीमा पिउने पानी, सिँचाइका अलावा महिलाको आयआर्जन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि सहयोग गर्दै आएको बताए।
जनताको प्रत्यक्ष संलग्नता रहनेगरी क्लबले विभिन्न योजनाहरू सञ्चालन गरिरहेको उनले बताए।
सचिव सेवन पन्तकाअनुसार क्लबले तनहुँ र नवलपुरमा समेत खानेपानी योजनाहरू निर्माण गरेको छ। युवा तथा महिलाको आर्थिक स्तर वृद्धि गर्ने उद्देश्यले माछा, बंगुर, कुखुरा पालनजस्ता व्यवसायमा पनि क्लबले सहयोग गरिरहेको उनले बताए।
‘हामीले यहाँका विपन्न किसानहरूलाई लक्षित गरेर विभिन्न योजनाहरू अघि बढाइरहेका छौं। खानेपानी, सिँचाइसँगै अन्य योजनाहरू पनि ल्याएर नमूना गाउँ बनाउने लक्ष्य हाम्रो छ,’ अध्यक्ष लामिछानेले भने, ‘उपभोक्ताहरू लाभान्वित भएर जीवनयापनमा सहज भयो भने हाम्रो अभियानले सफलता पाउने छ।’